मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ पौष २८ मंगलबार १२:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जोखिम भत्ता नपाएपछि आकस्मिकबाहेकका सेवा बन्द गरेर बाराका स्वास्थ्यकर्मी आन्दोलित

Read Time : > 1 मिनेट
२०७७ पौष २८ मंगलबार १२:२३:००

सरकारले कोभिड– १९ को महामारीको समयमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम भत्ता दिने निर्णय गरे पनि अधिकांशले हालसम्म भत्ता नपाएको बताएका छन् । 

विगत लामो समयदेखिको कलैया अस्पतालमा खटिने कुनै स्वास्थ्यकर्मी र चिकित्सकले अस्पताल प्रशासनको आलटाल र लापरबाही कारण जोखिम भता हालसम्म नपाएको बताएका हुन् । 

पटक–पटक अस्पताल प्रशासनलाई जोखिम भत्ता उपलब्ध गराइदिन हारगुहार गरे पनि अहिलेसम्म अस्पतालले चासो नदेखाएको गुनासो उनीहरूको छ । 

उच्च जोखिमको समयमा लामो समयसम्म घरपरिवारलाई छाडेर महामारीमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सक हालसम्म पनि जोखिम भत्ता नपाएपछि चिन्तित भएका छन् । 

उनीहरूका अनुसार महामारीमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकहरूको समस्यामा अस्पताल प्रशासनले खासै चासो नदेखाएको र जोखिम भत्ता पनि समयमा उपलब्ध नगराएको अवस्था छ । 

जोखिम भत्ता नपाएपछि शान्तिपूर्ण धर्ना सुरु
महामारीमा खटिएकाहरूको जोखिम भत्ता अस्पतालमा आएको केही महिना भइसक्दा पनि अस्पतालले हालसम्म चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई उपलब्ध नगराएको अवस्था छ । 

अस्पतालका स्वस्थ्यकर्मीहरूले पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन भने पनि अस्पताल प्रशासनले वास्ता नगरेपछि मंगलबारदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताएका छन् । 

कोरोना संक्रमण देखिएको समयदेखि हालसम्म खटिएका कर्मचारीहरूको जोखिम भत्ता नपाएको अस्पतालका चिकित्सकहरूले बताएका छन् ।  

पटक–पटक अस्पताल प्रशासनलाई जोखिम भत्ता उपलब्ध गराउनका लागि आग्रह गरिए पनि हालसम्म उपलब्ध नभएको कलैया अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा. रविरोशन गुप्ताले बताए । 

महामारीमा ज्यानलाई जोखिममा राखेर काम गरिए पनि जोखिम भत्ता समयमा नपाउँदा काम गर्ने मनोबल खसेको उनले बताए । उनका अनुसार सरकारी काममा नीति, प्रक्रियाका अनुसार पनि जोखिम भत्ता पाउन समस्या हुने गरेको छ । 

जोखिम भत्ता पाउनका लागि लामो समयदेखि कुर्दै बसेका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई पहिलो चरणमा उपलब्ध गराउन उनले माग गरे । 

अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकले महामारीको समयमा फ्रन्टलाइनमा बसेर बिरामी हेर्नुपर्ने जिम्मेवारी भए पनि हालसम्म कोरोना जोखिम भत्ता पाएका छैनन् । 

अस्पताल प्रशासनमा जोखिम भत्ताका लागि बुझ्न जाँदा प्रक्रिया अगाडि बढेको र केही समयमा पाउने आश्वासन दिँदै आएको उनले बताए । संक्रमणमा खटेर आन्दोलन नगरेसम्म अस्पतालले वास्ता गर्दैन, त्यसकारण बाध्य भएर आन्दोलन थालिएको उनको भनाइ छ । 

रकम नआउँदा वितरण भएन
महामारीको समयमा लामो समयदेखि कार्यरत रहेका स्वास्थ्यकर्मीहरू र चिकित्सकलाई अस्पतालको मुख्य लापरबाहीका कारण हालसम्म जोखिम भत्ता वितरण नभएको आन्दोलनमा सहभागी चिकित्सकले बताएका छन् । 

उनीहरूका अनुसार अस्पताल प्रशासन, अस्पतालका मेडिकल सुपरिडेन्ट, अस्पताल विकास समितिको मुख्य लापरबाही कारण जोखिम भत्ता हालसम्म वितरण नभएको हो । 

स्वास्थ्य मन्त्रालयले गत वैशाखमा जारी गरेको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिकाअनुसार फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, सफाइकर्मीलाई तलबको केही प्रतिशत जोखिम भत्ता दिइने भनिएको छ । 

तर, जिल्लाका ठूला अस्पतालकै जनशक्तिले हालसम्म जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । महामारीको समयमा खटिएका कर्मचारीहरूलाई जोखिम भत्ता माथिल्लो निकायबाट नआएकाले हालसम्म वितरण नगरिएको कलैया अस्पतालका मेडिकल सुपरिडेन्ट डा. सुनिलप्रसाद कुशवाहले बताए । 

उनका अनुसार महामारीमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सहरूलाई कुन आधारमा, कतिको दरले दिने निर्णय नभएको र भत्ता नै अस्पतालमा नआएकाले ढिलाइ भएको उनको भनाइ छ । 

यस्तै, बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले अस्पतालमा भत्ता नपाएको भन्दै कर्मचारी धर्नामा बसेको जानकारी आएकाले यसबारे बुझ्ने काम सुरु गरिएको बताए । 

उनले कोरोनाको समयमा रहेका मेडिकल सुपरिडेन्ट परिवर्तन भएकाले समस्या भएको छ, अस्पतालमा भर्खरै सम्पर्क गरेर जोखिम भत्ता वितरण गरेर समस्या समाधानका लागि चासो लिने बताए ।