मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ४ आइतबार ०९:१५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फाइजर भ्याक्सिनमाथि प्रश्न : नर्वे, बुल्गेरिया र पोर्चुगलमा भ्याक्सिन लगाएका २८ को मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ४ आइतबार ०९:१५:००

विभिन्न देशमा अहिले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । अहिलेसम्म मोडर्ना, फाइजर, एस्ट्राजेनेका भ्याक्सिनले आपत्कालीन अवस्थामा प्रयोग गर्ने अनुमति पाइसकेका छन् । अमेरिका, बेलायतलगायतका देशले मास भ्याक्सिनेसन थालेका छन् । छिमेकी देश भारतमा शनिबारदेखि भ्याक्सिन लगाउन थालिएको छ । तर, अझै पनि धेरै देशमा कोभिडविरुद्धको भ्याक्सिन पुग्न सकेको छैन । भ्याक्सिन लगाउन थालिएसँगै आममानिसले कोरोना भाइरसविरुद्ध लड्ने हिम्मत गरेका छन् । केही देशमा कोभिडविरुद्धका भ्याक्सिनका सामान्य साइड इफेक्ट देखिएका छन् । तर, त्यसलाई ठूलो रूपमा लिन नहुने विज्ञहरूको भनाइ छ ।

यसैक्रममा नर्वेमा कोभिडविरुद्ध फाइजर भ्याक्सिन लगाएका २३ वृद्धवृद्धाको निधन भएको चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्सले उल्लेख गरेको छ । यससँगै अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले उत्पादन गरेको भ्याक्सिनलाई लिएर विभिन्न प्रश्न र शंका उत्पन्न हुन थालेको छ । स्याहार केन्द्रका २३ जना वृद्धवृद्धाको निधन भएको ग्लोबल टाइम्सले उल्लेख गरेपछि यो विषयले अझै त्रसित बनाएको छ । 

अंग्रेजी नयाँ वर्ष सुरु भएको चार दिनपछि नर्वेमा कोरोनाविरुद्ध भ्याक्सिन लगाउन थालिएको थियो । नर्वेमा अहिलेसम्म ५७ हजार ७३६ व्यक्ति संक्रमित भएका छन् । ३३ हजार नर्वेजियनले भ्याक्सिन लगाइसकेका छन् । नर्वेका एजेन्सीहरूका अनुसार खोपपछि २९ व्यक्तिमा भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । 

धेरैजसो भ्याक्सिन लगाएको केही दिनपछि नै अस्पताल भर्ना भएका थिए । केही बिरामी भएको तथा श्वासप्रश्वासमा कठिन भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । भ्याक्सिनको प्रयोग गरेलगत्तै साइड इफेक्ट देखाएपछि नर्वेजियन सरकारले फाइजर कम्पनीमा रिपोर्ट गरेको छ । यता, नर्वेको स्वास्थ्य विभागले मृत्यु हुनेमा धेरैजसो व्यक्ति मुटुरोगी भएको जनाएको छ । अन्य व्यक्ति दीर्घकालीन रोगी थिए । नर्वेजियन सरकारले यसको अनुसन्धान गर्ने भएको छ । 

रसियाका एन्जेसीले पनि फाइजर भ्याक्सिन खोप लगाएका २९ व्यक्तिमा समस्या आएको जनाएको छ । रसियन एजेन्सीले फाइजर भ्याक्सिनको निर्माण हतारमा भएको दाबी गरेको छ । चीनले फाइजर भ्याक्सिन तत्काल रोक्नुपर्ने सुझाब दिएको छ । ‘यो भ्याक्सिन हतारमा बनाइएको जस्तो लाग्छ,’ चिनियाँ अधिकारी भन्छन् । 

पोर्चुगलमा नर्सको मृत्यु
११ दिनअघि पोर्चुगलमा पनि फाइजर भ्याक्सिन लगाएकी एक नर्सको मृत्यु भएको थियो । भ्याक्सिन लगाएको दोस्रो दिन नै ती नर्सले ज्यान गुमाएको पोर्चुगलको स्वास्थ्य विभागले जानकारी दिएको थियो । भ्याक्सिन खोप लिनुअघिसम्म पनि ती नर्समा कुनै स्वास्थ्यमा समस्या थिएन । तर, भ्याक्सिन लिएको ४८ घन्टापछि नै महिलालाई श्वासप्रश्वासमा समस्या भयो । दुई बच्चाकी आमा सोनिया पोर्चुगल डी अकोलजिया सर्जिकलमा काम गर्थिन् । 

कोरोना भाइरस तेस्रो चरणमा फैलिएपछि युरोपियन राष्ट्रले विश्वकै पहिलो भ्याक्सिन फाइजरलाई अनुमति दिएको थियो । नयाँ वर्ष २०२१ सुरु भएसँगै धेरैजसो राष्ट्रमा यो भ्याक्सिन वितरण भयो । फिनल्यान्ड र बुल्गेरियामा अहिले फाइजर भ्याक्सिनले साइड इफेक्ट गरेको रिपोर्ट दर्ता भएका छन् । अमेरिकी कम्पनी फाइजरको भ्याक्सिन लगाएका चारजना बुल्गेरियनको मृत्यु भएको छ । भ्याक्सिन लगाएपछि ती व्यक्तिको शरीरको तापक्रम अधिक वृद्धि भएको तथा जिउ दुख्ने साइड इफेक्ट देखिएको थियो । यसअघि फिनल्यान्डमा भ्याक्सिनको खोप लिएका पाँच व्यक्तिमा गम्भीर साइड इफेक्ट देखिएको थियो । डब्लुएचओले फाइजरलाई विश्वभरि आपत्कालीन खोपको रूपमा प्रयोग गर्न अनुमति दिएको छ । 

एजेन्सीको सहयोगमा