कोरोनाको खोप खरिद पारदर्शी र वितरण न्यायपूर्ण हुन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने भन्दै आश्वस्त पार्न खोजेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका हुन् । खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको बताए । खोप आयात भएको सात दिनभित्रमा वितरण सुरु भइसक्ने पनि उनको भनाइ छ । खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरूलाई परिचालन गरिने उनले बताए । यस्तै पाँच हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने पनि उनले जानकारी दिए ।
भुटानी शरणार्थी शिविरमा आगलागी, जलेर एकको मृत्यु
भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक शरणार्थी वृद्धको मृत्यु भएको छ । दमक– ३ स्थित भुटानी शरणार्थी शिविर डी– ४ छाप्रो नम्बर ३२५ मा आगो लागेको हो । आगलागीमा परी ६० वर्षीय शरणार्थी देशमान राईको मृत्यु भएको छ । आगलागी हुँदा उनको छाप्रो पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । आगो इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी र दमक नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो ।
निर्वाचन प्रक्रिया रोक्न माग गर्दै प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा
नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया रोक्न आग्रह गरेको छ । सरकारले गत ५ पुसमा संघीय प्रतिनिधिसभा विघटन गरेर आउँदो वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेको थियो । त्यसयता नेकपाको प्रचण्ड–नेपाल समूह यसको विरोधमा छ । साथै यसबारेमा सर्वाेच्चको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ । आज सोमबार नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितको टोली निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया रोक्न माग गरेका हुन् ।
करिब एक दशकदेखि गुमनाम रहँदै आएको सिंहदरबारभित्रको (स्टेट हल) ग्यालरी भवन पुनर्निर्माणको कार्य अघि बढाइएको छ । कुनै जमाना राणाहरूले विशिष्ट पाहुनाहरूको स्वागतका लागि प्रयोगमा आउने यस स्टेट हललाई पुनर्निर्माण गरी पुरानै शैलीमा फर्काउन लागिएको हो । १२ वैशाख ०७२ सालको भूकम्प र त्यसपछिको परकम्पले झनै जीर्ण बनेको यस स्टेट हललाई पुनर्निर्माण प्राधिकरणले पहिलाकै अवस्थामा फर्काउने र विशेष कार्यकक्ष बनाउने प्राधिकरणको तयारी रहेको छ ।
कोरोना भाइरस उत्पत्तिको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका विज्ञ आगामी बिहीबार चीन आइपुग्ने
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का दशजना वैज्ञानिक कोभिड– १९ को उत्पत्तिबारे अनुसन्धान गर्न बिहीबार चीन आइपुग्दै छन् । चीनले कोरोना भाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका वेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्ल्युएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो । कोरोना भाइरस संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्व रहेको छ । कोभिड– १९ बाट हालसम्म करिब २० लाखजनाको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको छ ।
कुनै पनि रोगको जोखिम व्यक्तिको प्रतिरोधी क्षमतामा निर्भर रहन्छ । प्रतिरोधी क्षमता भने व्यक्तिको खानपान र जीवनशैलीमा निर्भर रहन्छ । यही कारण स्वस्थ खानपिन र जीवनशैली अपनाउने व्यक्तिलाई रोग नलाग्ने र लागे उसलाई तुलनात्मक रूपमा छिटो निको हुने हुन्छ । यही कारण कोभिड संक्रमणले पनि सबै व्यक्तिमा एकै तवरले असर नगरेको हो । संक्रमणको जोखिम व्यक्तिको स्वास्थ्य अवस्थाअनुसार फरक–फरक हुने गर्छ । मार्च महिनाको सुरुमा बेलायतले विभिन्न अस्पतालका भर्ना भएका व्यक्तिमा भिटामिन डीले शरीरमा पार्ने प्रभाव र कोभिडसँगको सम्बन्धबारे अनुसन्धान गरेको थियो । सो अध्ययनअनुसार शरीरमा भिटामिन डी पर्याप्त भएका, छालाको तल्लो भाग जसले सूर्यको किरणबाट भिटामिन डी अवशोषित गरेका व्यक्तिको प्रतिरक्षा र पाचन प्रणाली राम्रो भएको र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम कम देखिएको छ ।
ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको बताएका छन् । सोमबार काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताएका हुन् । ओलीको कम्युनिस्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी संगठनलाई भताभुंग पार्न चाहेको बताए । प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताप्रति कुनै अपनत्व नभएको उनको भनाइ छ ।
पछिल्लो २४ घन्टामा ४८८ संक्रमित थपिए, १० को निधन
पछिल्लो २४ घन्टामा थप चार सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुने संख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ । यस्तै, पछिल्लो २४ घन्टामा पाँच सय २७ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ५८ हजार नौ सय ६८ पुगेको छ । अहिले देशभरि सक्रिय संक्रमितको संख्या भने चार हजार तीन सय ७३ छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १० जनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९ सय २७ पुगेको छ।
इन्डोनेसियाली विमान दुर्घटना : श्रीमान् सकुशल नै भेटिन्छन् कि भन्ने आशामा छिन् सुशीलावती
इन्डोनेसियाको श्रीविजय विमान दुर्घटनामा परेको आज तीन दिन भएको छ । यद्यपि, इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार केन्द्रले दुर्घटनामा परेकाहरूको खोजी कार्य निरन्तर गरिरहेको छ, जसमा ६२ जना सवार थिए । उक्त विमान शनिबार उडान भरेको केही समयमै समुद्रमा खसेको थियो । दुर्घटनामा परेको बोइङ ७३७–५०० मा ५० जना यात्रु मात्रै थिए । ४३ जना बयस्क र सातजना बालबालिका थिए । विमानचालक दलका १२ सदस्य थिए । यो दुःखद घटनामा गर्भवती महिला, उनका दुई वर्षीय नानी, पाँचजनाको परिवारदेखि आफ्नो पिताको अन्तिम संस्कारमा सहभागी भएर फर्किएका दम्पतीसम्म परेका छन् । उनीहरू सबैको मृत्यु भइसकेको अनुमान गरिएको छ ।
भारतका नौ राज्यमा फैलियो बर्ड फ्लु, अन्य राज्य पनि जोखिममा
भारतका विभिन्न राज्यमा एभियन इन्फुएन्जा अर्थात् बर्ड फ्लु फैलिएको छ । यो संक्रमण कम्तीमा पनि नौ राज्यमा पुगिसकेको सरकारी अधिकारी तथा समाचार एजेन्सीहरूले जनाएका छन् । पछिल्लोपटक भारतको केन्द्रीय राजधानी नयाँदिल्ली र महाराष्ट्रको पश्चिमी भेगमा पनि बर्ड फ्लु देखिएको सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । यसैबीच दिल्ली आसपासमा दुई सयभन्दा बढी चरा ( धेरैजसो काग) मृत अवस्थामा भेटिएपछि नयाँदिल्लीस्थित घाजीपुर होलसेल पोल्ट्री मार्केट प्रशासनले बन्द गरेको छ । यो बजार यस क्षेत्रको सबैभन्दा ठूलो हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्ने गरी अनुमति मिलेको छ । हाउस अफ रिप्रेजेन्टिभ (एचओआर) की अध्यक्ष नेन्सी पेलोसीले आइतबार महाअभियोगको प्रस्ताव ल्याउन अनुमति दिएकी हुन् । गत ७ जनवरीमा ट्रम्पका समर्थकले क्यापिटल भवनस्थित अमेरिकी संसद्मा प्रवेश गर्दै उपद्रो मच्चाएका थिए । सो भिडलाई ट्रम्पले भड्काएको र हिंसाप्रेरित अभिव्यक्ति दिएको आरोप छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले धाँधली गरेको अभिव्यक्ति दिएपछि समर्थक उत्तेजित भएका थिए । हजारौँको संख्यामा उपस्थित ट्रम्प समर्थकले क्यापिटल भवनमा हिंसात्मक गतिविधि गरेका थिए । हिंसात्मक गतिविधि नियन्त्रणमा लिन प्रहरीले गरेको कारबाहीमा सातजनाको निधन भएको थियो । सोही घटनामा मुख्य जिम्मेवार मानिएको ट्रम्पमाथि महाअभियोग लगाएर २० जनवरीअघि नै पदबाट बर्खास्त गर्न लागेको अमेरिकी समाचार संस्थाहरूले जनाएका छन् । २० जनवरीमा ४६औँ अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथग्रहण हुँदैछ । अमेरिकाको संविधान २५औँ संशोधनले कुनै पनि राष्ट्रपतिलाई हटाउन सकिने प्रावधान राखेको छ ।