मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार ०६:०८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सेनाको शान्ति मिसनमा काेराेना प्रभाव : छनोटमा परेका सैनिक संक्रमित बन्दा टोली अदलीबदलीमा दुई महिनासम्म ढिलाइ

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार ०६:०८:००

सैन्य उपकरण मर्मत र नयाँ खरिद गर्नुपर्ने भएकाले शान्ति मिसनबाट यस वर्ष गत वर्षभन्दा तीन अर्ब ४८ करोड रुपैयाँ कम रेमिट्यान्स भित्रिने

दक्षिण सुडानस्थित शान्ति मिसनका लागि उड्ने तयारीमा नेपाली सेनाको टोली । तस्बिर स्रोत : नेपाली सेना

कोभिड–१९ महामारीले नेपाली सेनाको शान्ति मिसन प्रभावित बनेको छ । खासगरी, मिसनमा छनोट भएको टोलीका सदस्यमा कोरोना संक्रमण भएपछि टोली अदलीबदली गर्न दुई महिनासम्म ढिलाइ भइरहेको छ ।

सेनाका अनुसार कोभिड–१९ पछिल्लो प्रभाव उत्तर अफ्रिकी मुलुक लिबियाको मिसनमा देखियो । युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (अन्समिल)अन्तर्गत नेपाली सेनाको एउटा मिसन छ, जसमा दुई सय ३१ जना सैनिक हुन्छन् । सोही मिसनमा खटाउन तयार सैनिकमा कोभिड–१९ पजिटिभ देखिएपछि निर्धारित मितिभन्दा करिब दुई महिनापछि मात्र नेपाली सेनाको टोली लिबिया पुग्यो । ‘सेप्टेम्बरमा पठाउन तयार सैनिक टोलीलाई नोभेम्बरमा मात्र लिबिया पठाउन सकियो,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल भन्छन्, ‘निर्धारित मिति नै फेरबदल गर्नुपर्‍यो । टोलीका केही सदस्य कोरोना फ्री भएपछि मात्र टोली मिसनमा जान सक्यो ।’

सेनाले शान्ति स्थापनामा खटिने सैनिक टोलीलाई काभ्रे पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा तालिम दिँदै आएको छ । लिबियाका लागि खटिने सेनाका लागि पनि सोही केन्द्रमा तालिम दिएको थियो । तालिमको अन्तिम चरणमा रहेका सैनिकमा कोरोना संक्रमण पुष्टि भएपछि सेनाले मिसनका लागि निर्धारित समय स्थगित गरेको थियो ।

‘शान्ति मिसनमा खटिने सैनिकलाई निर्धारित समयभित्रै सम्बन्धित ठाउँमा पुर्‍याउँछौँ । यसका लागि आवश्यक सबै उपाय अपनाउँछौँ । कहिलेकाहीँ तालिमरत सैनिक पारिवारिक वा व्यक्तिगत कारणले मिसनमा जान नसक्ने हुन्छ,’ सैनिक प्रवक्ता पौडेल भन्छन्, ‘सोहीकारण मिसन जान समस्या नहोस् भनेर हामीले निर्धारित संख्याको १० प्रतिशतभन्दा बढीलाई सोही स्थानमा तालिम दिन्छौँ । तर, लिबियाको हकमा त्यो संख्याले पनि पुगेन । मिति नै सार्नुपर्ने अवस्था आयो ।’

सेनाका अनुसार कोभिड–१९ कै कारण अफ्रिकी मुलुकहरू माली र सेन्ट्रल अफ्रिकन रिपब्लिकको शान्ति मिसन पनि प्रभावित बनेका छन् । सेनाले दुवै मुलुकमा निर्धारित समयमा सैनिक टोली पुर्‍याउन सकेन । सैनिक प्रवक्ता पौडेलका अनुसार दुवै मुलुकमा दुई महिनापछि मात्र सैनिक टोली परिवर्तन गरिएको थियो । ‘माली र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा पनि कोरोनाका कारण सैनिक टोली समयमै रिप्लेस हुन सकेन । केही महिना ढिलो भयो,’ उनी भन्छन्, ‘खटाइएको टोलीका सदस्य कोरोना फ्री भएलगत्तै त्यहाँका टोलीलाई अदलीबदली गरियो । यसको अर्थ कोरोनाले शान्ति मिसनलाई केही न केही प्रभाव पारेकै छ ।’

संक्रमणको भयले बिदा कटौती
शान्ति मिसनमा जानुअघि सेनाले तालिमप्राप्त सैनिकलाई परिवारसँग भेट गर्न कम्तीमा तीन दिन बिदा दिँदै आएको थियो । तर, पछिल्लो समय कोरोना संक्रमण हुने डरले सेनाले उक्त बिदा कटौती गरेको छ । अहिले तालिम सकेपछि पनि सैनिकलाई ब्यारेकमै राखिन्छ । मिसनमा पठाउनुअघि पुनः कोरोना परीक्षण गरिन्छ । र, रिपोर्ट नेगेटिभ आएपछि मात्र मिसनका लागि पास गरिन्छ ।

शान्ति मिसनबाट स्वदेश फर्किएका सैनिकलाई पनि एकैपटक परिवारसँग भेट गर्न दिइँदैन । काठमाडौं उत्रिएलगत्तै क्वारेन्टाइनमा पठाइन्छ । १४ दिनपछि मात्र परिवारका सदस्यलाई भेट्न र घर जान दिइन्छ । ‘विश्वभर कोभिड–१९ महामारी छ । मिसनमा जानुअघि र फर्किएपछि सैनिकलाई सीधा परिवारसँग भेट गर्न दिँदैनौँ । यी सबै कोरोना संक्रमणबाट बच्न अपनाइएका उपाय हुन्,’ सैनिक प्रवक्ता पौडेल भन्छन्, ‘मिसन जानुअघि दिइने गरेको बिदा पनि कोरोनाकालभरिलाई कटौती भएको छ ।’

शान्ति मिसनबाट गत वर्ष १७ अर्ब ४० करोड भित्रियो
नेपाली सेनाको शान्ति मिसनबाट गत आर्थिक वर्ष ०७६–७७ मा करिब १७ अर्ब ४० करोड रुपैयाँ भित्रिएको थियो । यो सेनाले शान्ति मिसनका लागि खटाएका सैनिक र मिसनमा दिइएको उपकरणबापत प्राप्त रकम हो । अहिले १२ मुलुकमा नेपाली सेनाका २१ मिसन तैनाथ छ । ती मिसनमा अधिकृत र जवान गरी पाँच हजार एक सय २९ सैनिक खटिएका छन् । तीमध्ये सैनिक जवान चार हजार नौ सय ७९, अधिकृत एक सय १३ र अब्जर्भर ३७ जना छन् । त्यसमा महिला सैनिकको संख्या एक हजार पाँच सय छ । उनीहरूका आर्मर्ड पर्सनल क्यारियर (एपिसी), हतियारलगायत सामग्री सेनाले उपलब्ध गराउँछ ।

चालू आर्थिक वर्ष ०७७–७८ मा भने करिब १३ अर्ब ९२ करोड रुपैयाँ मात्र भित्रिने सेनाले जनाएको छ । शान्ति मिसनमा सैनिक संख्या बढे पनि सैन्य उपकरण मर्मत र नयाँ खरिद गर्नुपर्ने भएकाले नेपाल भित्रिने रकम घट्ने सेनाको भनाइ छ । शान्ति मिसनका लागि आवश्यक सैन्य सामग्री खरिद र मर्मतका लागि सेनाले युगान्डामा लजिस्टिक बेसक्याम्प नै खडा गरेको छ ।

‘गत आर्थिक वर्ष शान्ति मिसनमा खटिएका सैनिक र उपलब्ध गराइएका सैन्य सामग्रीबाट करिब १५ करोड अमेरिकी डलर नेपाल भित्रिएको थियो । यस वर्ष यो रकम केही घट्न सक्ने हाम्रो अनुमान छ । हामीले दिने सैन्य उपकरण मर्मत र कतिपयलाई विस्थापित नै गर्नुपरेका कारण यो रकम केही तलमाथि हुने अनुमान हो ।’

शान्ति मिसन वरीयतामा नेपाल चौथो
शान्ति स्थापनार्थ सबैभन्दा धेरै सैनिक खटाउने मुलुकमध्ये नेपाल चौथो वरीयतामा छ । सेनाका अनुसार शान्ति मिसनका खटिने नेपाली सुरक्षाकर्मीको संख्या अहिले पाँच हजार सात सय १४ पुगेको छ । तीमध्ये नेपाली सेनाको संख्या पाँच हजार एक सय २९ छ । बाँकी पाँच सय ८५ जना भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी हुन् । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार शान्ति मिसनमा खटिने मुलुकको पहिलो वरीयतामा बंगलादेश (६,७३१), दोस्रो इथोपिया (६,६६२) र तेस्रो रुवान्डा (६,३२२) छन् । शान्ति सेना खटाउने सूचीको पाँचौँ वरीयतामा भारत (५३५३) र छैटौँमा पाकिस्तान (४,४४०) छन् । चीन भने नवौँ वरीयतामा छ, जसले आफ्ना दुई हजार पाँच सय ३१ सुरक्षाकर्मीलाई शान्ति मिसनमा पठाउँछ ।