मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रज्ञा डबलीमा प्रदर्शन गर्दै ‘फ्ल्यास मोब’ समूह । तस्बिरः दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नवीन प्यासी काठमाडौं
२०७७ पौष २९ बुधबार ०८:३५:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

संसद् विघटनविरुद्ध नागरिकसभा : प्रज्ञा डबलीमा दोस्रो जनआन्दोलनको झल्को

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडौं
२०७७ पौष २९ बुधबार ०८:३५:००

दृश्य १

नेपाल प्रज्ञा प्रतिष्ठानको डबली । ‘फ्ल्यास मोब’ अभियानका किशोरीको समूह उभिएको छ । धिमे बाजाको धुन बज्न थालेसँग हातमा पम्प्लेट बोकेर उभिन उभिन्छन् । पम्प्लेटमा ‘संसद् विघटन रातारात, देश डुबाउन तिम्रो हात’लगायतका नारा लेखिएका छन् । अझ उनीहरूले लगाएको रातो टिसर्टमा लेखिएको छ, ‘वुमेन इन पोलिटिक्स’ । र, एकाएक आवाज गुञ्जिन्छ –

कानुनमाथि को रैछन् 
केपी ओली पो रैछन् 
संविधानलाई कुल्चेर, नैतिकतालाई बिर्सेर 
अझै कत्रो चुरिफुरी ।

दृश्य २

लामो सेतो कपडा बिछ्याइएको छ । सेतो कपडामा रंग छ्यापिरहेका छन् कलाकारहरू रवि मिश्र, रवीन्द्र श्रेष्ठ र रसिक राज । मुमेन्ट आर्टमा कालो, पहेँलो र रातो रंगसँगै कलाकारका हात कपडामा दगुरिरहेका छन् । कालोले भन्छ– प्रतिगमन, सरकारको असंवैधानिक कदम । पहेँलोले भन्छ– केपी ओलीको पञ्चायतकालीन रवाफ । रातोले भन्छ– आशाहरू निभ्न दिनुहुँदैन, परिवर्तन असम्भव छैन । प्रत्येक निरंकुश शासक पतन भएर जानेछ । 

कलाकार मिश्र भन्दै थिए, ‘रंगहरूमार्फत विरोधको भाषा बोलेका हौँ । एउटा कलाकार रंग र कुची बोकेर सडकमा आइपुग्छ भने राज्यले बुझ्नुपर्छ कि त्यो कति डरलाग्दो विषय हो ।’ कलाकार रसिक राजको हात र खुट्टा रङले लतपतिएका छन् । उनी आक्रोश पोख्दै थिए, ‘यो त सुरुवात मात्र हो । प्रतिगमनकारी शासकले यो बुझ्नुपर्छ कि उसकै अनुहारमा यी रंगहरू पोतिए भने के होला !’

दृश्य ३

हिजो शासकहरूले भने म नै संविधान हुँ 
म नै नीति हुँ 
म नै विधि हुँ 
म नै कानुन हुँ 
मलाई मान, म नै हुँ सर्वशक्तिमान 
जनताले शासकलाई भने 
तिमी संविधान होइनौ 
न त तिमी नीति हौ, न त विधि हौ 
सुन शासक अब, अब हामी लेख्छौ यो देशको संविधान 
हामी बनाउँछौँ नीति र विधि 

नाट्यकर्मी घिमिरे युवराजले आफ्नो यो कविता सुनाउनुपूर्व युद्धको शंखघोषको संकेत दिने धुन बज्छ । अक्सर संकट या युद्धको आह्वानमा बजाइने यो धुन यसपटक प्रज्ञा प्रतिष्ठानको डबलीमा बजेको छ । सरकारी निकायको प्रांगणमा बजाइएको धुन र कविताबारे घिमिरे युवराजले भने, ‘यो एउटा मामुली नागरिकले दिएको चुनौती हो । सामान्य नागरिकको विरोधी आवाज हो । जसलाई थुन्न सक्ने ल्याकत शासकको छ ?’

                                              ........             

शाही ‘कु’पछि ०६२/६३ को दोस्रो जनआन्दोलन नागरिक समाजले नै सुरुवात गरेको थियो । नागरिक समाजका अगुवा सडकमा आइपुगेपछि मात्रै राजनीतिक दलहरूले पछ्याएका थिए । र, त्यसैको शक्तिबाट राजा ज्ञानेन्द्र श्रीपेच फुकालेर नारायणहिटीबाट नागार्जुन सरे । 

०६२/६३ को जनआन्दोलनले जसरी राजा ज्ञानेन्द्र श्रीपेच झिकेर नारायणहिटीबाट बाहिरिन बाध्य भए, त्यसरी नै अहिलेका कामचलाउ प्रधानमन्त्री ओली पनि बालुवाटारबाट बाहिरिनुपर्ने नागरिक समाजको चेतावनी

जुन नागरिक आन्दोलनको नेतृत्वकर्तामध्ये एक थिए डा. देवेन्द्रराज पाण्डे । उनै पाण्डे भिडियो वक्तव्यमार्फत भनिरहेका थिए, ‘०६२/६३ को जनआन्दोलनको जनादेश के थियो भने मुलुकमा शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रणालीलाई सुनिश्चित गर्दै त्यो प्रणालीको आधारमा आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक हरेक क्षेत्रको हिसाबले उत्कृष्ट समाज निर्माण तथा दिगो शान्ति स्थापना गर्ने । र, जनताको अधिकार, नागरिकको मर्यादा र शान्ति सुव्यस्थाका साथै सामाजिक न्याय स्थापना गर्ने आदेश थियो ।’ 

मंगलबार प्रज्ञा डबलीको नागरिकसभालाई भिडियोमार्फत पाण्डे भन्दै थिए, ‘केही विकृति देखिएका छन्, जसलाई उपचार गर्नुको साटो अहिले लोकतन्त्रमै प्रहार हुने गरी जुन संसद् विघटनको कार्य भयो, जसलाई संविधानविद्ले समेत असंवैधानिक घोषणा गरेका छन् । त्यसको विरोधमा लोकतन्त्रलाई पुनस्र्थापित गर्ने, प्रतिगमनलाई छिर्न नदिने र समाज विकासको प्रक्रियालाई अगाडि बढाउने हिसाबले अहिले नागरिक आन्दोलन सुरु भएको छ ।’

केही समयअघि पाण्डेकै घरमा पुगेका थिए, नागरिक समाजका अगुवा । उनलाई भेटेर सल्लाह गरेपछि पाण्डेले ०६२÷६३ को दोस्रो जनआन्दोलनताका नागरिक समाजका लागि उठेको २० हजार ५६ रुपैयाँ दिएको लेखक तथा पत्रकार नारायण वाग्लेले बताए । वाग्लेले थपे, ‘दोस्रो जनआन्दोलनको यही नासोलाई सम्हालेर हामी अब अर्कोपटक बालुवाटार घेराउ गर्न जाँदै छौँ ।’ 

पत्रकार वाग्लेले दोस्रो जनआन्दोलन कुनै राजनीतिक पार्टीले नगरेको र नागरिक समाजले गरेको भन्दै आमनागरिकको शक्तिलाई नजरअन्दाज नगर्न चेतावनी पनि दिए । उनले दोस्रो जनआन्दोलनको प्रसंग निकाल्दै भने, ‘त्यो परिवर्तनको नेतृत्व कुनै राजनीतिक पार्टीले गरेको थिएन । नागरिक समाजले गरेको थियो ।’ साथै, आजको दिनमा त्यस्तै नागरिक समाज चाहिएको र त्यसैका लागि आफूहरू सडकमा आइपुगेको वाग्लेको भनाइ थियो । 

यही अवस्थामा जनताको अभिमतलाई कुठाराघात गरेर चुनावमा जाने हो भने अहिलेको कामचलाउ प्रधानमन्त्री ओलीलाई श्रीपेच दिए हुने उनको भनाइ थियो । ‘यस्तै अवस्थामा चुनावमा जाने हो भने श्रीपेचसहितको प्रधानमन्त्री स्विकारे हुन्छ,’ उनले भने । 

नागरिक समाजमा बोल्दै सिएन थारूले अहिले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर जनताको राज खोसेको बताए । ‘जनताको सार्वभौमविरुद्ध जब–जब नेपालमा षड्यन्त्र हुन्छ, धोकाधडी हुन्छ, नेपाली जनताको अधिकार खोस्ने क्रमलाई अगाडि बढाउँदै लैजान्छ, तब–तब नागरिक अगुवाहरूको भूमिका प्रभावकारी देखिन्छ, त्यो भूमिका देखाउनुपर्ने वेला आएको छ,’ उनले भने । त्यस्तै, सडक विस्तारपीडित संघर्ष समितिको तर्फबाट बोल्दै अभियन्ता विद्या श्रेष्ठ अहिलेको प्रतिगमनसँगै सबै खाले प्रतिगमनका विरुद्ध बोल्नुपर्ने बताइन् । अपांगता समुदायको तर्फबाट बाल्दै अभियन्ता भोगराज श्रेष्ठले फेरि नागरिक जुर्मुराउने वेला आएको बताए ।

प्रज्ञा डबलीमा आयोजित नागरिक सभाका संयोजक युग पाठकले जनताको सार्वभौमसत्ता निर्माणका लागि नागरिकले पटक–पटक रगत बगाएको र त्यसबाट प्राप्त परिवर्तनलाई अँगाल्न खोजेको बताए । जनताले स्थिर सरकारको अपेक्षा गरेको उल्लेख गर्दै उनले भने, ‘तर, अचानक प्रतिनिधिसभा भंग गर्ने आदेशले हामीलाई फेरि एकपटक विधिबाट चल्छ कि चल्दैन भन्ने आशंका पैदा भएको छ । त्यसविरुद्ध आवाज बुलन्द पार्न हामी सडकमा आइपुगेका छौँ ।’