१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एजेन्सी
२o८१ बैशाख ३१ सोमबार २o:४८:oo
Read Time : > 3 मिनेट
ad
ad
फिचर

मेसी भन्छन्– अमेरिकाबाट खेल्ने चाहना छ 

Read Time : > 3 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:४८:oo

पछिल्लो समय अर्जेन्टिनी कप्तान लियोनल मेसी मिडियासँग निकै नजिक बनिरहेका छन् । आफूलाई चित्त नबुझेको विषय तत्कालै स्पेनिस वा अर्जेन्टिनी मिडियालाई बताउन थालेका छन् । उनी मिडियामैत्री बनिदिँदा समर्थकहरू पनि निकै खुसी बनेका छन् । उनी पनि राष्ट्रिय टोली वा बार्सिलोना क्लबमा भइरहेका घटनाक्रमबारे सबैले थाहा पाउन् भन्ने चाहिरहेका छन् । यसैकारण पछिल्लो तीन महिनामा मेसीसँग सम्बन्धित धेरै समाचार युरोपेली मिडियाले प्राथमिकताका साथ प्रकाशन–प्रसारण गर्दै आइरहेका छन् ।

यसैबीच बार्सिलोनाले सन् २०२० को सिजन नसकिँदै उरुग्वेका स्ट्राइकर लुइस सुआरेजलाई बेच्दा मेसीले क्लबको निर्णयप्रति निकै असन्तुष्टि पोखेका थिए । क्लबभित्र आफ्ना समकक्षीहरूको बहिर्गमनसँगै मेसीले बार्सिलोनामा बस्न खासै इच्छा नभएको र अन्य क्लबमा जाने सम्भावनाबारे बताइरहेका छन् । तर, क्लबसँगको सम्झौता अझै बाँकी रहेका कारण उनी तत्काल अन्यत्र जान सक्दैनन् । सम्झौताविपरीत अन्त गए उनलाई लैजाने क्लबले चर्को मूल्य चुकाउनुपर्छ । यसकारण पनि सम्झौता बाँकी रहँदारहँदै मेसीलाई अनुबन्धन गर्न युरोपका धनी क्लबहरू पनि आनाकानी गरिरहेका छन् । यद्यपि पुनः एकपटक मेसी पेरिस सेन्ट जर्मेन (पिएसजी) तथा म्यानचेस्टर सिटीसँग आबद्ध हुने चर्चा चलेको छ । तर, मेसीले भने यसपटक आफ्नो गन्तव्य फरक भएको स्पष्ट पारेका छन् । मेसीले स्पेनिस टेलिभिजन ला सेक्ट्रालाई हालै दिएको अन्तर्वार्तामा अमेरिकाबाट खेल्न चाहेको खुलासा गरेका छन् । ‘यो मेरो भित्री भावना हो, मलाई थाहा छैन, अब के हुन्छ,’ मेसीले भनेका छन्, ‘बार्सिलोनामा सिजनको अन्तिम दिनसम्म रहनेछु, तर मेरो अबको इच्छा अमेरिकाबाट खेल्ने हो ।’
३३ वर्षीय मेसीले अमेरिकन लाइफ स्टाइल तथा त्यहाँको फुटबलबाट प्रभावित भएको बताएका छन् । उनले भनेका छन्, ‘अमेरिकनको रहनसहनबाट म प्रभावित छु, त्यहाँको लिग पनि राम्रो लाग्छ ।’

बार्सिलोनाका निवर्तमान अध्यक्ष जोसेप मारिया बार्टोमेउले एकल निर्णय गरेका कारण नै बार्सिलोनाले गत सिजनमा कुनै पनि उपाधि जित्न नसकेको मेसी मान्छन् । ‘खेलाडीमाथि हस्तक्षेप हुँदा त्यसको असर नतिजामा पर्छ,’ व्यवस्थापनको हस्तक्षेपपछिको नतिजाबारे उनले भने, ‘यही कारण थियो कि बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग आठ गोलअन्तरले पराजित भयो ।’ 

बार्सिलोनामा अब योभन्दा धेरै गर्न सक्दिनँ
बार्सिलोना क्लबलाई धेरै योगदान दिइसकेको र जीवनको एकखण्ड नै नाउ क्याम्पमा बिताएका कारण अन्य क्लबमा जान चाहेको मेसीले जनाए । ‘मैले आफ्नो करिअरको एक पाटो बार्सिलोनालाई दिइसकेको छु, अब यहाँ योभन्दा धेरै गर्न सकिँदैन, म बाहिर निस्कन चाहन्छु,’ बार्सिलोनासँग सम्बन्ध राम्रो नभएको इंगित गर्दै मेसीले दोहो¥याएका छन्, ‘अहिले पनि बार्सिलोनालाई च्याम्पियन्स लिग उपाधि दिलाउने इच्छा छ, त्यसविरुद्ध लडाइँ चलिरहेको छ, तर समय परिवर्तन भइरहेको छ ।’ 

बार्सिलोनाका अध्यक्षले सुरुदेखि नै नकारात्मक प्रभाव पारेको उनले बताए । उनी भन्छन्, ‘क्लबका अध्यक्षले सुरुमै खेलाडीमाथि हस्तक्षेप गरे, पहिला नै नकारात्मक छाप परेपछि त्यसमा सुधार ल्याउन सकिँदैन ।’ मेसीले बारम्बार बार्सिलोना बस्न नचाहेको बताइरहँदा परिवारका सबै सदस्यले भने बार्सिलोनालाई घर मानेको प्रस्ट्याएका छन् । ‘मलाई यो भन्न सजिलो छ कि बार्सिलोनाबाट बाहिरिँदै छु, तर मेरो परिवारको पहिलो घर बार्सिलोना भइसकेको छ, उनीहरू यहीँ बस्न मन पराउँछन्, तर मेरो इच्छा यो छ अब बार्सिलोना छाड्ने समय आइसकेको छ,’ पारिवारिक बन्धनबीच बार्सिलोना छाड्न मनस्थिति बनाउँदै मेसीले भने । 

अन्तर्वार्ताको क्रममा मेसीले सुआरेज र नेमारको नाम बारम्बार लिएका छन् । यी दुई खेलाडी बार्सिलोनामै रहनुपर्ने र उनीहरूको कुनै पनि अवस्थामा स्थानान्तर गर्नु नहुने तर्क मेसीको छ । ‘सुआरेज बाहिरिँदा केही पनि गर्न सकिएन, क्लबको निर्णयमा केही गर्न मिलेन पनि, मेरो विचारमा त्यो बार्सिलोनाले बेहोस अवस्थामा निर्णय गरेकोजस्तो लाग्छ,’ सुआरेजप्रति सद्भाव देखाउँदै मेसीले भने, ‘बार्सिलोनाले एकपटक पनि विचार नगरी प्रतिद्वन्द्वीलाई नै बेच्यो ।’ 

प्रशिक्षक रोनाल्ड कोएम्यानको आगमनले केही राम्रा खेलाडी छायामा परेको उनको विश्लेषण छ । सुआरेज एट्लेटिको म्याड्रिडसँग अनुबन्ध हुँदा आफू स्तब्ध भएको उनले बताए ।
मेसीले सुआरेज र नेमारसँग कुराकानी भइरहेको खुलासा गरेका छन् । च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा बार्सिलोनाले पिएसजीसँग प्रतिस्पर्धा गर्दै छ जहाँ मेसीले विपक्षीका रूपमा नेमारलाई पाउनेछन् । भन्छन्, ‘म र सुआरेजबीच सधँैजसो कुराकानी भइरहन्छ, च्याम्पिन्स लिगको ड्र निस्केपछि नेमारसँग पनि कुरा भयो ।’ अन्तर्वार्ताकै क्रममा मेसीले नेमार वा सुआरेज रहेको क्लबमा भने जान तयार नभएको स्पष्ट पारेका छन् । 

‘अहिलेको योजना बार्सिलोनामा रहँदासम्म राम्रो नतिजा दिलाउने हो, तर म एट्लेटिको, म्यानचेस्टर सिटी वा पिएसजीमा जादिनँ,’ उनले भने, ‘फेरि पनि मेरो चाहना अमेरिकाबाटै खेल्ने हो ।’ मेसीले अमेरिकन क्लबबाट दीर्घकालीन नभएर छोटो समयका लागि मात्र खेल्ने पनि बताएका छन् । ‘दीर्घकालीन भविष्य बनाएर अमेरिका जाने विचार छैन, त्यहाँ केही समयका लागि मात्र हो,’ उनले भने, ‘पहिलो सिजन समाप्त पार्नुपर्छ ।’

मेसीले अमेरिकन क्लबको चर्चा गरिरहँदा पूर्वप्रशिक्षक पेप ग्वार्डिओला प्रशिक्षित म्यानचेस्टर सिटी उनलाई भित्र्याउन आतुर छ । पेप पनि एकपटक मेसीलाई सिटीमा भित्र्याउन र अर्जेन्टिनी खेलाडीसँग सहकार्य गर्न चाहन्छन् । मेसीले पनि पेपलाई बार्सिलोनामा रहँदा उत्कृष्ट प्रशिक्षकका रूपमा मानेका छन् । ‘पेपको प्रशिक्षण शैली तथा खेलको योजना अच्चमकै हुने गथ्र्यो,’ पूर्वप्रशिक्षक पेपको प्रशंसा गर्दै मेसीले भने, ‘मलाई एन्रिक पनि राम्रो लाग्छ, दुवैसँग सहकार्य गर्न पाउनु सौभाग्य हो ।’ 

१३ वर्षको उमेरमै बार्सिलोनासँग आबद्ध भएका मेसी सर्वकालीन गोल स्कोरर हुन् । उनले गत साता मात्रै बार्सिलोनाबाट ६ सय ४४ गोलको विश्व कीर्तिमान राखेका थिए । उनले ब्राजिलका पेलेको नाममा रहेको ६ सय ४३ गोलको रेकर्ड तोडेका हुन् । बार्सिलोनामा रहँदा मेसीले १० पटक स्पेनिस ला लिगा, चारपटक च्याम्पियन्स लिग तथा ६ पटक बालोन डिअर (विश्वको उत्कृष्ट खेलाडी) जितेका छन् । 

ad
ad