मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २० सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २० सोमबार २२:oo:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सोमबार दिनभरका १० मुख्य खबर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २० सोमबार २२:oo:oo

इन्जिनियरिङतर्फ छात्रवृत्ति वितरण व्यवस्थित बनाउन सरकारी उपेक्षा, बर्सेनि नौ सय कोटा दुरुपयोग

सरकारको बेवास्ताका कारण इन्जिनियरिङतर्फ बर्सेनि निःशुल्क छात्रवृत्तिका करिब नौ सय कोटा दुरुपयोग भइरहेका छन् । इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरेका निजी शैक्षिक संस्थाबाट प्राप्त हुने छात्रवृत्ति छात्रा, गरिब, जेहेन्दार र पिछडिएका समुदायलाई समावेशी रूपमा वितरण हुनुपर्ने छात्रवृत्ति ऐनको व्यवस्था छ । तर, सरकारकै बेवास्ताका कारण अवसर पाउनुपर्ने समूह छात्रवृत्तिबाट वञ्चित छन् ।

सरकारले इन्जिनियरिङलगायत प्राविधिक विषयमा छात्रवृत्तिलाई केन्द्रीकृत नगर्दा यस्तो अवस्था आएको हो । जब कि, चिकित्सा शिक्षातर्फका छात्रवृत्ति मन्त्रालयमार्फत वितरण हुन्छन् । र, लक्षित वर्गले पनि पाइरहेका छन् ।

प्रहरीलाई कमसल कपडा : ठेकेदार मुन्काको अर्काे ठेक्कामा पनि बदमासी

किर्ते रिपोर्ट पेस गरेर प्रहरीलाई ठग्न खोजेको आरोपमा पक्राउ परेका ठेकेदार पीताम्बर मुन्काले फेरि पनि नेपाल प्रहरीलाई कमसल सामान बेच्न खोजेको पुष्टि भएको छ । उनले नेपाल प्रहरीलाई आपूर्ति गरेको एक लाख २० हजार मिटर कटनको कपडा गुणस्तर परीक्षणमा फेल भएको छ । 

मुन्काले पूजा ट्रेडिङ नामक कम्पनीमार्फत प्रहरीमा ठेक्का हालेका थिए । सस्तो दररेट पेस गरेकाले उनकै कम्पनीले ठेक्का पाएको थियो । तर, उनले आपूर्ति गरेको सामान सम्झौताअनुसारको गुणस्तरीय नभएको रिपोर्ट आएको छ । गुणस्तरमा फेल भएपछि उनको कपडा फिर्ता पठाउने प्रहरी तयारी छ । ‘आपूर्ति भएको कपडा ल्याब टेस्टमा फेल भएको छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने, ‘उनको धरौटी जफत गरी प्रहरीले कानुनी प्रक्रिया अघि बढाउँछ ।’ 

चितवनमा एकै समयमा नेकपा दुई समूहको छुट्टाछुट्टै भेला, पार्टी कार्यालयमा प्रहरीकाे पहरा

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा नेकपाका छुट्टाछुट्टै भेला हुँदै छन् । 

नेकपा विभाजन भएपछि दुई समूहले छुट्टाछुट्टै कार्यक्रम गर्दै आए पनि चितवनमा एकै समय प्रधानमन्त्री केपी ओली समूह र प्रचण्ड–माधव नेपाल समूह नेकपाका शीर्ष नेताहरूको सहभागितामा हुन लागेको छुट्टाछुट्टै यो पहिलो कार्यक्रम हो । 

यद्यपि दुवैले आफ्नो कार्यक्रमलाई नेकपाको  जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला भनेका छन् । ओली समूहले भरतपुरको एक रिसोर्टमा  कार्यक्रम गर्दै छ भने प्रचण्ड–नेपाल समूहले नेकपा भरतपुर महानगरको कार्यालय कृष्णपुरमा आफ्नो कार्यक्रमको तयारी गरिरहेको छ । 

मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट : सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु गैरसंवैधानिक भएकोले नयाँ नियुक्ति खारेजीको माग गर्दै परेका दुई रिटमा सर्वोच्च अदालतले सोमबार कारण देखाऊ आदेश जारी गरेको छ । 

ओलीले संवैधानिक प्रावधानविरुद्ध मन्त्रिपरिषद् विस्तार गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र लोकेन्द्र ओलीलगायतका अधिवक्ताले रिट हालेका हुन् । ‘अन्तरिम आदेश दिनुअघि छलफल गर्न विपक्षीलाई पुस २८ मा बोलाइएको छ,’ निवेदकमध्येका एक त्रिपाठीले भने, ‘आजचाहिँ कारण देखाऊ आदेश भएको छ ।’ 

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको स‌घर्ष : भट्टराई, भुसाल र साह आन्दोलन परिचालनको सहसंयोजक 

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सञ्चालित आन्दोलन परिचालन कमिटीको सचिवालय विस्तार गरेको छ । 

पार्टी कार्यालय, पेरिसडाँडामा सोमबार बसेको स्थायी कमिटी बैठकले परिचालन कमिटीको सहसंयोजकमा स्थायी कमिटी सदस्यहरू योगेश भट्टराई, पम्फा भुसाल र गणेश साहलाई चयन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेता भट्टराई केन्द्रीय संघर्ष समितिको प्रवक्ता पनि तोकिएका छन् ।

लाइसेन्सको अनलाइन फाराम पुनः बन्द

 सवारी चालक अनुपतिपत्र (लाइसेन्स) अनलाइन फाराम पुनः बन्द  भएको छ ।

यातायात व्यवस्था विभागलले नाै महिनापछि चालक अनुमतिपत्रको अनलाइन फाराम खुला गरेको भए पनि साइटमा समस्या आएको भन्दै पुन: बन्द गरेकाे हो ।

अलिबाबा समूहका मालिक एवं अर्बपति ज्याक मा दुई महिनादेखि बेखबर

अलिबाबा समूहका मालिक एवं चीनका अर्बपति ज्याक मा दुई महिनादेखि सार्वजनिक रूपमा देखिएका छैनन् । अलिबाबाको माध्यमबाट चीनमा अनलाइन सपिङ सुरु गरेका ज्याक मा चीनका तेस्रो सबैभन्दा धनी व्यक्ति हुन् । 

चीनका राष्ट्रपति सी जिनपिङसँग भएको विवादपछि उनी बेपत्ता भएको हुन सक्ने चर्चा छ । ज्याक माले गत अक्टोबरमा वित्तीय नियम र सरकारी बैंकको विषयमा भाषण दिने क्रममा आलोचना गरेका थिए । उनले यस्ता नियमले व्यापारिक क्षेत्रमा नयाँ केही गर्न चाहनेका लागि दबाउने बताएका थिए । यो भाषणपछि चीनको सत्तारुढ पार्टी चिनियाँ कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । उनको भाषणलाई पार्टीमाथिको हमला भनिएको थियो । यसपछि उनको व्यापारमा अवरोधहरूसमेत हुन थालेको थियो ।

बलिउडले २०२० मा गुमाएका हस्ती

सन् २०२० मा कोरोना भाइरसले सबै क्षेत्रमा असर ग¥यो । हलिउडपछि सबैभन्दा धेरै आर्थिक कारोबार हुने बलिउड क्षेत्र पनि कोरोनाबाट प्रभावित बन्यो । ठूला लगानीका सिनेमा रिलिज नै भएनन् । कोरोनाले अस्तव्यस्त बनिरहेको बलिउडमा सोहीबीच केही चर्चित हस्तीहरूले पनि संसार छाडे । यसले बलिउडलाई झनै स्तब्ध तुल्यायो । 

टेस्लाले एक वर्षमै बेच्यो पाँच लाख विद्युतीय कार 

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले एक वर्षमा करिब पाँच लाखवटा कार बिक्री गर्ने लक्ष्य राखेको थियो । सोहीअनुसार यस वर्ष चार लाख ९९ हजार पाँच सय ५० थान कार बिक्री भएको छ । कम्पनीले पाँच लाख नौ हजार सात सय ३७ थान कार उत्पादन गरेको थियो । 

टेस्लाका प्रमुख इलोन मस्कले कम्पनीका लागि यो निकै महत्वपूर्ण कोसेढुंगा भन्दै सन्तोष व्यक्त गरेका छन् । मस्कले ट्विट गर्दै आफ्ना विद्युतीय कारले बजारमा १० प्रतिशत मात्र सफलता प्राप्त हुने आकलन गरे पनि ग्राहकले कारलाई अत्यधिक रुचाएको बताए ।

टेस्लाका मोडेल ३ र मोडेल वाईको बिक्री करिब ८६ प्रतिशत रहेको कम्पनीले जनाएको छ । टेस्लाले अत्यन्त आरामदायी मोडेल एस सेडान र मोडेल एक्स एसयुभी पनि उत्पादन गरिरहेको छ ।

दक्षिण कोरियाका लागि खतराको सूचक : जन्मदरभन्दा मृत्युदर धेरै

सन् २०२० मा दक्षिण कोरियामा जन्मनेभन्दा मृत्यु हुनेको संख्या धेरै देखिएको छ । दक्षिण कोरिया यसै पनि संसारमै कम जन्मदर भएका देशमध्ये एक हो त्यसमाथि पनि जन्मनेभन्दा मृत्यु हुनेको संख्या बढेको तथ्यांक सार्वजनिक भएपछि सरकारमा चिन्ता थपिएको छ । 

दक्षिण कोरियामा सन् २०२० मा जम्मा दुई लाख ७५ हजार आठ सय शिशु जन्मिएका छन् । सन् २०१९ को तुलनामा यो संख्या १० प्रतिशतले कम हो । तर, सन् २०२० मै दक्षिण कोरियामा तीन लाख सात हजार सात सय ६४ जनाको मृत्यु भएको थियो ।