मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ माघ २ शुक्रबार ०८:४७:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

कर्णाली चिसापानीको आकर्षण

कर्णाली पुल अवलोकन, र्‍याफ्टिङको मज्जा, डुंगा सयर र साहसिक खेल जिपलाइनको आनन्द लिन आउने आन्तरिक पर्यटक बढे

Read Time : > 3 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ माघ २ शुक्रबार ०८:४७:००

कोरोना कहरले लामो समय सुनसान रहेका कैलालीका पर्यटकीय गन्तव्यमा हिजोआज आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । देशको पूर्वी भेगबाट सुदूरपश्चिम प्रदेश आउने प्रवेशद्वारको रूपमा रहेको यहाँको प्रमुख पर्यटकीय गन्तव्य चिसापानी क्षेत्र केही समययता आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ ।

कर्णाली नदीमाथि एउटै पिलरमा बनेको अत्यन्त आकर्षक र सुन्दर पुलको अवलोकन गर्न, वनभोज खान तथा नदीमा डुंगा र ¥याफ्टिङ गर्न दैनिक सयौँ पर्यटक चिसापानी पुग्ने गरेका छन् । खासगरी, शनिबार र बिदाको दिन घुम्न आउनेहरूको घुइँचो नै हुने गरेको स्थानीय व्यवसायी बताउँछन् । 

कोरोना संक्रमणका कारण चिसापानी क्षेत्र लामो समय सुनसान थियो । दसैँ, तिहारपछि भने आन्तरिक पर्यटकले चिसापानी क्षेत्र भरिभराउ हुन थालेको हो । कैलाली, कञ्चनपुर, डोटीलगायत सुदूरपश्चिमका विभिन्न क्षेत्र तथा लुम्बिनी प्रदेशको बर्दिया, बाँकेलगायतका जिल्लाबाट घुमघामका लागि पर्यटक पुग्ने गरेका छन् ।

चिसापानी घुम्न आएकी बाँके, खजुराकी पार्वती क्षेत्रीले लकडाउनका कारण लामो समय घरमै गुम्सिनुपरेपछि पहिलोपटक घुम्न निस्किएको बताइन् । साथीहरूसँग घुम्न पाउँदा निकै रमाइलो भएको उनले सुनाइन् । ‘लकडाउन र कोरोना त्रासले घरभित्रै बस्दा दिक्क लागेको थियो । साथीहरूसँग घुम्न पाउँदा रमाइलो लागेको छ,’ उनले भनिन् । आफ्ना १२ जना साथीहरूसँग घुम्न आएकी उनले कर्णाली नदीमा डुंगामा पनि शयर गरेको बताइन् ।

पुलमा फोटो खिच्दै गरेको भेटिए बर्दिया, मधुवनका विकास खत्री र उनका अन्य आठजना साथीहरू । स्नातक तह प्रथम वर्षमा सँगै अध्ययनरत उनीहरूले चैतयता पहिलोपटक सबै साथीहरूबीच समूहमा भेट भएको बताए । त्यही समूहमा रहेकी मनीषा बस्नेतले आफू यसअघि पनि चिसापानी घुम्न आएको तर कक्षाका साथीहरूसँग घुम्न पाउँदा निकै रमाइलो भएको अनुभूति सुनाइन् ।

‘लामो समय क्याम्पस जान नपाउँदा टाढाका साथीहरूसँग भेट पनि हुन सकेको थिएन । मिल्ने साथीहरूसँग लामो समयपछि भेट हुँदा र घुम्न पाउँदा आनन्द लागेको छ,’ उनले भनिन् । कोरोना त्रास र बन्दाबन्दीका कारण लामो समय घरभित्रै गुम्सिएर बस्नुपरेकाले रमाइलो गर्न आएको चिसापानीमा भेटिएकाहरूले बताए । 

चिसापानीको प्रमुख आकर्षण
चिसापानीमा पर्यटक लोभ्याउने प्रमुख आकर्षण कर्णाली नदीमा बनेको कर्णाली पुल हो । चुरे पहाड, फेदी भएर बग्ने कर्णाली नदी र त्यसमाथि बनेको पुलले जो–कसैको मन आकर्षित गर्छ । यहाँ पुलको अवलोकनसँगै ¥याफ्टिङ, डुंगा र जिपलाइनको पनि आनन्द लिन सकिन्छ ।

चिसापानी पर्ने लम्की–चुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउने चिसापानीको माछा पनि प्रख्यात रहेको बताउँछन् । चिसापानी बजारबाट करिब सात–आठ सय मिटर उत्तरतिर साहसिक खेल जिपलाइन राखिएको छ । त्यही आसपासमा वनभोजस्थल छ भने त्यहाँबाट पुलसम्म र्‍याफ्टिङ र डुंगा सयर गर्न सकिने अध्यक्ष चलाउनेले बताए ।

विगतमा चिसापानी घुम्न भारतीय पर्यटकहरू पनि आउने गरेका थिए । नाका बन्द रहेकाले अहिले आन्तरिक पर्यटक मात्र आउने गरेका चिसापानी बजारका व्यवसायी धुव्र भण्डारी बताउँछन् । पहिलेको जति नभए पनि पर्यटक आउने क्रम अहिले बढेको उनको भनाइ छ । चिसापानी बजार व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहेका भण्डारीले भने, ‘पर्यटकहरू बस्ने गरी पनि आउन थालेका छन्, तर निकै कम संख्यामा । कोरोना संक्रमणको जोखिमले कारोबार पनि पहिलेजस्तो छैन ।’

पर्यटक आउने क्रम बढे पनि कोरोनाको जोखिमले आर्थिक गतिविधि भने त्यति चलायमान हुन नसकेको स्थानीय व्यवसायी बताउँछन् । घुमफिरका लागि आए पनि कोरोना संक्रमणको जोखिमले घुम्न आउनेमध्ये कतिपयले खानेकुरा र पानीसमेत घरबाटै बोकेर आउने गरेको भण्डारीले बताए ।

आउने पर्यटकको संख्या बढे पनि होटेलमा आउने, रात बिताउने गरी बस्ने कमै हुने गरेको होटेल व्यवसायीहरू बताउँछन् । होटेलमा पुगेका प्रायः पाहुना नास्ता मात्रै खाएर जाने गरेको उनीहरूको भनाइ छ । पूर्व–पश्चिम राजमार्गमै पर्ने भएकाले यात्रुवाहक सवारीसाधनबाट पनि चिसापानी सजिलै पुग्न सकिन्छ । 

गोठीकाँडा : पश्चिमको ‘नगरकोट’
 सुर्खेतको वीरेन्द्रनगर–१२ मा पर्ने गोठीकाँडा शनिबार आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको छ । वीरेन्द्रनगर बजारबाट १० किलोमिटर टाढा रहेको गोठीकाँडाबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन गर्न सजिलो हुने भएका कारण सुर्खेतवासीको पहिलो रोजाइमा गोठीकाँडा पर्ने गरेको हो । सुर्खेतको सदरमुकाम गोठीकाँडाबाट वीरेन्द्रनगर सारिएपछि लामो समय सुनसान बनेको थियो । अहिले गोठीकाँडा बिदा मनाउने आकर्षक केन्द्र बनेको छ । 

डाँडामा रहेको गोठीकाँडाबाट तल फराकिलो उपत्यका, माथि पहाड र हिमालको दृश्यावलोकन गर्न सकिने भएका कारण पर्यटकका लागि आक्रषर्णको केन्द्र बनेको गोठीकाँडा होटेल व्यवसाय गरिरहेका धनलाल देवकोटाले बताए । ‘शान्त वातावरण, चिसो हावा, स्थानीयस्तरमा उत्पादन हुने दूध, दही र लोकल कुखुरा खान यहाँ शनिबार दिन घुइँचो लाग्ने गरेको छ,’ उनले भने, ‘हरेक महिनाको पहिलो शनिबार वीरेन्द्र बजार क्षेत्रमा व्यवसाय बन्द गर्ने भएका कारणले यहाँ बस्ने ठाउँ पाउनसमेत मुस्किल हुन्छ ।’

पश्चिमको नगरकोटका रूपमा चिन्न थालिएको र गोठीकाँडा सुर्खेतकै सबैभन्दा बढी पर्यटक आउने स्थान भएको वडाध्यक्ष टोपबहादुर दर्लामी बताउँछन् । ‘यहाँ पर्यटक आउनुको मुख्य कारण स्थानीय परिकारका साथै दृश्यावलोकन पनि एक हो,’ उनले भने, ‘यसलाई अझै व्यवस्थित गरेर अगाडि बढ्ने सोच बनाएका छौँ ।’ करिब दुई सय वर्षअगाडि गोठीकाँडानजिकैको बयलकाँडामा बहादुर शाहको पालामा गढी निर्माण गरिएको थियो, त्यो अहिले भग्नावशेष अवस्थामा रहेको वडाध्यक्ष दर्लामीले बताए । ‘बहादुर शाहको पालामा निर्माण भएको ऐतिहासिक गढी हो,’ उनले भने, ‘त्यो गढीको संरक्षणमा अहिले हामी लागिरहेका छौँ ।’

आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका कारणले अहिले गोठीकाँडाआसपासमा होटेल व्यवसाय सञ्चालनलगायतका अन्य कामका लागि जग्गा खरिद र बिक्री बढेको वडाध्यक्ष दर्लामी बताउँछन् । सहरको आधुनिकताभन्दा फरक प्राकृतिक आनन्द दिने गोठीकाँडा मल्लकालीन ऐतिहासिक स्थल भएको स्थानीयको भनाइ छ ।

आन्तरिक पर्यटन केन्द्र बन्दै गएको गोठीकाँडालाई विकास गर्न पूर्वाधारसहितको योजना तय गरिएको वडाध्यक्ष दर्लामीले बताए । ‘सडक विस्तार, खानेपानी र सुरक्षा यहाँका मुख्य समस्या हुन्,’ उनले भने, ‘पूर्वाधार विकासका लागि हामीले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेका छौँ । तर, भनेअनुसारको विकास हुन सकेको छैन ।’