मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ९ शुक्रबार
  • Friday, 22 January, 2021
ad
२०७७ मङ्सिर १९ शुक्रबार १८:००:००
मुख्य समाचार डिजिटल संस्करण

नेकपा र कांग्रेस केन्द्रीय कार्यालयका मुख्य नेताका कार्यकक्षमा ताला, निवासबाटै भेटघाट र गुटका गतिविधि

२०७७ मङ्सिर १९ शुक्रबार १८:००:००

लोकतन्त्र, विधि–पद्धति र संस्थागत निर्णयको सन्देश दिने मुख्य दायित्व देशका प्रमुख दुई राजनीतिक दल सत्तारुढ नेकपा र विपक्षी कांग्रेसको काँधमा छ । तर, आन्तरिक झगडामा फसेका दुवै दल विधि–पद्धति र संस्थागत निर्णयमा होइन, सीमित नेताको सोच र गतिविधिमै चलेका छन् । नेता–कार्यकर्ताको बाक्लो आउजाउ हुनुपर्ने ती पार्टीका केन्द्रीय कार्यालय सुनसान छन् । शीर्ष नेताहरूले आफ्नो निवासलाई नै बैठक, भेटघाट र उठबसको ‘शक्तिकेन्द्र’ बनाएका छन् । अर्कोतिर पार्टी कार्यालयमा नेताहरूको कार्यकक्षमा ताला लगाइएको छ । ताला कार्यकक्षमा मात्र होइन, पार्टीको विधि–पद्धतिमा पनि लागेको छ ।

ओली–प्रचण्डसहित नेकपा सचिवालयका नेताहरूको कार्यकक्षमा ताला
देशलाई नेतृत्व गरिरहेको सत्तारुढ दल नेकपाको पार्टी कार्यालय धुम्बाराही र पेरिसडाँडा सुनसान मात्रै होइन, अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसहित नौ सदस्यीय सचिवालयका नेताहरूको कार्यकक्षमा ताला लगाइएको छ । पार्टी एकतापछि आठ लाख सदस्य रहेको दाबी गर्ने नेकपाले आगामी २५ चैतका लागि महाधिवेशनसमेत तोकेको छ । तर, पार्टी केन्द्रीय कार्यालयमा सन्नाटा छ । बरु, ओली र प्रचण्ड एकले अर्कालाई खुमलटार र बालुवाटारमा बसेर गुटबन्दी गरेको आरोप लगाउँदै आएका छन् ।

महाधिवेशन आउन चार महिनाअघिसम्म त्यसको तयारीसँग सम्बन्धित कामका लागि सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका कोही पनि नेता–कार्यकर्ता केन्द्रीय कार्यालय धुम्बाराही गएका छैनन् । गत असोजयता पार्टीमा पुनः अन्तर्संघर्ष चर्किएपछि ‘कोर अफ लिडरसिप’ मानिने अध्यक्ष ओली र प्रचण्डसहित सचिवालयका नेताहरूले निजी निवास मात्र होइन, विभिन्न व्यवसायीका निवास र कार्यालयलाई गुटका बैठक, भेला र गोप्य छलफल गर्ने थलो बनाउँदै आएका छन् । गत मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइयो, तर अन्तिम समयमा आएर सुरक्षा खतरा देखाउँदै बैठक बालुवाटारमा बस्यो ।

सत्तारुढ नेकपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय ।
‘पहिला सुनसानै हुने स्थिति थिएन, तर कोभिडका कारण, चाडपर्व र त्यसपछि पार्टीभित्र अन्तर्संघर्ष चर्किएपछि अहिले पार्टी कार्यालयमा चहलपल धेरै कम छ,’ केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले नयाँ पत्रिकासँग भने, ‘भदौमा सम्पन्न स्थायी कमिटी बैठकको सेरोफेरोमा दुई अध्यक्ष र सचिवालय सदस्यहरूलाई सामूहिक रूपमा र भेटेरै हामी (कार्यालय सचिव ईश्वरी रिजालसहित)ले सबैको कार्यकक्ष तयार छ, भेटघाट, बैठक सबै कार्यालयमै गर्न सकिने गरी निर्माण गरिएकाले सबै कार्यालयमै गर्नुहोस् भनेर अनुरोध गरेका थियौँ, उहाँहरूले अब नियमित रूपमै त्यसै गर्छाैं पनि भन्नुभो, तर नेतृत्व नै अन्तरसंघर्षतिर रुमल्लिएर हो कि, हाम्रो अनुरोध कार्यान्वयन भएको छैन ।’

अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णुप्रसाद पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठका कार्यकक्ष पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवैतिर छन् । पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड, महासचिव पौडेल र श्रेष्ठ कहिलेकाहीँ पुग्ने गरे पनि अर्का अध्यक्ष ओली भने एकपटक गएपछि दोहो¥याएर पुगेका छैनन् । त्यहाँस्थित अध्यक्ष ओली र प्रचण्ड दुवैको कार्यकक्षमा प्रायः भोटेताल्चा झुन्ड्याइएको हुन्छ ।

धुम्बाराहीमा सातामा कम्तीमा चार दिन कार्यालय पुग्ने गरेका महासचिव पौडेल अर्थमन्त्री नियुक्त भएपछि गएका छैनन् । यद्यपि, धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र पेरिसडाँडास्थित जनसंगठनको कार्यालय दुवैतिर माथि र तल दुई स्थानमा बैठक बस्ने गरी नेकपाले हल बनाएको छ । धुम्बाराहीमा माथिल्लो तलामै सचिवालय र स्थायी कमिटी बैठक बस्ने गरी सिट व्यवस्थापन गरेर हल बनाइएको छ भने भुइँतलामुनि भने सानोतिनो कार्यक्रम गर्ने गरी हल व्यवस्थापन गरिएको छ । यस्तै, पेरिसडाँडामा पनि तल र माथि दुवैतिर बैठक बस्ने गरी हललाई व्यवस्थित गरिएको कार्यालय सचिव ढकालले बताए ।

विशेषतः स्वास्थ्यलाई कारण जनाएर केन्द्रीय कार्यालय धुम्बाराही जान खासै नरुचाउने प्रधानमन्त्री ओलीले १३ मंसिरमा पेस गरेको राजनीतिक प्रतिवेदनमा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको कुनै पनि कामको जिम्मेवारी नलिएको आरोप लगाएका छन् । त्यसो त, कार्यकारी जिम्मेवारीमा भए पनि प्रचण्डले समेत पार्टी कार्यालय पुगेर नियमित ‘कमान्ड’ सम्हाल्ने गरेका छैनन् । कार्यकारीको जिम्मेवारी पाएपछि महाधिवेशन तयारीसँग सम्बन्धित काम, केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेदेखि पार्टीले तल पठाएको सर्कुलर कार्यान्वयनका सवालमा के–के काम भयो भन्दै ओलीले प्रचण्डमाथि प्रश्न गरेका छन् । प्रचण्डले खुमलटारस्थित निवासलाई गुटबन्दीको थलो बनाएको आरोप लगाएका ओली आफू पनि पार्टी कार्यालय धुम्बाराही नजानुको कारणबारे भने मौन छन् ।

तत्कालीन एमाले र माओवादी ३ जेठ ०७५ मा राष्ट्रिय सभागृहमा एकता भएपछि ४ जेठमा अध्यक्ष ओली र प्रचण्डले धुम्बाराही र पेरिसडाँडास्थित पार्टी कार्यालय संयुक्त रूपमा उद्घाटन गरेका थिए । नेकपाले धुम्बाराहीलाई केन्द्रीय कार्यालय तथा पेरिसडाँडालाई केन्द्रीय विभाग र जनसंगठनहरूको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्दै आएको छ । प्रायः पार्टीको कार्यक्रममा ओली धुम्बाराही जाने गरे पनि पेरिसडाँडास्थित आफ्नो कार्यकक्षमा दोहो¥याएर छिरेका छैनन् । प्रधानमन्त्रीको जिम्मेवारीमा व्यस्त बनेकाले उनी महत्वपूर्ण कार्यक्रममा बाहेक धुम्बाराही पनि कमै जान्छन् ।

‘पार्टी कार्यालय उद्घाटनको दिन अध्यक्ष, महासचिव, प्रवक्तालगायत नेताहरू आउनुभयो । आ–आफ्नो कार्यकक्षमा एकछिन बस्नुभयो । पार्टी कार्यालयका कोठाकोठा हेर्नुभयो । पुस्तकालय अवलोकन गर्नुभयो, जानुभयो,’ तत्कालीन माओवादी पार्टी कार्यालयका मुख्यसचिव एवं नेकपा केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले भने, ‘अध्यक्ष ओली दोहो¥याएर आउनुभएन, अध्यक्ष प्रचण्ड तीन–चारपटकभन्दा धेरै आइसक्नुभयो । महासचिव र प्रवक्ता प्रायः आइरहनुहुन्छ ।’ एकतापछि धुम्बाराही र पेरिसडाँडा दुवैतिर पार्टी कार्यालय भएकाले नेताहरूको कम उपस्थिति भएको हुन सक्ने बुढाथोकीको बुझाइ छ ।

धुम्बाराहीस्थित कार्यालयमा अध्यक्ष, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव पौडेल, प्रवक्ता श्रेष्ठसहित नौ सदस्यीय सचिवालयका सबै नेताको फरक–फरक कार्यकक्ष छ । धुम्बाराहीमा तेस्रो तलामा दायाँतिर प्रचण्ड र बायाँतिर ओलीको कार्यकक्ष छ भने बीचमा ‘वेटिङ’ कक्ष छ । दुवै अध्यक्षको कार्यकक्षबीच रहेको ‘वेटिङ’ कक्षमा नेकपाले सचिवालय बैठक गर्दै आएको छ । तर, पार्टी एकतायता प्रचण्डको अध्यक्षतामा तीनपटक धुम्बाराहीमा सचिवालयको बैठक बस्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भने सहभागी भएनन् । अध्यक्ष प्रचण्डले पनि निवासलाई नै भेटघाटमा प्रयोग गर्दै आएकाले बैठक र अत्यावश्यक काममा बाहेक धुम्बाराही केन्द्रीय कार्यालय कमै पुग्छन् ।

‘कार्यालयमा महासचिव मात्र नियमितजस्तै आउनुहुन्छ,’ धुम्बाराहीस्थित कार्यालय सचिव ढकालले भने, ‘अन्य सबै नेताहरू प्रायः व्यस्त भएर होला कमै आउनुहुन्छ, त्यसैले अध्यक्षहरूको कार्यकक्ष पनि आएको वेला मात्र खोलिन्छ, अघिपछि ताल्चा लगाएरै बन्द गरिएको हुन्छ ।’ नेकपाले पार्टीका केन्द्रीय कार्यक्रम र बैठकहरू धुम्बाराही तथा जनवर्गीय संगठन र विभागीय कार्यक्रमहरू पेरिसडाँडामा गर्दै आएको छ ।

२६ भदौमा सम्पन्न स्थायी कमिटी बैठकले एकतासम्बन्धी प्रस्ताव पारित गरेपछि ३ असोजमा जनसंगठनको कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । त्यसयताका सबै बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमै हुँदै आएका छन् ।

२५ र २६ कात्तिकमा बैठक बोलाउन माग गर्न अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच नेताले पार्टी कार्यालय धुम्बाराहीमा बसेर अनौपचारिक छलफल गरेका थिए । पछिल्लोपटक ५ मंसिरमा अध्यक्ष प्रचण्डले महासचिव पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटवार्ता गरेका थिए । वरिष्ठ नेता नेपालले धुम्बाराही र पेरिसडाँडास्थित कार्यालयमा कहिलेकाहीँ भेटघाट र छलफल गर्ने गरेका छन् ।

पेरिसडाँडामा अध्यक्ष ओली, प्रचण्ड, महासचिव पौडे र प्रवक्ता श्रेष्ठको कार्यकक्षका भित्तामा प्रचण्डको मात्रै तस्बिर राखिएको छ । सोही कारण अर्का अध्यक्ष ओलीको तस्बिर नराखिएको बताउँदै तत्कालीन एमाले समूहका नेताहरूले विरोध गर्दै आएका छन् । छिट्टै दुवै अध्यक्षको तस्बिर भित्तामा झुन्ड्याएर राख्ने तयारी छ । पार्टी बैठक, सभा, सम्मेलन प्रायः धुम्बाराहीमा हुने गरेका छन् भने जनवर्गीय संगठनका प्रायः कार्यक्रम पेरिसडाँडामै हुँदै आएका छन् ।

धुम्बाराही र पेरिसडाँडा पुग्ने ओलीको कार्यतालिका डेढ वर्षदेखि अलपत्र
नेता–कार्यकर्ता र सांसदहरूले भेट्न नपाएको मात्रै होइन, समस्या सुनाउन नपाएको बताउँदै व्यापक आलोचना बढेपछि प्रधानमन्त्री ओलीले सचिवालयमार्फत सम्पर्कमा रहने र जनगुनासो सुन्ने नियमित कार्यतालिका नै बनाए । १३ असार ०७५ मा ओलीका तत्कालीन प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले महिनाको पहिलो दिन धुम्बाराही र १५ गते पेरिसडाँडा कार्यालय पुगेर ११ देखि ३ बजेसम्म नेता–कार्यकर्ता भेट्ने कार्यतालिका नै सार्वजनिक गरे ।

त्यसपछि उनी एकपटक धुम्बाराही पुगे पनि डेढ वर्षयता त्यो कार्यतालिका लागू हुन सकेन । ‘प्रधानमन्त्रीज्यू व्यस्त बन्नुभएकाले पनि कार्यतालिकाअनुसार भेटघाट हुन सकेन,’ प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस संयोजक चेतन अधिकारीले भने । हरेक शुक्रबार ३ देखि ५ बजे बालुवाटारमै सांसदहरूलाई भेट्ने नियमित कार्यतालिका पनि त्यसवेलै तय भएको थियो । आवश्यकताअनुसार सांसदहरूलाई भने ओलीले बालुवाटारमै बोलाएर भेट्दै आएका छन् ।

अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षको डिजाइन एउटै
पेरिसडाँडास्थित तत्कालीन माओवादी पार्टी कार्यालय दोस्रो तलाको पश्चिमतिरका दुई अलग–अलग कोठालाई कार्यकक्ष बनाइएको छ । अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षका सोफा, टेबुल, दराज भित्तामा राखिएका माक्र्स, एंगेल्स, लेनिन र माओका तस्बिर एकैखालका छन् । अध्यक्षद्वयको कार्यकक्षमा अतिथिले पर्खिने कोठाको सोफा रातो र खैरो रङका छन् । ओली र प्रचण्ड बस्ने कार्यकक्षको कुर्सी, टेबुल र सोफा एउटै साइजका भए पनि रङ भने प्रचण्डका लागि रातो र ओलीका लागि कालो प्रयोग गरिएको छ ।

अध्यक्षद्वयको कार्यकक्षको ठीकविपरीत पूर्वतिर प्रवक्ता श्रेष्ठको कार्यकक्ष तयार गरिएको छ । श्रेष्ठको कार्यकक्षमा कुर्सी, टेबल, दराजसँगै खैरो रङको सोफा राखिएको छ । श्रेष्ठ प्रायः पार्टीका भेटघाटमा सहभागी हुँदा कार्यकक्षमा बस्ने गरेका छन् । यस्तै, महासचिव पौडेलका लागि पेरिसडाँडाको दोस्रो तलाको पश्चिमतिरको कोठालाई कार्यकक्ष बनाएको छ । महासचिव पौडेलको पनि अध्यक्षद्वयकै जस्तो बाहिर अतिथि कक्षभित्र कार्यकक्ष बनाइएको छ । कार्यकक्षमा कुर्सी, टेबल, दराज सोफाका साइजसमेत उस्तै राखिएको छ ।

पेरिसडाँडामा जनवर्गीय संगठनको मात्रै कार्यक्रम
पार्टीका बैठक, सभा, सम्मेलन उद्घाटन धुम्बाराहीमा भए पनि जनवर्गीय संगठनका कार्यक्रम भने प्रायः पेरिसडाँडामा हुँदै आएका छन् । युवा, विद्यार्थी, मजदुर, जिल्ला, प्रदेश र प्रवास संगठनका प्रायः कार्यक्रम पेरिसडाँडामै हुने गरेको बुढाथोकीले जानकारी दिए । ‘प्रायःजसो जनवर्गीय संगठनको नाम, झन्डा, कार्यालयलगायतको टुंगो लागिसकेको छ,’ उनले भने, ‘औपचारिक तथा अनौपचारिक जनवर्गीय संगठनका सभा, सम्मेलन उद्घाटन पेरिसडाँडामै हुन्छ ।’

तत्कालीन माओवादी पार्टी कार्यालय हुँदाजस्तो चहलपहल नरहेको बुढाथोकीले बताए । ‘पहिला माओवादी पार्टी कार्यालय हुँदा भिडभाड हुन्थ्यो,’ उनले भने, ‘धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय भएपछि सुनसानजस्तै हुन थाल्यो ।’

कांग्रेसमा सानेपामा ‘प्रोटोकल’, नेता निवासमा छुट
१४औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा देशभर कांग्रेस नेता–कार्यकर्ताको दौडधुप बाक्लिएको छ । तर, ललितपुर सानेपास्थित कांग्रेस मुख्यालय सुनसान छ । कोरोना संकटबीच नेताहरूको सक्रियता बढे पनि त्यसको चहलपहल पार्टी मुख्यालयमा देखिँदैन । तथापि, सत्तारुढ नेकपाको तुलनामा विपक्षी कांग्रेसको केन्द्रीय कार्यालय अलि बढी चलायमान देखिन्छ ।

विपक्षी कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय । तस्बिर :  विनोद विष्ट/नयाँ पत्रिका
नेताहरूलाई पार्टी कार्यालय जानसमेत केन्द्रीय समिति बैठक र विशेष भेटघाट नै हुनुपर्छ । पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्य नै कार्यालय जाँदैनन् । तर, नेताहरूको निवासमा बाक्लो भिड देखिन्छ । नेताहरूको निवासमा कोरोना महामारी बिर्साउने गरी भेटघाट भइरहेका छन् । नेतानिवासलाई कोरोनाको ‘प्रोटोकल’मा छुट छ, जब कि सानेपामा बैठकअघि नेताहरूको पनि स्वाब परीक्षण गर्ने गरिएको छ ।

आमन्त्रित र मनोनीतसहित हाल कांग्रेस केन्द्रीय समितिमा एक सय २८ जना छन् । तर, सामान्य अवस्थामा समेत महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मा मात्रै पार्टी कार्यालयबाट कार्यसम्पादन गर्छन् । सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ पनि बैठकबाहेकका दिनसमेत केन्द्रीय कार्यालय पुग्छन् । अरू नेताहरूको उपस्थिति धेरै पातलो रहन्छ ।
 
कोभिड–१९ महामारी सुरु भएयता त झन् नेताहरूलाई घरैबाट काम गर्ने छुट मिलेको छ । घरैमा बसेका नेताहरू बैठकका लागि बाहेक केन्द्रीय कार्यालय पुगेका छैनन् । पहिलो चरणको लकडाउनका वेला वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले सार्वजनिक रूपमै भेटघाट बन्द गरे । तर, आफैँलाई कोभिड संक्रमण भएबाहेकका नेताहरूले भेटघाट रोकेका छैनन् । पार्टी काममा नखटे पनि कांग्रेसका हरकोही नेता आफ्नो गुटको काममा पूरै दत्तचित्त भएर लागेका छन् । 

महाधिवेशन नजिकिँदै गर्दा नेतानिवासमा भेटघाट झनै बढेको छ । सभापति देउवानिवास बुढानीलकण्ठमा दैनिकजसो नेता–कार्यकर्ताको लर्को लाग्छ । वरिष्ठ नेता पौडलनिवास बोहराटार र नेता कृष्ण सिटौलानिवास चण्डोलमा पनि कोरोनाको बेवास्ता गर्दै बाक्लै भेटघाट भइरहेका छन् ।

उपसभापति विमलेन्द्र निधिनिवास मध्यबानेश्वर, महामन्त्री शशांक कोइरालानिवास महाराजगन्ज, महामन्त्री पूर्णबहादुर खड्कानिवास गल्फुटार, नेता प्रकाशमान सिंहनिवास चाक्सीबारी, डा. शेखर कोइरालानिवास बसुन्धरा र नेता गगन थापाको निवास रातोपुलमा पनि भेटघाटका लागि भिड लाग्छ ।

कोरोनाका कारण ११ चैतदेखि पहिलो चरणको लकडाउन भयो । चैतभरि कांग्रेस कार्यालयमा नेता देखिएनन् । त्यतिवेला पनि कांग्रेसका प्रशासनिक काम भने रोकिएनन् । पार्टीका विधान, निर्देशिका वितरण, क्रियाशील सदस्यता फारम वितरणलगायत महŒवपूर्ण काम लकडाउनकै वेला पनि नरोकिएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘लकडाउनमा नेता सबै घरभित्र बसे पनि पार्टी कार्यालय कुनै दिन बन्द भएन,’ उनले भने, ‘सामान्य अवस्थामा भन्दा धेरै बैठक भए, सभापतिज्यूकै उपस्थितिमा धेरैपटक बैठक भए ।’

कांग्रेसले वैशाख लागेपछि भौतिक दूरी कायम गर्दै भेला, बैठक आयोजना गर्न थाल्यो । १७ वैशाखमा केन्द्रीय समिति बैठक बस्यो । त्यसपछि १७ र २६ जेठमा पनि केन्द्रीय समिति बस्यो । १६ देखि २२ असारसम्म केन्द्रीय समिति बसेको थियो । त्यसपछि २८ कात्तिकमा पनि केन्द्रीय समिति बस्यो । चैतयता औपचारिक, अनौपचारिकसमेत गरी सभापति देउवाको उपस्थितिमा ३६ वटा बैठक भएका सचिव प्रेम केसीले जानकारी दिए ।

स्वच्छ, निष्पक्ष रूपमा महाधिवेशन हुने विषयमा शंका पैदा भएको बताउँदै वरिष्ठ नेता पौडेल समूहले १२ असोजमा केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझायो । त्यसयता विवाद मिलाउन र अन्यसमेत गरी नौपटक पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्यो । तीमध्ये चारवटा बैठक सभापति देउवाले आफ्नै निवासमा बसाए ।

मुख्यसचिव पौडेलका अनुसार कोरोना महामारीकै अवधिमा सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजकत्वको कोभिड–१९ समिति, विनोद चौधरी संयोजकत्वको रोजगार पूर्वाधार, डा. रामशरण महत नेतृत्वको कोभिड प्रभाव मूल्यांकनलगायत उपसमिति र विभागहरूले समेत बैठक र छलफल गरेका छन् । ती बैठकमा सम्बन्धित नेताहरू मात्रै पुगे ।

कांग्रेस केन्द्रीय कार्यालयमा कुन दिन, को–को पदाधिकारी, सदस्य वा कार्यकर्ता उपस्थित भए भन्ने विवरण छैन । मुख्यसचिव पौडेल भन्छन्, ‘औपचारिक बैठकमा बाहेक नेताहरूको हाजिरी गर्ने चलन छैन ।’ केन्द्रीय कार्यालयमा पदाधिकारीलगायत नेताहरूको कार्यकक्ष छ ।