मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ १ बिहीबार २१:५४:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बिहीबार दिनभरका मुख्य खबर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १ बिहीबार २१:५४:oo

बागमती प्रदेशका दुई प्रतिशतलाई कोरोना संक्रमण

बागमती प्रदेशको कुल जनसंख्यामध्ये दुई प्रतिशतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै जनसंख्या भएको बागमतीमा बिहीबारसम्म एक लाख ४६ हजार दुई सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ ।सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार ६२ लाख ८३ हजार नौ सय ९४ कुल जनसंख्या रहेको बागमतीमा हालसम्म एक लाख ४६ हजार दुई सय ३२ अर्थात् दुई दशमलव ३२ लाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले पिसिआर परीक्षण गरिएकोमध्ये १३ दशमलव १५ प्रतिशतलाई कोरोना पुष्टि भएको जानकारी दिए ।

वुहान पुग्यो डब्ल्युएचओको टोली

कोरोना भाइरस (कोभिड– १९) को उद्गमस्थल भनिएको चीनको वुहान सहरको अनुसन्धान र अन्वेषण गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को १० सदस्यीय टोली बिहीबार चीनको वुहान सहरमा पुगेको छ । यो टोलीले केही दिनपछि वुहानको विभिन्न स्थान तथा ल्याबमा अनुसन्धान गर्ने बिबिसीले जनाएको छ । टोलीका सदस्यहरू १४ दिन क्वारेन्टिनमा बसेपछि मात्रै अनुसन्धान गर्नेछन् । यसबीचमा उनीहरूमा कोरोना पजिटिभ देखिए फिल्डमा जान पाउने छैनन् । डब्ल्युएचओको टोलीले वुहानमा प्रवेश पाउन निकै प्रतीक्षा गर्नुपरेको थियो । चीन सरकारसँग एक महिनासम्मको वार्तापछि मात्रै अनुमति पाएको हो । टोलीमा रहेका सबै सदस्य डब्ल्युएचओका अनुभवी वैज्ञानिक हुन् । त्यसपछि उनीहरूको पिसिआर टेस्ट हुन्छ । 

दैलेख प्रशासनले ९१ कर्मचारीलाई सोध्यो स्पष्टीकरण

दैलेखका विभिन्न सरकारी कार्यालयमा काम नगर्ने कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय दैलेखले स्पष्टीकरण सोधेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको अनुगमनका क्रममा कार्यालय प्रमुखसहित ९१ जना कर्मचारी अनुपस्थित भएपछि सबैलाई स्पष्टीकरण सोधिएको जनाइएको छ । एकै दिन १२ वटा सरकारी कार्यालयको अनुगमन गर्दा ९१ कर्मचारी अनुपस्थित भेटिएका छन् । सबैलाई स्पष्टीकरण सोधेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिएका छन् ।

कोरोनाविरुद्वको भ्याक्सिन लगाउनै मान्दैनन् फ्रान्सेली, १७ दिनमा जम्मा सात हजारले लगाए भ्याक्सिन 

जिन डिबोची भ्याक्सिनविरोधी होइनन् । यी ८० वर्षीय वृद्ध प्रत्येक वर्षजस्तो विभिन्नखाले भ्याक्सिनको ‘डोज’ लिइरहेकै हुन्छन् । तर, यी पूर्व ‘ट्रकड्राइभर’ कोरोना भाइरस (कोभिड– १९) महामारीविरुद्धको भ्याक्सिन लगाउन भने मानिरहेका छैनन् । उमेर र अरू दृष्टिकोणबाट उनलाई भ्याक्सिन आवश्यक छ । फ्रान्सेली सरकारले तयार पारेको मापदण्डमा उनी कोरोनाविरुद्धको भ्याक्सिन प्राप्त गर्नेमा पहिलो प्राथमिकतामै पर्छन् । तर, उनी भ्याक्सिन लगाउने कुनै सम्भावना नरहेको बताउँछन् । ‘यसभित्र के छ भन्ने कुरा हामीलाई थाहै छैन,’ राजधानी पेरिसका बासिन्दा डिबोची भन्छन् । फ्रान्सले गत २७ डिसेम्बरदेखि नै आफ्ना नागरिकलाई भ्याक्सिन लगाउन सुरु गरेको हो । उसले जर्मन कम्पनी बायोन्टेक र अमेरिकी कम्पनी फाइजरले संयुक्त रूपमा निर्माण गरेको भ्याक्सिन प्रयोगका लागि अनुमति दिएको छ । फ्रान्सले भ्याक्सिनका लागि स्याहार केन्द्रमा बसेकाहरूलाई पहिलो प्राथमिकतामा राखेको छ । डिबोचीको आरोप छ, ‘यो त वृद्धवृद्धाहरूलाई औषधि परीक्षणका लागि प्रयोग गरेकोजस्तो देखियो ।’

एक व्यक्तिको जग्गा अर्को व्यक्तिलाई बेचेको आरोपमा मालपोतका कर्मचारी पक्राउ

आधिकारिक जग्गाधनीको अनुमतिबिना नै अर्काको नाममा जग्गा पास गरेको आरोपमा मालपोत कार्यालय सुर्खेतका एकजना कर्मचारी पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर– ६ मा सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहा नै नदिई अर्काको नाममा नामसारी गर्ने मालपोत कार्यालय सुर्खेत नायव सुब्बा विश्वरूप साउदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो । रावतको नाममा रहेको वीरेन्द्रनगर– ६ शंकरचोकमा रहेको ६ कट्ठा जग्गामध्ये चार कट्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिका नाममा बिक्री गर्न नायव सुब्बा साउदको संग्लनता रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।

कर्मचारीको रोजाइ काम कम हुने कार्यालय

कर्मचारीलाई राष्ट्रसेवक अर्थात् जनताका सेवक पनि भनिन्छ, तर पछिल्लो समय निजामती कर्मचारी जनतालाई प्रत्यक्ष सेवा दिन कार्यालय जानै चाहँदैनन् । त्यहाँ कार्यरत कर्मचारी पनि अन्यत्र सरुवा खोज्ने गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएको निवेदनमध्ये सेवाग्राहीको चाप हुने कार्यालयमा जान खोज्ने कर्मचारीको निवेदन ज्यादै न्यून छ । विगतमा मालपोत, यातायात, अध्यागमन, जिल्ला प्रशासनजस्ता सेवा दिने कार्यालयमा सरुवा हुन कर्मचारीको मारामार हुन्थ्यो । अहिले ठीकविपरीत अवस्था देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव राजीव पोखरेल बताउँछन् । ‘मालपोतजस्ता कार्यालयमा कर्मचारीको रुचि नै छैन,’ सहसचिव पोखरेल भन्छन्, ‘मन्त्रालय र आयोगजस्ता निकायमा धेरै कर्मचारीले सरुवा हुन चाहेका छन् ।’ मन्त्रालयमा सरुवाका लागि निवेदन दिनेमध्ये धेरैले कामको चाप नहुने कार्यालय रोजेका छन् । 

कक्षा १२ को परीक्षा भद्रगोल हुँदा नतिजामा ढिलाइ, अब १० दिनभित्रै बोर्डले नतिजा सार्वजनिक गर्ने

कक्षा १२ को परीक्षाको नतिजा अबको १० दिनभित्र सार्वजनिक हुने भएको छ । अव्यवस्थित भएका कारण नतिजा सार्वजनिक गर्न लक्ष्यभन्दा ढिलाइ भए पनि अबको १० दिनभित्र सार्वजनिक गर्ने तयारी भएको हो । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले बिहीबार गरेको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अबको १० दिनभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । अध्यक्ष पौडेलका अनुसार विद्यार्थीको नम्बर इन्ट्रीको काम सकिएको र अहिले रुजुको काम भइरहेको छ । अहिलेसम्म ४० प्रतिशत रुजुको काम सकिएको उनले बताए ।

भारतमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई २३ राजनीतिक संगठनको पाँचबुँदे सुझाब

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २३ राजनीतिक संगठनले पाँचबुँदे सुझाब दिएका छन् । २३ राजनीतिक संगठनको  कार्यगत एकताका तर्फबाट सिपी गजुरेलले वक्तत्व जारी गरेर सुझाब दिँदै मन्त्रीस्तरीय बैठकमा महत्वका साथ राख्न आग्रह गरेका छन् । यस्ता छन् पाँचबुँदे सुझाब

ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा कक्षा ११ र १२ मा निःशुल्क शिक्षा

ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई  निःशुल्क पढ्ने व्यवस्था मिलाएको छ । गाउँपालिकाले  गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने भएको हो । सिरिजंघा गाउँपालिकाका पाँच विद्यालयमा कक्षा ११ र १२ को पढाइ भइरहेको छ । निःशुल्क शिक्षा, हामी सबैको इच्छा कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ पारित गरेर कार्यान्वयनमा ल्याएको गाउँपालिकाले बताएको छ । 

एसएसबीद्वारा नेपाली किसानलाई अन्नबाली भित्र्याउन दशगजाको सडक प्रयोगमा रोक

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका– १० सडकघाटका नेपाली किसानलाई अन्नबाली भित्र्याउन दशगजाको सडक प्रयोगमा रोक लगाएको छ । वर्षौँदेखि नेपाल (सडकघाट) र भारत (टिल्ला नम्बर ४ का) किसानले प्रयोग गर्दै आएको दशगजा क्षेत्रको सडक एसएसबीले नेपाली किसानका लागि रोक लगाएको हो । भारतीय किसानलाई भने निर्वाध रूपमा उपभोग गर्न दिएर नेपाली किसानलाई प्रयोग गर्न नदिएको सीमावर्ती सडकघाटका नेपाली किसानले बताएका छन् । स्थानीय चक्रबहादुर कठायतले एसएसबीले उक्त सडक नेपाली किसानलाई प्रयोग गर्न नदिएपछि नेपाली किसान मारमा परेको बताए । ‘हामीलाई सो सडक प्रयोग गर्न दिएको छैन,’ उनले भने, ‘सडक प्रयोग गर्न नदिँदा नेपालीको अन्नबाली खेतमै कुहिने भयो ।’