पुस्तक छाप्नुअघि सम्पादन, प्रकाशनलगायतको खर्च भन्दै नयाँ लेखक, साहित्यकारसँग दुई लाखसम्म असुल्ने प्रकाशकले पुस्तक बिक्रीको र रोयल्टीबापतको पैसासमेत दिँदैनन्
‘प्रकाशकसँग मेरो केही सम्झौता भएको थिएन, कति किताब गयो भन्ने पनि छैन । पुरस्कार रकमबाहेक किताब बिक्रीको पैसाले एक छाक भात पनि खाएको छैन,’ गत वर्ष ‘महारानी’ उपन्यासबाट मदन पुरस्कार जितेका लेखक चन्द्रप्रकाश बानियाँले पोखरामा सम्पन्न नवौं नेपाल लिटरेचर फेस्टिभलमा भनेका कुरा हुन् यी । उनले अगाडि थपे ‘अझ म स्थापित लेखक होइन, म प्रकाशक खोज्दै गएँ ।’
नेपालमा मदन पुरस्कार पाएका लेखक साहित्यकार रातारात सेलिब्रेटीमा दरिन्छन् । चर्चा, परिचर्चा सुरु हुन्छ । पुस्तक बिक्री पनि ह्वात्तै बढ्ने गरेको प्रकाशकहरूबाटै सुनिन्छ । मदन पुरस्कारको सूची सार्वजनिक हुनसाथ कसले पाउला भनेर अड्कल काट्नेको जमात पनि उत्तिकै हुन्छ । तर, बानियाँले आफूले पुस्तक बिक्रीको पैसाले एक छाक पनि भात नखाएको बताउँदा सबै पाठक तथा लेखकहरू छक्क परे । यसबारे बानियाँसँग सम्पर्क गर्दा उनले भने, ‘प्रकाशकले पैसाको जोरजाम गर्दै हुनुहुन्छ होला । तर, अहिलेसम्म एक सुको पनि रोयल्टी पाएको छैन ।’
बानियाँले पुस्तकमा कति रोयल्टी पाउने भनेर कुनै सम्झौता नै नगरेको पनि खुलाए । प्रकाशकले जे जसरी छाप्छन्, छापून् भनेर पुस्तकको ‘वर्ड फाइल’ दिएको बानियाँको भनाइ छ । उनले भने, ‘म साहित्य बजारमा चिनिएको मान्छे होइन । त्यसो भएकाले पनि घाटा पर्दैन भने बेच्नुस् भनेर दिएको थिएँ । कति रोयल्टी पाउने भनेर सम्झौता पनि केही गरेको थिइनँ ।’
यसबारे शिखा पब्लिकेसनका प्रकाशक पुष्पराज पौडेलसँग सम्पर्क गर्दा उनले भने, ‘किताबको पैसाबाट पो भात नखानुभएको होला । पैसा त पाउनुभएको होला नि ।’ सम्झौता नै नभएको र के आधारले ‘महारानी’ छापिएको हो त भन्ने प्रश्नमा पौडेलले भने, ‘सबै पुस्तकको सम्झौता हुँदैन ।’
अधिकांश पुस्तक प्रकाशन गर्नुअघि सम्झौता हुने, लेखकले कति प्रतिशत रोयल्टी पाउने भन्ने स्पष्ट हुने गर्दछ । कानुनतः सम्झौता गर्नैपर्छ प्रकाशकले लेखकसँग । सम्झौता नै नगरी कुनै व्यावसायिक प्रकाशकले कुनै पुस्तक छाप्छ भने त्यो गैरकानुनी काम हो । कानुनको धज्जी उडाइएको हो । लेखकलाई अन्याय गरिएको हो । तर, लेखकसँग सम्झौता नै नगरी पुस्तक प्रकाशन गर्ने पौडेल एक्ला भने होइनन् ।
बुलबुल नामक प्रकाशन गृहले त सम्झौता नगर्ने मात्र होइन, लेखकसँग पैसा असुलेर किताब छाप्ने धन्दै चलाइरहेको पाइएको छ । युवा लेखक प्रयास दुमी राईले उपन्यास ‘प्रान्जल’ बजारमा ल्याएको दुई वर्ष भइसक्यो । तर, अहिलेसम्म एक रुपैयाँ रोयल्टी पाएका छैनन् । कागजी सम्झौता पनि गरेका छैनन् । राईका अनुसार मौखिक सम्झौता भएको छ ।
जसअनुसार बुलबुल पब्लिकेसनका प्रकाशक अच्युत घिमिरेले तीन वर्षपछि रोयल्टीको हिसाब गर्ने सम्झौता गरेका थिए । तर, सम्झौताको कागज छैन । अब कसरी रोयल्टीको दाबी गर्ने ? आफू अन्योलमा परेको लेखक राई बताउँछन् ।
पुस्तकको सबै लगानी आफ्नै भएको उनी सुनाउँछन् ।
भन्छन्, ‘दुई लाखमा सम्झौता भएको थियो । तर, मैले एक लाख असी हजार मात्र दिएँ ।’ पहिलोपटक भएकाले पनि राम्रोसँग नसोची, बजार नबुझी ऋण काढेर पैसा दिएको उनको भनाइ छ । ‘सबै पैसा मैले लगानी गरेँ । त्यसमा पनि ४० प्रतिशत रोयल्टी दिने बताएका थिए । र, दोस्रो संस्करणको बीस प्रतिशत दिने बताएका थिए,’ राई सुनाउँछन्, ‘तर, अहिले केही हिसाब छैन । मौखिक रूपमा सहमति भएकाले कानुनको सहारा लिने ठाउँ पनि छैन ।’
गत महिना युवा लेखक प्रशान्त शर्माको उपन्यास ‘रूखहरूको मृत्यु’ बजारमा आयो । यो उपन्यास पनि बुलबुल पब्लिकेसनबाटै प्रकाशित भएको हो । यसका लागि गत साउनमै शर्माले एक लाख बीस हजार रुपैयाँ तिरेका थिए । शर्मा भन्छन्, ‘अहिले हजुरआमा अस्पतालको आइसियूमा हुनुहुन्छ । प्रकाशकसँग मौखिक सम्झौता भएकाले बोल्न पनि गाह्रो छ । मैले त लगभग आसै मारिसकेँ ।’
गत २४ असोजमा पुस्तक बजारमा ल्याइदिने भनेका थिए अच्युत घिमिरेले । पैसा पनि बुझाइसकेका थिए । तर, पुस्तक आउने समयमा न प्रकाशक घिमिरेले फोन उठाए, न म्यासेजको रिप्लाई दिए । शर्मा गुनासो गर्छन्, ‘पैसा नदिँदासम्म फोन आउँछ, कुराकानी हुन्छ । पैसा दिइसकेपछि न भेट्न सकिन्छ, न त कुराकानी हुन्छ । भेटै नभएपछि कसरी आफ्नो कुरा राख्ने र !’ मौखिक कुराकानीका क्रममा घिमिरेले शर्मालाई पुस्तक ६२–६३ जिल्लामा पुग्ने, प्रमोसन गरिदिने बताएका थिए ।
तर, पुस्तक बल्लतल्ल गत महिना आयो, तर बजारमा भेटिँदैन । ‘सम्झौताविनै बुलबुलले झन्डै ६० जना लेखकको ७०/८० किताब निकालिसकेको रहेछ । तर, सबैसँग पैसा लिएर । एक दुईजनाबाहेक सबैलाई ठगेको रहेछ,’ शर्माले भने, ‘अच्युत घिमिरे नाम चलेको भनेर त्यता गइयो । तर, अन्तिममा फसियो । रोयल्टीको हिसाब तीन वर्षपछि गरौँला भनेका छन् । तर, तीन वर्ष भनेको थोरै समय होइन नि !’
गत वर्ष ‘साढे तीन हत्या’ नामक उपन्यास बुलबुलबाटै बजारमा ल्याएका रूपक अधिकारी भन्छन्, ‘हामी त फस्यौँ फस्यौंँ । अरू नयाँ लेखकहरू नफसून् । ऋण काढेको पैसा कसैले नखाऊन् ।’ उनले एक लाख साठी हजार रुपैयाँ घिमिरेलाई दिएका थिए । भन्छन्, ‘अनि रोयल्टी ४० प्रतिशत भन्छन् । सबै पैसा हामीले नै लगाएपछि सय प्रतिशत नै लेखकको हुनुपर्ने हैन र ?’ अधिकारीसँग सुरुमा घिमिरेले एक लाख असी हजार रुपैयाँ मागेका थिए ।
पछि सम्पादन हुँदा किताब सानो भयो । त्यसपछि एक लाख साठी हजार रुपैयाँमै मानेको बताउँछन् अधिकारी । उनीसँग पनि सम्झौताको कागज छैन । तीन वर्ष कुर्न लगाएका छन् रोयल्टीका लागि । अधिकारी भन्छन्, ‘तीन वर्षभन्दा अगाडि हामी दिँदैनौँ भनेका छन् । तर, तीन वर्षपछि पनि के देलान् र । बरु झोलामा बोकेर, आफैँ दौडेर एक डेढ सय किताब आफैँले बेचेँ ।’
बुलबुल पब्लिकेसनका प्रकाशक अच्युत घिमिरेले पैसा लिएरै पुस्तक छापेको स्वीकारे । उनले भने, ‘पैसा लिएकै हो । तर, किताबको साइजअनुसार सम्पादन, प्रकाशनलगायतको खर्च जोडेर लिएको हुँ । त्योभन्दा बढी लिएको छैन । रोयल्टीको कुरा गर्दा हरेकलाई तीन वर्ष पुगेपछि रोयल्टी दिएको छु ।’ उनका अनुसार सम्झौताचाहिँ कतिपय अवस्थामा मौखिक भएका छन् । अनि हामीले प्रश्न गर्यौँ, त्यो त गैरकानुनी हो नि ? उनले भने, ‘हो, गैरकानुनी हो । तर, दुवै पक्षको विश्वास भयो भने सम्झौता हुन्छ । मैले चालीस प्रतिशत वितरकलाई, चालीस प्रतिशत लेखकलाई हुने गरी रोयल्टी दिने भनेको हुँ ।’
आफूले तीन वर्ष पुगेका सबै लेखकलाई रोयल्टी दिएको दाबी घिमिरेको छ । उनले भने, ‘तीन वर्षपछि बिकेको पुस्तकको रोयल्टी दिन्छु । नबिकेको पुस्तक उहाँहरूलाई नै फिर्ता गरिदिन्छु । चलेको लेखकको पो छाप्छ त प्रकाशकले । नचलेको लेखकले त खर्चै गर्ने हो । मैले त्यो खर्चलाई व्यवस्थापन मात्र गरिदिएको हुँ ।’ सम्झौता नभएकाले र यसलाई लिएर लेखकहरूले झिँजो मानेकाले लकडाउनपछि आफूले सबैसँग सम्झौता गर्ने गरेको बताए । तर, लकडाउनपछि आएको शर्माको उपन्यास ‘रूखहरूको मृत्यु’ माथि पनि बुलबुल पब्लिकेसनले सम्झौता गरेको छैन ।