१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २९ बुधबार
  • Friday, 04 July, 2025
एजेन्सी
२o७७ पौष २९ बुधबार १९:३१:oo
Read Time : > 2 मिनेट
फिचर

सोसियल मिडियाको विकल्प खोज्दै ट्रम्प 

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ पौष २९ बुधबार १९:३१:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसियल मिडियाको विकल्प खोज्न थालेका छन् । गत साता क्यापिटल हिलमा भएको हिंसात्मक गतिविधिपछि सोसियल मिडिया फेसबुक, ट्विटर, इन्स्टाग्रामले ट्रम्पका सबै खाता सधैँका लागि बन्द गरेपछि उनी यस्ता मिडियाको विकल्पको खोजीमा लागेका हुन् । 

ट्रम्पले सोसियल मिडियामा दिएको अभिव्यक्तिका कारण उनका समर्थकले क्यापिटल हिलमा हिंसात्मक गतिविधि मच्याएको आरोप छ । ती सबै सोसियल मिडियाले सुरुमा २४ घन्टाका लागि ट्रम्पको खाता बन्द गरेका थिए । ६ जनवरीमा क्यापिटल हिलस्थित अमेरिकी संसद् भवनमा भएको हिंसात्मक गतिविधिपछि सोसियल मिडियाहरूले ट्रम्पकै टिप्पणीले घटना भएको आरोप लगाएका छन् ।

सबै किसिमको सामाजिक सञ्जाल बन्द भएपछि ट्रम्पले अहिले आफ्ना विचार समर्थक माझ राख्न पाएका छैनन । उनका छोरा जुनियर ट्रम्प र ७० हजार समर्थकका समेत सामाजिक सञ्जाल खाता निलम्बित भएका छन् । ट्विटर, इन्स्टाग्राम र फेसबुकमा निकै सक्रिय मानिने ट्रम्पले ६ जनवरीदेखि समर्थक माझ केही भनाइ राख्न नपाउँदा समर्थकहरू पनि निराश छन् । 

यसैबीच बुधबार बिहान टेक्सासमा पुगेका ट्रम्पले पुनः एकपटक ६ जनवरीमा दिएको अभिव्यक्ति सही भएको र ४६औँ राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली गरी जो बाइडेन विजयी भएको दाबी दोहो¥याएका छन् । यद्यपि ट्रम्पले निर्वाचनमा धाँधली भएको कुनै पनि प्रमाण भने पेस गर्न सकेका छैनन् । ‘मेरो त्यो अभिव्यक्ति बिलकुल सही थियो, त्यो गलत थिएन र निर्वाचनमा धाँधली भएकै हो,’ ट्रम्पले भने । 

सोसियल साइटको खाता बन्द गर्नु स्वतन्त्रताको अधिकार हनन
राष्ट्रपति ट्रम्प पक्षधर कानुनविद्हरूले सामाजिक सञ्जालका नियमनकारीहरूले खाता बन्द गरेर सर्वसाधारणको स्वतन्त्रताको अधिकार हनन गरेको दाबी गरेका छन् । यसैबीच जुनियर ट्रम्पले अमेरिकामा नागरिकका स्वतन्त्रतामाथि नै प्रतिबन्ध लगाएको भन्दै साथीको ट्विटर खाताबाट ट्विट गरेका छन् । ‘अब अमेरिकामा कसैलाई पनि स्वतन्त्रपूर्वक बोल्ने अधिकार छैन,’ ट्रम्पका छोरा जुनियर ट्रम्पले भनेका छन्, ‘गैरकानुनी रूपमा हाम्रा सबै अकाउन्ट बन्द भएका छन् ।’ 

यसैबीच ट्रम्पका समर्थकले नवनिर्वाचित राष्ट्रपति बाइडेनविरुद्ध मोर्चाबन्दी गर्न अलग्गै सोसियल मिडिया प्लेटफर्म बनाउनुपर्ने सुझाब दिएका छन् । जसमा कसैले पनि प्रतिबन्ध लगाउन नसकोस् भन्ने समर्थकको भनाइ छ । ‘अब हामीले यस्तो नयाँ सोसियल मिडिया बनाउनुपर्छ, जसमा हामीले भनेका कुरा राख्न सकियोस्, यसमा कसैको पनि हस्तक्षेप हुनेछैन,’ ट्रम्प समर्थकहरूको भनाइ छ । नयाँ सोसियल मिडिया प्लेटफर्म बनाउन भने त्यति सहज छैन । अहिले विश्वव्यापी चलेका ट्विटर, फेसबुक तथा इन्स्टाग्रामलाई चुनौती दिन सक्ने नयाँ सामाजिक सञ्जाल स्थापन्न गर्नु चुनौतीपूर्ण भएको विज्ञहरू मान्छन् । 

सैद्धान्तिक रूपमा धेरै पुँजी भएको, विश्वस्तरीय प्राविधिक दक्षता भएको टोली तथा यसमा दिनरात काम गर्ने कमर्चारी राख्न सक्दा नयाँ सोसियल मिडिया चलाउन भने सकिन्छ । तर नयाँ सोसियल मिडियालाई लोकप्रिय बनाउन निकै समय लाग्न सक्छ । यसकारण पनि ट्रम्पले वास्तवमै नयाँ सोसियल मिडिया स्थापना गरे विश्वभर फैलाउन धेरै समय लाग्ने अमेरिकी एजेन्सीहरूले जनाएका छन् । ट्रम्पले खाता खारेज गरिएका ७० हजार समर्थकलाई खुसी पार्न पनि सोसियल मिडियामा लगानी गर्न सक्ने अमेरिकी एजेन्सीहरूले जनाएका छन् ।

अमेरिकन टेक्लोलोजी क्षेत्रका प्रोफेसर डंकन फर्गुसनले पनि विश्वप्रसिद्ध सोसियल मिडियाविरुद्ध नयाँ कम्पनीले प्रतिस्पर्धा गर्न गाह्रो हुने बताएका छन् । हालै मात्र उनको एक लेखमा यस्तो भनिएको छ, ‘कसैले पनि नयाँ सोसियल मिडिया स्थापना गरे, उसले फेसबुक, ट्विटर, इन्स्टाग्राम तथा अमेजनजस्तो कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, यस्तो अवस्थामा विश्वव्यापी बनाउनु असम्भव झैँ देखिन्छ ।’ 

एक तथ्यांकअनुसार प्रत्येक महिना दुई अर्ब ३० करोड प्रयोगकर्ताले फेसबुक चलाउँछन् । यसैगरी युट्युब एक अर्ब ९० लाख, ह्वाट्स एप एक अर्ब ५० करोडले चलाउँछन् । इन्स्टाग्रामको प्रयोगकर्ता एक महिनामा करिब एक अर्ब हुन्छन् । 

रमाइलो पक्ष के छ भने अमेरिकामा एउटा रुढिवादी समूह छ । उनीहरूले आफूहरूबीच टीकाटिप्पणी गर्न एक अलग्गै सोसियल मिडिया चलाएका छन् । जसको नाम ‘पालर’ राखिएको छ । यो पालर सोसियल मिडियामा सधैँ विरोधीविरुद्ध मात्र खनिने भएपछि गुगल तथा अमेजनले यसलाई प्रतिबन्ध नै लगाएका छन् । ‘पालर सोसियल मिडियामा नकारात्मक व्यक्तिले मात्र प्रयोग गरिरहेका छन्, समाजमा हुने हिंसात्मक गतिविधिमा यसले केही हिस्सा ओगटेको ठहर छ,’ अमेजन तथा गुगलले पालर एप्स प्रतिबन्ध गर्नुको कारण देखाए ।