१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २८ मंगलबार
  • Saturday, 05 July, 2025
२o७७ पौष २८ मंगलबार १८:o९:oo
Read Time : > 2 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिममा सुस्तायो कोरोना परीक्षण 

प्रदेशभर दैनिक पाँच हजार नमुना जाँच्ने क्षमता, औसतमा दुई–तीन सय मात्र जाँच 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २८ मंगलबार १८:o९:oo

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट गत आइतबार एउटा नमुनाको पनि कोरोना परीक्षण भएन । दैनिक एक हजार दुई सय नमुनाको पिसिआरबाट कोरोना जाँच्ने क्षमता रहेको यो प्रयोगशालामा सातायता दैनिक सयभन्दा कम नमुना जाँच भइरहेको छ । 

सोमबार ८७ र मंगलबार ९५ वटा नमुना मात्र जाँच भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । थ्रोट स्वाबका नमुनाहरू नआउँदा कोरोना जाँच सुस्ताएको उनले बताए । एक महिनाअघिसम्म सेतीमा दैनिक औसत ५–६ सय नमुना जाँच हुने गरेका थिए । स्वास्थ्य कार्यालय र स्थानीय तहहरूबाट नमुना आउन छोडेपछि अस्पतालमा परीक्षण घटेको हो ।
‘स्वास्थ्य कार्यालय र स्थानीय तहले नमुनाहरू संकलन गरेर जाँचका लागि पठाउँथे । संकलन नभएर हो कि अहिले नमुना आउनै छोडे,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘हिजोआज मुस्किलले सय नमुना पनि पुग्दैनन् । कुनै दिन कोरोना जाँचै नहुने अवस्था छ ।’ अस्पतालले आफैँले पनि उपचारका लागि आउनेमध्ये शंकास्पद बिरामीको नमुना संकलन गरेर जाँच गर्ने गर्छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा मंगलबार नौवटा नमुना मात्र जाँच भए । स्थानीय तहबाट नमुना आउन छाडेपछि कोरोना जाँच सुस्ताएको अस्पतालका ल्याब इन्चार्ज ईश्वरी भुसालले बताए । दार्चुला, बझाङ तथा डडेल्धुरासँग जोडिएका बैतडीका सीमावर्ती स्थानीय तहले नमुना संकलन गरेर परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाउने गरेका छन् ।
‘केही समययता स्थानीय तहबाट नमुना आएका छैनन् । स्वास्थ्य समस्या भएर उपचार गर्न आउने बिरामीलाई आवश्यकताअनुसार कोरोना जाँच गर्छौँ,’ उनले भने, ‘जाँचका लागि नमुना नभएपछि सार्वजनिक बिदाको दिन ल्याब बन्द गर्छौँ ।’ परीक्षण गरिने नमुनामध्ये संक्रमित फेला पर्ने दर केही घटेको स्वास्थ्यकर्मीले बताएका छन् ।
सुदूरपश्चिममा पछिल्लो समय कोरोना परीक्षण सुस्ताएको छ । संक्रमणको जोखिम नघटे पनि परीक्षण भने घट्दो छ । संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान र जाँचका लागि ‘कन्ट्याक्ट टे«सिङ’ पनि हुन छाडेको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको नै परीक्षण भइरहेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न जिल्लामा रहेका ६ वटा प्रयोगशालामा दैनिक पाँच हजारवटा नमुना जाँच्ने सुविधा छ, तर अहिले एक सय–दुई सय नमुना मात्र जाँच भइरहेका मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।
संक्रमण दर घट्नुले पनि परीक्षण घटेको उनको भनाइ छ । लक्षण देखिएका र संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरूको मात्र परीक्षण गर्ने सरकारले मापदण्ड बनाएकाले पनि परीक्षण घटेको कार्कीले बताए । कन्ट्याक्ट टे«सिङ पनि अहिले हुन छाडेको उनले बताए ।
परीक्षण घट्दै जानु र स्वास्थ्य सावधानीप्रति बेवास्ता बढ्नुले संक्रमणले विकराल रूप लिन सक्ने देखिएको स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले बताएका छन् । पछिल्लो समय सुदूरपश्चिममा खासगरी राजनीतिक दलका सभा, सम्मेलनहरू दैनिकजसो भइरहेका छन् । सयौँको सहभागितामा हुने सभा–सम्मेलनबाट संक्रमण फैलने सक्ने देखिएको छ । प्रधानमन्त्री केपी ओलीकै सहभागितामा गत साता धनगढीमा हजारौँको सहभागितामा आमसभा भएको थियो ।
मान्छेमा पनि कोरोनाप्रतिको बेवास्ता बढ्दै गएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । धनगढीमा स्वास्थ्य कार्यालय परिसरमा हेल्थ डेस्क राखेर दैनिक रूपमा नमुना संकलन कार्य भइरहे पनि नमुना दिन आउनेको संख्या घट्दै गएको उनले बताए ।
सुदूरपश्चिममा कैलाली, डोटी, डडेल्धुरा, अछाम, बझाङ, बैतडीमा पिसिआर विधिबाट कोरोना परीक्षणको सुविधा छ । करिब ३० लाख जनसंख्या रहेको सुदूरपश्चिममा हालसम्म करिब एक लाख ३४ हजार जाँच गरिएकोमा १३ हजार आठजनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई हजार तीन सयभन्दा बढी सक्रिय संक्रमित छन् भने अन्य उपचारपछि घर फर्केका छन् । हालसम्म यो प्रदेशमा कोरोना संक्रमित ५३ जनाको मृत्यु भएको छ ।