मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २८ मंगलबार २०:४४:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

गौरिका र मन्देकाजी वर्ष उत्कृष्ट खेलाडी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २८ मंगलबार २०:४४:००

पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । गौरिकाले महिला तथा मन्देकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट अवार्ड जित्न सफल भएका हुन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको स्पोर्टस् अवार्ड कार्यक्रममा गौरिकाले आफ्नो विधामा अवार्ड जित्दा तेक्वान्दोकी आयशा शाक्य, करातेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन् ।

पौडीवाज गौरिकाले गत वर्ष घरेलु भूमिमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा चारवटा स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन् । उनले १३औँ सागमा फ्रिस्टाइल तथा दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । उनले अहिलेसम्म चार स्वर्ण, दुई रजत र दुई कांस्य गरी कुल आठ पदक जितेकी थिइन् । यस्तै, उनले आठौँ राष्ट्रिय खेलकुदमा पनि सहभागी १२ वटै स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् ।

१३औँ सागमा करातेका मन्देकाजी  श्रेष्ठले टिम काता र एकल काताबाट दुई स्वर्ण पदक जितेर इतिहास रचेका थिए । उनले आठौँ राष्ट्रिय खेलकुदमा पनि टिम काताबाट एक स्वर्ण र एकलतर्फ रजत पदक जितेका थिए । यसैगरी भलिबलकी अरुणा शाहीले पिपल्स च्याइस अवार्ड जितेकी छिन् । अरुणाले अवार्ड जित्ने क्रममा कुल मतको ३८ प्रतिशत मत प्राप्त गरेकी हुन् । यस विधामा करातेका मन्देकाजी दोस्रो तथा बास्केटबलकी सदिना श्रेष्ठ तेस्रो भए । 

यसैगरी तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले स्पेसल अवार्ड जितेका छन् । आयशाले आफूलाई साँच्चै नै विशेष भएको महसुस भएको बताइन् । ‘एनएसजेएफ अवार्डले मेरो जीवनको यात्रामा केही विशेष गरेको महसुस गरेकोजस्तो लाग्यो,’ शाक्यले भनिन् । उनले अवार्ड विशेषगरी आफ्नो पति दीपक विष्टलाई समर्पण गर्ने बताइन् । शाक्य उत्कृष्ट महिला खेलाडी विधामा समेत मनोनयनमा परेकी थिइन् ।

आयशा १३औँ सागमा तेक्वान्दोमा दोहोरो स्वर्णधारी खेलाडी हुन् । उनले २९ वर्षमाथिको पुम्से विधा र सञ्जीवकुमार ओझासँगको जोडी विधामा स्वर्ण जितेकी हुन् । यस्तै एथ्लेटिक्सकी श्रेष्ठले १३औँ सागमा १० हजार मिटर म्याराथनमा स्वर्ण पदक जितेकी थिइन् । उनी एथ्लेटिक्समा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी हुन् । 

यसैगरी, पूर्वटेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । सन् १९९१ मा श्रीलंकामा भएको पाँचौँ दक्षिण एसियाली खेलकुदमा गीता र सिजरिन दुवैले नेपालका लागि स्वर्ण पदक जितेका थिए । यी दुईको यो उपलब्धि नेपाली महिलाले दक्षिण एसियाली खेलकुदमा प्राप्त गरेको पहिलो स्वर्ण पदकसमेत हो ।

यसैगरी, तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । १३औँ सागमा नेपालले तेक्वान्दोबाट सर्वाधिक १२ स्वर्ण जित्दा नवीन मुख्य प्रशिक्षकको रूपमा रहेका थिए । नवीनले अवार्ड जित्ने क्रममा करातेका मदन उप्रेती, उसुका अमर थिङ, पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापामगरलाई पछि पारे । १३औँ सागमा नेपालले तेक्वान्दोबाट सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । 

जसमा नवीन श्रेष्ठ मुख्य प्रशिक्षक थिए । सागमा नेपालबाट खेलेका सबै २९ खेलाडीले पदक जितेका थिए । यसैगरी, गल्फर सुवास तामाङ उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । १३औँ सागमा दुई स्वर्ण जितेका सुवासले वर्ष खेलाडी युवा विधाको अवार्ड जित्दा तेक्वान्दोका भुपेन श्रेष्ठ र सिना लिम्बू मादेन, जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सञ्जु चौधरीलाई पछि पारे । 

सुवासले १३औँ सागमा व्यक्तिगत र समूहमा गरी दुई स्वर्ण जितेका थिए । सुवासले नेपाललाई सागमा ऐतिहासिक स्वर्ण दिलाएका हुन् । नेपाली राष्ट्रिय महिला भलिबल टिम वर्ष २०७६ को उत्कृष्ट टिम घोषित भएको छ । गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता हात पारेको थियो । दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा एउटामा उपाधि जितेको भलिबल टिम अर्कोमा दोस्रो भएको थियो ।