मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २३ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २३ बिहीबार २२:oo:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिहीबार दिनभरका मुख्य खबर

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २३ बिहीबार २२:oo:oo

चिसोबाट जोगिन बालिएको घुरबाट भएको आगलागीमा परी सिराहामा एक महिनाभित्र दुईको मृत्यु

चिसोबाट जोगिन बालेको आगोले आगलागी हुँदा एक महिनाको अवधिमा सिराहामा दुईजनाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका ७ मौरहा टोलका बुधबार एक घरमा आगलागी हुँदा आठ वर्षीय बालकको मृत्यु भएको छ । चिसोबाट जोगिन घरमा घुर बालेर मो.रफिक राइन परिवारसहित काममा गएका थिए । सोही वेला घरमा आगलागी भएपछि घरमै सुतिरहेका राइनका आठ वर्षीय छोरा जाबिर राइनको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको  छ ।

उपभोक्ता भन्छन्– झ्याप–झ्याप बिजुली जान थाल्यो, प्राधिकरण भन्छ– गत वर्षभन्दा ट्रिपिङ घट्यो

सर्वसाधारण उपभोक्ताले पछिल्ला दिनमा जतिवेला पनि झ्याप–झ्याप बिजुली जान गरेको बताइरहेका वेला नेपाल विद्युत्  प्राधिरणले भने लोडसेडिङ गर्दै नगरेको प्रतिक्रिया दिएको छ । अझ प्राधिकरणले गत वर्षभन्दा बढी सुधार गरेका दाबी गरेको छ । तर, उपभोक्ताले भने गत वर्षभन्दा यस वर्ष पटक–पटक बिजुली जाने गरेको गुनासो सामाजिक सञ्जालदेखि चियापसलसम्म गर्ने क्रम बढेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत् छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको दाबी गरेको छ । 

भेरी नदीमा बस खस्दा एकको मृत्यु, एक घाइते, एक बेपत्ता [अपडेट]

सुर्खेत गुर्भाकोट नगरपालिका– ९ गराले बजारनजिकै भएको बस दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बेपत्ता र एक गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । दाङबाट रिजर्भ लिन जाजरकोटको सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको थियो ।

प्रहरीका नौ डिआइजीको बढुवा र पदस्थापन, प्रवक्तामा प्रकाश अधिकारी

नेपाल प्रहरीमा नौजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा र पदस्थापन भएको छ । बढुवा भएका नौजनाले नै बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । बढुवा भएकामध्ये रामकृपाल शाहले साइबर ब्युरोको इन्चार्जको जिम्मेवारी पाएका छन् । महानगरीय प्रहरी कार्यालयमा उमेश रञ्जितकार, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा डा. देवबहादुर बोहरा, प्रहरी महानिरीक्षकको सचिवालयमा प्रकाश अधिकारी, योजना, अन्वेषण तथा विकास निर्देशनालयमा मुकुन्द आचार्य, प्रदेश समन्वय निर्देशनालयमा गणेश ऐरको पदस्थापन भएको छ । प्रहरी प्रवक्ताको समेत जिम्मेवारी दिने गरी प्रकाश अधिकारीको सचिवालयमा पदस्थापन भएको हो । त्यस्तै, दिवेश लोहनी र राजेशलाल कर्णको कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ । पुरुषाेत्तम कँडेलको प्रशासन तथा मानव स्रोत विकास विभागमा पदस्थापन भएको छ । 

नाम विवादले दशकसम्म बनेन प्रदेशस्तरीय रंगशाला

प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रअन्तर्गत झापाको कमल गाउँपालिकामा निर्माण हुने भनिएको करोडौँको एउटा योजना दशकदेखि अलपत्र छ । ओलीकै प्रत्यक्ष हस्तक्षेपमा योजनाको नाम परिवर्तन भएपछि १० वर्षदेखि अलपत्र परेको हो । कमल–५ मा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय सुविधासहित १२ हजार मान्छे अँट्न सक्ने प्रदेशस्तरको रंगशाला नाम परिवर्तन भएकै कारण अलपत्र परेको हो । 

नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९ सय नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप चारजनाको निधन भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ सय तीन पुगेको हो । यो अवधिमा थप चार सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पाँच हजार एक सय ३२ जनाको पिसिआर परीक्षण गर्दा चार सय १२ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर संक्रमितको संख्या दुई लाख ६३ हजार ६ सय पाँच पुगेको छ भने सक्रिय संक्रमितको संख्या पाँच हजार ५८ रहेको छ । त्यस्तै, २४ घन्टामा चार सय ८३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।

राष्ट्रिय सभा बैठकमा वामदेव गौतमले भने- फेरि एकता गराउन सकिन्छ कि भनेर एक्लै लागिरहेकाे छु [भिडियाेसहित]

नेकपा नेता वामदेव गौतमले पार्टी विभाजनको औचित्य नदेखेको बताएका छन् । आज आफू दुव पक्षमा नलागेको उनको भनाई थियो । दुवै पक्षमा गल्ती कमजोरी देखेको उनले बताए । ‘फेरि एकता गराउन सकिन्छ कि भनेर लागिरहेकाे छु । एक्लै एकताको माहोल बनाउन सकिन्न कि भनेर संगठनात्मक संरचना निर्माण गरेर पनि जाने पक्षमा छु’ उनले भने, ‘र मलाई लाग्छ, पार्टीको बिचमा एकता अपरिहार्य छ, बुझ्न सकियो भने । दुवै पक्षका नेता यसरी उभिनु भएको छ कि समाजवादी सभ्यता निर्माण गर्छु भन्नेहरुलाई लाज लाग्नेगरी उत्रनुभएको छ ।’

अविश्वास प्रस्ताव र प्रतिनिधिसभा विघटनबारे थाहा थिएन : गौतम

नेकपा नेता वामदेव गौतमले अविश्वास प्रस्ताव र प्रतिनिधिसभा विघटन दुवैबारे आफूलाई थाहा नदिएको बताएका छन् । राष्ट्रियसभामा बोल्दै उनले अविश्वास प्रस्ताव र प्रतिनिधिसभा विघटनबारे जानकारी नदिएको उनको भनाइ थियो । उनले भने, ‘मैले अविश्वासको प्रस्तावको माध्यमबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने काम होला भन्ने मैले सोचेको थिइन ।’

केपीजीले मलाई खेद्नुभयो, पीडा पाेख्ने ठाउँ पाइनँ : माधव नेपाल

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूलाई पार्टी एक रहँदाका अध्यक्ष केपी ओलीले खेदेको खेदै गरेको बताएका छन् । देश डुब्न लाग्यो भन्ने संसदमा दिएको अभिव्यक्तिपछि ओलीले खेदेको उनले बताए ।

बेलायतले जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगरे पनि जेलमै राख्ने

सन् २०१० मा अमेरिकाको गोप्य सूचना सार्वजनिक गरेपछि विश्वभर चर्चामा आएका विकिलिक्सका सञ्चालक जुलियन असान्ज अझै बेलायतकै जेलमा रहने भएका छन् । पछिल्लो समय अमेरिकाले उनलाई फिर्ता ल्याएर कारबाही अघि बढाउने तयारीसहित कानुनी प्रक्रिया सुरु गरेको थियो । यद्यपि, उक्त प्रयासमा बेलायतको एक अदालतले असान्जलाई अमेरिका फर्काउनु सुरक्षित नरहेको निर्णय सुनाएको छ । वेस्टमिस्टर म्याजिस्ट्रेट कोर्टका न्यायाधीश भेनेस्सा बारइटसरको यो निर्णयसँगै उनी अझै बेलायतको जेलमै रहने भएका हुन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पका सबै समाजिक सञ्जाल २४ घन्टाका लागि ब्लक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्ने सबै सामाजिक सञ्जाल (ट्वीटर, इन्स्टाग्राम र फेसबुक) २४ घन्टाका लागि ब्लक भएका छन् । ट्रम्पले ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा हिंसा भड्काउने गरी पोस्ट गरेको र त्यसपछि अमेरिकी संसदमाथि नै आक्रमण भएको आरोपमा सामाजिक संजालसँग सम्बन्धित निकायले उनले प्रयोग गर्दै आएको फेसबुक, ट्वीटर र इन्सटाग्राम बन्द गरेका हो । सोसल मिडिया साइट्सले यसलाई विवादास्पद र नियम विपरित बताएका छन् । यस किसिमको भिडियो पोस्ट गर्दा हिंसात्मक गतिविधि बढ्ने सम्भावना भएको सोसल मिडिया साइट्सको दावी छ । 

अमेरिकी संसद् भवनमा हमला : ट्रम्पमाथि ‘सत्ताविद्रोह’को आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसद् भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसद्को संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद् भवनमा हमला गरेका थिए। ट्रम्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ । 

अमेरिकी सांसदहरूद्वारा उपराष्ट्रपति माइक पेन्ससमक्ष राष्ट्रपति ट्रम्पलाई हटाउन माग

अमेरिकाका केही सांसदहरूले उपराष्ट्रपति माइक पेन्ससमक्ष राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ताबाट हटाउन माग गरेका छन् । अमेरिकाको क्यापिटोल हिलमा बुधबार भएको ध्वंसात्मक क्रियाकलापमा राष्ट्रपति ट्रम्पले उक्साएको आरोप लगाउँदै डेमोक्रेटका सांसदहरूले यस्तो माग गरेका हुन् । डेमोक्रेट सांसद डेबिड सिसिलिनले हाउस ज्युडिसियरी कमिटीलाई लेखेको पत्रमा उपराष्ट्रपति पेन्सले संविधानको धारा २५ प्रयोग गर्दै क्यापिटोल हिलमा भएको घटनापछि राष्ट्रपतिलाई हटाउन सक्ने उल्लेख छ । पत्रमा भनिएको छ, ‘जतिवेला तपाईं सिनेटको अध्यक्षता गरिरहनु भएको थियो त्यसवेला राष्ट्रपति ट्रम्पका समर्थकले युएस क्यापिटोल हिलमा सिनेटमाथि आक्रमणको कोसिस गरे । सिटेनमा अवैध घुसपैठ भयो । यो सबै निर्वाचित राष्ट्रपति जो बाइडेनलाई रोक्नका लागि भएको थियो ।’ उनले यी सबै विद्रोहीहरूलाई राष्ट्रपति ट्रम्पले उक्साएको, सार्वजनिक सम्पत्ति नोक्सान पुर्‍याएको, निर्वाचित सांसदको ज्यान जोखिममा पारेको र हाउस अफ सिनेट कब्जा गर्दै लोकतन्त्रको हत्या गर्ने कोसिस भएको आरोप लगाएका छन् ।