१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’मा सहभागी नेपाली र चिनियाँ सेना । तस्बिर स्रोत : नेपाली सेना
टेकराज थामी काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नाका खुलेलगत्तै नेपाल–चीन संयुक्त सैन्य अभ्यास हुने

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२४:oo

कोभिड–१९ का कारण रोकिएको नेपाल–चीन संयुक्त सैन्य अभ्यास नाका खुलेलगत्तै सुरु हुने भएको छ । कोभिड–१९ का कारण हाल उत्तरतर्फका नाकाबाट आवतजावत बन्द छ ।

नेपाल र चीनबीच तीन वर्षअघिदेखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ । कोभिड–१९ महामारी नभएको भए गत सेप्टेम्बर/अक्टोबरमा दुई मुलुकका सेनाबीच संयुक्त अभ्यास भइसकेको हुने थियो । ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको सैन्य अभ्यास सन् २०१७ देखि सुरु भएको हो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार कोभिड–१९ का कारण निर्धारित समयमा हुन नसकेको सैन्य अभ्यास नाका खुलेलगत्तै सञ्चालन गर्ने तयारी छ ।

‘कोभिड–१९ ले संयुक्त सैन्य अभ्यास सेड्युल परिवर्तन भयो । अब नाका खुलेलगत्तै रोकिएको सैन्य अभ्यास हुनेछ,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले भने, ‘केही साताअघि भएको चिनियाँ रक्षामन्त्रीसँगको वार्तामा पनि यो विषय उठेको छ । तालिमका विषयमा उनीहरू सकारात्मक छन् ।’ १० देखि १५ दिनसम्म चल्ने संयुक्त सैन्य अभ्यासमा चिनियाँ जनमुक्ति सेनाका तर्फबाट कम्तीमा ३५ र नेपाली सेनाका तर्फबाट पनि त्यति सैनिक सहभागी हुनेछन् । यसअघि उक्त सैन्य अभ्यास १० दिनसम्म चलेको थियो । सेनाका अनुसार विगतमा गरिएका संयुक्त सैन्य अभ्यास विशेषतः सम्भावित आतंकवाद नियन्त्रण तथा प्राकृतिक विपद् न्यूनीकरणसँग सम्बन्धित थिए ।

यसपटकको सैन्य अभ्यासको मोडेल सम्बन्धमा भने छलफल हुनै बाँकी रहेको सैनिक प्रवक्ता पौडेलले बताए । यो विषय टुंग्याउन दुवै मुलुकबीच राखिएका सैनिक सहचारीमार्फत वार्ता भइसकेको उनले जानकारी दिए । ‘संयुक्त सैन्य अभ्यास हुनेमा शंका भएन । तर, तालिमको मोडेल कस्तो हुने, कस्ता विषय तालिममा समेटिने भन्ने पनि तय भइसकेको छैन,’ उनले भने, ‘दुई पक्षबीच छलफल हुँदै छ । चाँडै यो विषय पनि टुंगो लाग्नेछ । सैनिक सहचारीमार्फत कुरा भइरहेको छ ।’

गत २८ नोभेम्बरमा चिनियाँ रक्षामन्त्री वी फेङले नेपाल भ्रमण गरेका थिए । नेपाली सेनाले भारत, बेलायत र अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । तीन वर्षअघिदेखि चीनसँग पनि संयुक्त सैन्य अभ्यास सुरु भएको हो । चिनियाँ र नेपाली सेनाबीच आ–आफ्ना तालिम केन्द्रमा एक–एकजना सैनिक अधिकृत आदानप्रदान गरी तालिम लिने/दिने अभ्यास भने विगतदेखि नै चल्दै आएको छ ।

रोकिएका सैन्य सामग्री चाँडै आउने
कोभिड–१९ का कारण रोकिएका सैन्य सामग्री पनि चाँडोभन्दा चाँडो दिन चीन तयार रहेको सेनाले जानकारी दिएको छ । चीनले नेपाली सेनालाई खासगरी गैरघातक सैन्य सामग्री उपलब्ध गराउँदै आएको छ । करिब दुई अर्ब रुपैयाँ मूल्यबराबरको सैन्य सामग्री उपलब्ध गराउँदै आएको चीनले यसपटक भने कोभिड–१९ लाई कारण देखाउँदै रोकेको छ । कोभिडका कारण रोकिएका सैन्य सामग्री चाँडै नेपाली सेनाले प्राप्त गर्ने सैनिक प्रवक्ता पौडेलले बताए ।

‘चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा यस विषयमा पनि कुरा उठ्यो । चीन सरकार यस्ता सामग्री तुरुन्तै दिन तयार भएको र यी सामग्री तयार भइसकेको पनि रक्षामन्त्रीको भनाइ थियो,’ पौडेलले भने, ‘त्यसो हुँदा यस्ता सामग्री चाँडै नेपाली सेनाले प्राप्त गर्नेमा ढुक्क छ ।’ चीन सरकारले खासगरी मेडिकल तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्री नेपाली सेनालाई उपलब्ध गराउँदै आएको छ ।

ad
ad