१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
एजेन्सी
२o८१ जेठ १ मंगलबार १४:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले भने– मेरो देश इथियोपिया समस्यामा छ

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:३५:oo

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेड्रोस अधनोम गेब्राएसेसले आफ्नो जन्मभूमि इथियोपियामा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गरेका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) का साथसाथै आफ्नो देशमा जारी द्वन्द्वले उब्जिएको समस्याबाट यस वर्ष आफू निकै दुःखी भएको बताएका छन् ।

विश्व स्थास्थ्य संगठनले कोरोना महामारीबारे सोमबार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले भने, ‘कोभिड सँगसँगै मेरो देशमा आइलागेको समस्या सन् २०२० मेरा लागि झनै पीडादायी बन्यो ।’  

इथियोपियाका प्रधानमन्त्री तथा विश्व नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित अबे अहमदले इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा जारी द्वन्द्व समाप्त पार्न ४ नोभेम्बरमा केन्द्रीय सुरक्षाकर्मीलाई आदेश दिएका थिए । जुन क्षेत्रमा क्षेत्रीय दल टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) आन्दोलनरत थियो । टिग्रेमा जारी द्वन्द्वबाट हजारौँ व्यक्तिको मृत्यु भइसकेको छ । विज्ञहरूको समूह इन्टरनेसनल क्राइसिस ग्रुपका अनुसार यस क्षेत्रबाट दशौँ हजार व्यक्ति बाहिरिसकेका छन् । उनीहरू सुडानमा शरणार्थीका रूपमा रहँदै आएका छन् । 

संगठनका प्रमुख टेड्रोस पनि इथियोपियाको टिग्रे क्षेत्रकै बासिन्दा हुन् ।  पत्रकार सम्मेलनमा उनले भने, ‘त्यहाँ मेरा धेरै नातागोता छन् । मेरो भाइ पनि त्यहीँ छ । तर, ऊ कुन अवस्थामा छ भन्ने जानकारी छैन । उनीहरू कसैसँग पनि सम्पर्क गर्न सकिएको छैन । किनकि त्यहाँ सञ्चार सम्पर्क विच्छेद गरिएको छ ।’     

इथियोपिया सरकारले द्वन्द्वग्रस्त क्षेत्रमा मिडियालाई जान दिएको छैन । त्यहाँ पछिल्लो ६ सातादेखि सबै सञ्चारका सुविधा रोकिएको छ । क्षेत्रीय र केन्द्रीय फोर्सबीच द्वन्द्व सुरु भएसँगै सबै सञ्चार सुविधामा रोक लगाइएको छ । 

टेड्रोसले भने, ‘मलाई दुःखी बनाउन के कोभिड नै काफी थिएन र ? म सिंगो देशको अवस्था देखेर चिन्तित बनेको छु । मेरा भाइ र आफन्त त्यहाँ छन् भनेर मात्रै म चिन्तित भएको होइन । इथियोपियाको दिनहुँ बिग्रँदो अवस्थाले मलाई चिन्तित बनाएको हो ।’  

टेड्रोस सन् २००२ देखि २०१२ सम्म इथियोपियाको स्वास्थ्यमन्त्रीसमेत हुन् । त्यसवेला अहिले आन्दोलन गरिरहेको क्षेत्रीय दल टिपिएलएफको सरकार थियो । यसकारण इथियोपियाली सरकारले टेड्रोसमाथि टिपिएलएफका नेता मेलेस जेनावीसँग द्वन्द्व चर्काउने विषयमा कुराकानी गर्ने गरेको आरोप लगाउँदै आएको छ । तर, टेड्रोसले यो आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनले सधैँ शान्तिको पक्षमा रहेको दाबी गरेका छन् ।  

पत्रकार सम्मेलनमा उनले कोरोना माहामारी र द्वन्द्वका कारण इथियोपियाको आर्थिक अवस्था चुनौतीपूर्ण बनेको बताए । 
 

ad
ad