मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १८ मंगलबार
  • Tuesday, 02 March, 2021
लिसा म्याक्गिर
२०७७ माघ २ शुक्रबार ०९:०५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महाअभियोगका बाबजुद ट्रम्प रिपब्लिकन पार्टीको भविष्य हुन्

Read Time : > 2 मिनेट
लिसा म्याक्गिर
२०७७ माघ २ शुक्रबार ०९:०५:००

अमेरिकी कंग्रेसमाथि ट्रम्पसमर्थक भीडको आक्रमणपछि रिपब्लिकन पार्टीको एक तप्का आफ्नो भावी दिशामा बहस हुनुपर्ने पक्षमा छ । कंग्रेसमाथि आक्रमण हुनुअघि नै पार्टीले जर्जिया राज्यका दुईवटा सिनेट सिट गुमाएको थियो । रिपब्लिकन पार्टीले आगामी दिन आफूलाई दंगाबाट टाढा राख्ने प्रयास त गर्ला, तर ट्रम्पसँग गहिरोसँग जोडिने नीतिहरू भने पार्टीले छाडिहाल्ने सम्भावना छैन । एक्लो हिँड्ने राष्ट्रवाद, चरम ध्रुवीकरण, सत्यप्रतिको असहमति, श्वेत राष्ट्रवाद र अलोकतान्त्रिक नीतिहरूमा रिपब्लिकन पार्टीपंक्तिमा ठूलो मोह देखिन्छ । यी गुण ट्रम्प आउनुअघि नै पार्टीमा देखिन थालिसकेका थिए र ट्रम्पपछि पनि ती पार्टीमा यथावत् रहनेछ । खासमा रिपब्लिकन पार्टीले सन् १९८० को दशकदेखि बोक्न थालेको नीतिको कारण ट्रम्पको उदय सम्भव भएको थियो । 

अमेरिकाको दक्षिणी तथा पश्चिमी भेगका इभान्जेलिकल क्रिस्चियन धर्मावलम्बीमाझ प्रभाव बढेपछि रिपब्लिकन पार्टीलाई २०औँ शताब्दीको मध्यमार्गी बाटो परित्याग गर्ने बाटो खुल्यो । राष्ट्रपति आइजनहावरको वेलासम्म पार्टीले न्यु डिललाई समेत स्वीकार गर्दै ठूला संघीय पूर्वाधार तथा शिक्षालाई समर्थन जनाएको थियो । सन् १९७० को दशकको अन्त्यसम्म पनि राष्ट्रपति रिचर्ड निक्सनले समेत संघीय नियामक एजेन्सीलाई विस्तार गर्ने कानुन पास गरेका थिए । तर, सन् १९८१ मा जब रोनाल्ड रेगनले ह्वाइटहाउसमा प्रवेश गरेसँगै रिपब्लिकन पार्टीले सरकारी नियमनमा उल्लेख्य कटौती गर्‍यो । तिनले धनीका लागि करको दरमा कटौती गर्न थाले । अमेरिकाको कल्याणकारी व्यवस्था खोक्रो हुन सुरु भएको त्यही समयदेखि हो । सोही समयमा पार्टीले अपराधीहरूविरुद्ध कठोर नीति, गर्भपतनविरोधी भाषामार्फत इभान्जेलिकल आधार विस्तार गर्‍यो । 

विगत ४० वर्षदेखि रिपब्लिकन पार्टी नेतृत्वमा (जसमा डेमोक्रेटिक पार्टीको समेत समर्थन रह्यो) कार्यान्वयन भएको नवउदारवादी व्यवस्थाले धेरै अमेरिकीलाई जस्तै रिपब्लिकन पार्टीको सामाजिक आधारको ठूलो हिस्सालाई थप गरिब बनाएको छ । यस परिस्थितिले श्वेत जनसंख्यामा सांस्कृतिक आक्रोश वृद्धि गरायो । यी आक्रोशबाट मतमा बदल्न सक्ने विश्वासका साथ एकथरी महत्वाकांक्षी राजनीतिज्ञ उदाए । जबकि, रिपब्लिकन पार्टीमा सामान्य ठान्न थालिएको कठोर कन्जरभेटिभका मुद्दा सन् १९५० र ६० को दशकमा पाखा लागेका थिए । 

रिपब्लिकन पार्टीले सन् १९८० को दशकदेखि बोकेको नीतिले ट्रम्पको उदय सम्भव बनायो, ट्रम्पको बहिर्गमनपछि पनि पार्टीले नीति बदल्ने छाँटकाँट देखिँदैन 

सन् १९९० को दशकसम्म आइपुग्दा रिपब्लिकन पार्टीका अधिकांश समर्थकमाझ गिर्दो जीवनस्तरका लागि खुला बजार र व्यक्तिवाद नभएर आप्रवासी तथा विश्वव्यापी एलिट दोषी रहेको मानसिकता विकास हुन थालिसकेको थियो । ट्रम्पले २०औँ शताब्दीको अन्त्यतिरबाट रिपब्लिकन मताधारमाझ बढिरहेको यही विचारलाई नै उपभोग गरेका थिए । उनको सबैभन्दा ठूलो राजनीतिक प्रतिभा ती आक्रोशलाई चिन्न सक्नु र तिनलाई बोली तथा राजनीतिक रूपमा आवाज दिन सक्नुमा थियो । ट्रम्पप्रतिको उग्र निष्ठा रिपब्लिकन पार्टीमा बलियो गरी जरा गाडेका केही सिद्धान्तमा ट्रम्पले देखाएको समर्थनबाट विकास भएको हो । 

रिपब्लिकन पार्टीका अधिकांश समर्थकमा आप्रवासीलाई जन्मका आधारमा नागरिकता दिन नहुने, सीमाको सैन्यकरण गरिनुपर्ने, एक्लो हिँड्ने राष्ट्रवादप्रति समर्थन देखिन्छ । हुन त देशको कार्यकारी भएर पनि यी प्रस्तावनामाथि पूर्ण समर्थन जनाउने पहिलो रिपब्लिकन राष्ट्रपति ट्रम्प रहे, तर स्थानीय रिपब्लिकनमाझ ट्रम्पको शैली पहिले नै देखिन सुरु भइसकेको थियो । सन् १९८८ मा क्यालिफोर्निया राज्यको ओरेन्ज काउन्टीमा भएको एक निर्वाचनमा रिपब्लिकन कार्यकर्ता बुथबाहिर युनिफर्मसहित गार्ड बसेका थिए । डेमोक्रेटहरूले बसका बस आप्रवासीलाई मत हाल्न बुथमा ल्याइरहेको हल्लापछि उक्त कदम चालिएको थियो । ट्रम्पले यही अलोकतान्त्रिक भावनालाई आफ्नो फाइदाका लागि परिचालन गर्न सक्ने अवसर देखे । 

रिपब्लिकन पार्टीका एलिटको जोड आजकल धनाढ्य अमेरिकीले तिर्ने करको दरमा कटौती गर्ने, व्यवसायमैत्री कानुनी प्रक्रिया तथा अदालतमा कन्जरभेटिभ उम्मेदवारको चयनमा देखिन्छ । उनीहरू विभिन्न गतिरोध आउँदा यी मागलाई बार्गेनिङ चिप बनाउँछन् । उनीहरूले के बुझेका छन् भने मध्यमवर्ग असहाय बनेको, चरम आय असमानता तथा आर्थिक भययुक्त संसारमा यिनै नीतिले बहुमत दिलाउनेछ । पार्टी एलिट चरम आर्थिक असमानता र मध्यम तथा श्रमिक वर्गको आर्थिक असहायपनलाई सम्बोधन गर्न अनिच्छुक रहन थालेका छन् । यस स्थितिमा मत तान्न उनीहरूले सांस्कृतिक आक्रोशलाई उपभोग गर्न थालेका छन् । 

ट्रम्पको व्यक्तिवादी अधिनायकवादी पपुलिजमको शैली उनकै चारित्रिक विशेषता हो, जुन भावी नेताले अँगाल्ने सम्भावना कम नै छ । तर, जहाँसम्म विचारधाराको कुरा छ, ट्रम्पले बोकेको विचारधारालार्ई नै रिपब्लिकन पार्टीले लामो समय बोकेर हिँड्ने देखिन्छ । 

डा. लिसा म्याक्गिर हार्वर्ड विश्वविद्यालयको इतिहासकी प्राध्यापक हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य