मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २९ बुधबार १६:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी एकताअघि नै प्रचण्ड कांग्रेस र साना दलसँग मिलेर प्रधानमन्त्री हुन खोजेका थिए : पोखरेल

Read Time : > 1 मिनेट
२०७७ पौष २९ बुधबार १६:४३:००

नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताअघि नै कांग्रेस र साना दलसँग मिलेर प्रधानमन्त्री बन्न खोजेको आरोप लगाएका छन् । तत्कालीन समयमा वाम गठबन्धनलाई धोका दिएर पाँचवर्षे प्रधानमन्त्री बन्न खोजेको आरोप लगाएका हुन् ।

झापाको बिर्तामोडमा ओली समूहको नेकपाले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले प्रचण्ड सधैँ पदका लागि मात्र अघि बढ्न खोजेका बताए । ‘वाम गठबन्धन गरेर एउटै चुनाव चिह्नमा साझा उम्मेदवार बनाएर एउटै घोषणापत्रमा चुनाव लड्ने सहमति भयो । त्यसको २४ घन्टा पनि बित्न नपाउँदै प्रचण्डजीले चुनाव चिह्न त हुँदैन भन्नुभयो । त्यसवेला पहिलोपटक हामीलाई दाँतमा ढुंगा लाग्यो,’ उनले भने, ‘चुनावमा केपी ओलीलाई प्रधानमन्त्री बनाउने भनेर चर्चा गरेर प्रधानमन्त्री बनाउने वेलामा त प्रचण्ड आउनुहुन्न । उहाँ त साना दल र कांग्रेसँग मिलेर पाँचवर्षे प्रधानमन्त्री हुनतिर लाग्नुभएछ ।’

उपप्रधानमन्त्री पोखरेलले पार्टी एकताका लागि प्रधानमन्त्री ओलीले प्रचण्डले पठाएको चिर्कटोमा हेर्दै नहेरी हस्ताक्षर गरेको दाबी गरे । ‘केपी ओली एकताको पक्षमा हुनुहुन्छ । प्रचण्डले दायाँबायाँ गर्न खोजेपछि एकताको पक्षमा भनेर हस्ताक्षर गर्नुभयो,’ उनले भने, ‘प्रचण्डका प्रतिनिधिले ल्याएको चिर्कटोमा पार्टी एकता छ कि छैन भनेर सोधेर उहाँले हस्ताक्षर गर्नुभएको हो । त्यही कारण अहिले आधा–आधा प्रधानमन्त्रीको कुरा आएको हो ।’

प्रचण्डले ओलीलाई काम गर्नै नदिएको पोखरेलको दाबी छ । ‘ओलीसँग देश समृद्ध बनाउने सपना छ । तर, प्रचण्डजीले काम गर्न दिनुभएन । ओलीले दुई वर्ष पुगेका मन्त्री हटाएर नयाँ ल्याऊँभन्दा उहाँले मान्नुभएन,’ उनले भने, ‘दुई वर्षको मापदण्ड राख्दा उहाँले चाहेका मन्त्री हट्ने भए । त्यही कारण उहाँले रोक्नुभयो । प्रधानमन्त्रीले खाली रहेका मन्त्रालयमा मात्र नियुक्त गर्नुभयो ।’ प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति, संवैधानिक नियुक्ति गर्न खोज्दा प्रचण्डले भागबन्डा खोजेर नियुक्ति गर्न नदिएको आरोप लगाए ।

उपप्रधानमन्त्री पोखरेलले माधव नेपाल र झलनाथ खनालले कुण्ठाका कारण पार्टी फुटाएको दाबी गरे । ‘प्रचण्डको अन्तरविरोध, माधव–झलनाथको कुण्ठाले यस्तो भएको हो । हिजो प्रतिपक्षमा भएको केपी ओलीलाई  आज केपी बा भन्छन् । त्यही कारण उहाँहरू जल्नुभयो,’ उनले भने, ‘सत्तामा हुँदा केपी ओलीको तेजलाई देख्न नसकेर उहाँहरूमा कुण्ठा पलायो ।’ उनले अझै एकपटक प्रचण्डको १९ बुँदे आरोपपत्र फिर्ता लिएर निर्वाचनको मिति स्विकारे पार्टीमा स्वागत गर्न तयार भएको बताए ।’ उनले प्रचण्ड जनयुद्धको ज्यादतीका कारण भोलि के हुने को कि भन्ने डरले एकतामा आएको दाबी गरे । ‘उहाँ हस्तिनापुर कब्जा गर्ने उद्देश्यले आउनुभएको हो,’ उनले भने, ‘उहाँलाई माधव नेतृत्वको कुण्ठाले सहयोग गऱ्याे ।’

उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड–नेपालले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन खोजेकाले संसद् भंग गर्नुपरेको दाबी गरे । उनले आफूहरूको पार्टी आधिकारिक हुने र चुनाव चिह्न ओली समूहले पाउने दाबी गरे । उनले गुटमा लाग्ने कार्यकर्तालाई निलम्बन गरेर नयाँ कार्यकर्तालाई अवसर दिन पनि पार्टी जिल्ला नेतृत्वलाई निर्देशन दिए । संगठनलाई  पुनर्जागरण गरेर निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए । आउने निर्वाचनमा आफूहरूले सहज बहुमत ल्याउने दाबी पनि गरे ।

कार्यक्रममा बोल्दै खानेपानीमन्त्री मणि थापाले केपी ओलीलाई साथ दिएर आफूहरूले क्रान्तिकारी कदम चालेको दाबी गरे । ‘कोही कार्यकर्तालाई नसोधी एमालेसँग प्रचण्डले पार्टी एकता गर्दा क्रान्तिकारी भयो । माधव नेपालसँग सहकार्य गर्दा अग्रगामी भयो,’ उनले भने, ‘हामीले केपी ओलीलाई साथ दिँदा लाल गद्दार भयौँ ? हाम्रो कदम पनि क्रान्तिकारी कदम हो ।’