१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १२:१५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

१८ वर्षको उल्झनपछि चमतीमा कालोपत्रे सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १२:१५:००

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले वर्तमान सरकारले गरेका राम्रा कामको जस दिन पनि कन्जुस्याइँ भएको बताएका छन् । 

सरकारले जनताको जीवनस्तर उकास्ने गरी ऐतिहासिक काम गरेको भन्दै मन्त्री मानन्धरले राम्रा काम नदेख्ने प्रवृत्तिका कारण समस्या पैदा भएको बताए । 

मंगलबार काठमाडौंको चमती जग्गा एकीकरण आयोजनाभित्रको सडकमा कालोपत्रे सुरुवात गर्दै मन्त्री मानन्धरले वर्तमान सरकार इतिहासकै सफल भएको दाबी पनि गरे । 

वर्तमान सरकारले जनतामा आशा जगाउने धेरै काम गरेको बताउँदै समृद्ध मुलुक निर्माण भएको देख्न नचाहनेहरूले सरकारको राम्रा काम पनि देख्न नचाहेको बताए । 

मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक समृद्ध हुने भन्दै सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना साकार पार्न आफूहरू लागिपरेको बताए ।

मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्र मुलुक समृद्धिको यात्रामा अघि बढ्ने भएकाले हालका दिनमा चलाइएको हल्लाको कुनै अर्थ नरहेको बताए । 

मन्त्री मानन्धरले नेकपाभित्र देखिएको केही वादविवादले सरकारको काम प्रभावित भएको बताउँदै केही दिनभित्रै ओली नेतृत्वको सरकारलाई थप गतिशील र प्रभावकारी बनाउने गरी शीर्ष नेताहरू अघि बढ्ने दाबी गरे । 

विकासका आयोजनाहरूले गति लिएको बताउँदै मन्त्री मानन्धरले लामो समयदेखि उल्झनमा परेका सयौँ आयोजनाको काम थालिएको बताए । 

१८ वर्षदेखि हुन नसकेको चमती आयोजनाको सडक कालोपत्रे थालिएको बताउँदै मन्त्री मानन्धरले विकासका काममा जनताको रचनात्मक सहयोगले सरकारलाई थप सक्रिय बनाउने बताए ।

जनताको सरकारले जनताको समृद्धि र विकासका लागि विवेकपूर्ण ढंगले काम गर्ने बताउँदै आवश्यक खबरदारी र सहजीकरण गर्न पनि स्थानीयलाई आग्रह गरे । 

मन्त्री मानन्धरले चमती आयोजना काठमाडौं महानगरभित्रको नमुना आयोजना भएको र सुन्दर सहर निर्माणमा यो आयोजना कोसेढुंगा साबित हुने दाबी गरे । 

काठमाडौं महानगरपालिका र चमतीका स्थानीय बासिन्दाको साझेदारीमा झन्डै १४ सय रोपनी क्षेत्रफलमा जग्गा प्लानिङ गर्ने भन्दै सुरु गरिएको १८ वर्षपछि आयोजनाको ढल निर्माण र सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा छ । 

कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले चमती आयोजना सम्पन्न हुनेतर्फ अघि बढेको बताउँदै सुन्दर सहर निर्माणको अभियानमा यो आयोजना उदाहरणीय हुने बताए । 

कार्यक्रममा काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष मुकुन्द रिजालले आयोजना सकिएसँगै वडा कार्यालयका प्रशासनिक कामका लागि यही स्थानमा कार्यालय निर्माण गरी सार्ने तयारी भएको जानकारी दिए ।