मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ १० शनिबार
  • Saturday, 23 January, 2021
ad
मिचेल गोल्डवर्ग
२०७७ पौष २९ बुधबार ०९:२५:००
दृष्टिकोण प्रिन्ट संस्करण

ट्विटर खारेजीले उब्जाएको प्रश्न

मिचेल गोल्डवर्ग
२०७७ पौष २९ बुधबार ०९:२५:००

डोनाल्ड ट्रम्पको उक्साहटमा अमेरिकी कंग्रेसमाथि ठूलो भीडले आक्रमण गरेपछि धेरै कन्जरभेटिभ नेताले ट्विटरमा फलोअर्स गुमाइरहेका छन् । ‘यो हप्ता मैले ५० हजारभन्दा बढी फलोअर्स गुमाएँ,’ शनिबार साराह हकबी स्यान्डर्सले ट्विटरमा लेखिन् । ट्विटरले ट्रम्पको एकाउन्ट मात्र होइन, षड्यन्त्रवादी सिद्धान्त फैलाउने अन्य धेरै एकाउन्टमाथि पनि प्रतिबन्ध लगाएको छ । जसलाई ट्रम्पकी पूर्व प्रेस सेक्रेटरी स्यान्डर्सले ‘उग्र वामपन्थी’ सेन्सरसिपको संज्ञा दिएकी छन् । ‘यो चीन होइन, अमेरिका हो र हामी एक खुला देश हौँ ।’ स्यान्डर्सले लेखेकी छन् । 

खासमा चीनमा स्यान्डर्सले भनेको भन्दा उल्टो कामचाहिँ भइरहेको छ । ट्विटर र फेसबुकले ट्रम्पलाई बन्देज लगाउन सके, तर चीनको सामाजिक सञ्जाल वेइबोले त्यहाँका राष्ट्रपति सी जिनपिङलाई बन्देज लगाउने कार्य कल्पनासमेत गर्न सकिँदैन । सामाजिक सञ्जालबाट ट्रम्पको बहिर्गमले निजी कर्पोरेसनको शक्तिको पक्षमा वकालत गर्ने लिबरटारियन सपनालाई नै प्रतिबिम्बित गर्छ । 

व्यक्तिगत रूपमा म गैरलिबरटारियन भए पनि यस घटनामा ठूला प्रविधि उद्योगले आफ्ना अधिकार जसरी प्रयोग गरे, त्यसको समर्थन गर्छु । तर, ती कम्पनीको डरलाग्दो गरी शक्तिलाई लिएर त्रस्त पनि छु । ट्रम्पले जस्तो काम गरेका थिए, त्यस आधारमा उनलाई सामाजिक सञ्जालमा बन्देज लगाउनु नै पथ्र्यो । तर, कसको एकाउन्ट राख्ने, कसको एकाउन्ट हटाउने भन्ने अधिकार केही अपरिपक्व युवाहरूको क्षेत्राधिकारभित्र राख्नु पनि उत्तिकै खतरनाक कुरा हो ।

ट्रम्पलाई बन्देज लगाउने क्रममा ठूला सामाजिक सञ्जाल कम्पनीले उनलाई अन्य मानिसजस्तै व्यवहार गर्न सुरु गर्‍यो । एलेक्स जोन्स, रोजर स्टोन र स्टिभ ब्याननलगायत अरू ट्रम्पका प्रमुख समर्थकलाई हिंसा भड्काएको, पत्रकारलाई धम्काएको र घृणा फैलाएको भन्दै फेसबुक, ट्विटर वा दुवै माध्यमले कारबाही गरेका छन् । ट्रम्पले यी सबै कर्म गरेका थिए । तर पनि अघिल्लो सातासम्म उनलाई सबै सामाजिक सञ्जालमा विशेषाधिकार दिइएको थियो । यो विशेषाधिकार खोसिँदा अमेरिकी संविधानको पहिलो संशोधन आकर्षित हुनेछैन ।

ट्रम्पले जस्तो काम गरेका थिए, त्यस आधारमा उनलाई सामाजिक सञ्जालमा बन्देज लगाउनु नै पर्थ्यो, तर कसको एकाउन्ट राख्ने, कसको एकाउन्ट हटाउने भन्ने अधिकार केही अपरिपक्व युवाहरूको क्षेत्राधिकारभित्र राख्नु पनि उत्तिकै खतरनाक कुरा हो

कुनै निजी कम्पनीले अमेरिकीहरूको विचार विस्तार गर्न पाउने विषयमा कुनै अमेरिकाको संविधानले केही भनेको छैन । बरु पहिलो संशोधनले व्यक्ति तथा कम्पनीलाई आफूलाई मन नपर्ने विचारबाट टाढै रहन पाउने अधिकार दिएको छ । तर, यो अधिकारले कति धेरै कुरा समेट्छ भन्ने विषयमा भने बहस छ । मजस्ता लिबरलहरू आबद्धताको स्वतन्त्रतालाई नागरिक अधिकारभन्दा माथि राख्नुहुँदैन भन्ने विश्वास गर्छौं । यस आधारमा बेकरीसँग समलिंगी जोडीलाई विवाहको केक बनाउदिनँ भन्ने छुट हुनुहुँदैन ।

तर, संविधानले व्यक्ति वा व्यवसायलाई खतरनाक राजनीतिक प्रोपोगान्डा फैलाउन बाध्य गरेको छैन । प्रविधि कम्पनीले अहिले एक–अर्कासँगको समन्वय गरेजसरी विश्वको सबैभन्दा चर्को बोल्न मानिसलाई जसरी चुप लगाएका छन्, यसले परम्परागत प्रकाशकसँग तुलना गर्ने अवस्था छैन । किनकि, परम्परागत माध्यमको कुरा गर्दा ट्रम्पले अहिले पनि चाहेको समयमा पत्रकार सम्मेलन गर्न सक्छन् । वा, फक्स न्युजजस्ता टिभीलाई अन्तर्वार्ता दिन सक्छन् । तर, सामाजिक सञ्जालले अन्य धेरै मानिसलाई उपलब्ध सेवामा बन्देज लगाएर ट्रम्पलाई महाअभियोग तथा चुनावी हारले समेत नपारेको अप्ठ्यारो पारेको छ । 

ट्रम्पको विषाक्त उपस्थिति नियन्त्रण भएर महत्वपूर्ण काम भएको छ । यस मामिलामा निजी कम्पनीले सरकारभन्दा तीव्रताका साथ काम गरेको देखियो । तर, यस प्रकरणमा ठूला सामाजिक सञ्जाल कम्पनीको कैयौँ राष्ट्र–राज्यको भन्दा ठूलो शक्ति पनि उजागर भएको छ । ती शक्तिमाथि कुनै लोकतान्त्रिक ‘चेक एन्ड ब्यालेन्स’ नहुनु अर्को खतरनाक कुरा हो । यही कुरालाई इंगित गर्दै ‘द भर्ज’ले ट्विटरमा वामपन्थी पोडकास्ट ‘रेड स्केर’को एकाउन्ट खारेज हुनु तर आयतोल्ला अली खमेनीको एकाउन्ट यथावत् रहन कुन प्रणालीले काम गरेको छ भन्ने प्रश्न गरेको छ ।

जर्मन चान्सलर एन्जेला मर्केल तथा रुसी विपक्षी नेता एलेक्सी नेभाल्नीजस्ता गम्भीर मानिसले ट्रम्पमाथिको प्रतिबन्धबाट स्तब्ध भएको बताएका छन् । ‘यस दृष्टान्तलाई विश्वभरका वाक स्वतन्त्रताविरोधीले अनुकरण गर्नेछन्,’ नेभाल्नीले ट्विटरमा लेखेका छन्, ‘रुसमा कसैलाई मौन बनाउनुपर्‍यो भने ‘यो सामान्य अभ्यास हो, ट्रम्पलाई पनि त ट्विटरमा ब्लक गरिएको थियो’ भनिनेछ ।’ 

तर, ट्रम्पलाई उनको सामाजिक सञ्जाल एकाउन्ट फिर्ता दिएर यो समस्याको समाधान हुँदैन । नेभाल्नीले ट्रम्पमाथिको प्रतिबन्धमा कुनै निश्चित नियम लागू नभएकोतर्फ औँल्याएका हुन् । कैयौँ तानाशाह, महामारीको अस्तित्व अस्वीकार गर्नेहरू तथा ट्रोल सेना सामाजिक सञ्जालमा अझै सक्रिय छन् । सामाजिक सञ्जाल एकाउन्ट बन्द गर्ने विषयमा विशेष समिति चयन गर्नुपर्ने र पारदर्शी प्रक्रिया पछ्याइनुपर्ने नेभाल्नीको सुझाब छ । सुरु त्यसैबाट गर्न सकिन्छ ।

दीर्घकालमा प्रविधि कम्पनीको एकाधिकार तोडिनुपर्छ । केहीले प्रविधि उद्योगले अहिले प्रतिबन्धित ट्रम्पलाई विगतमा कुनै जिम्मेवारी वहन गर्नुनपर्ने राजाजस्तो हुँदा पनि केही नगरेको तर्फ पनि संकेत गरेका छन् । यसपटक तिनले ट्रम्पमाथि प्रतिबन्ध लगाएर सही कदम उठाएका छन् । तर, तिनलाई यति लामो समयसम्म किन मनपरी गर्न दिइयो भन्ने प्रश्न पनि उठ्छ । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
स्तम्भकार मिचेल गोल्डवर्गका राजनीति, धर्म, महिला अधिकारबारे थुप्रै पुस्तक प्रकाशित छन् ।