१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
कमल मादेन
२o८१ बैशाख ३१ सोमबार o८:o७:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बाटो बिराएको बिनगुज

Read Time : > 5 मिनेट
कमल मादेन
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:o७:oo

उडान भर्ने क्रममा छुटेका एकाध टाइगा बिनगुज कहिलेकाहीँ चखेवा वा खोया हाँससँगको झुन्डमा मिसिएर दक्षिण एसिया आउँछन्

कोसी पक्षी समाजका अध्यक्ष सञ्जीव आचार्यले मंसिर ८ गते ‘बिनगुज’ भनिने पक्षीको तस्बिर कोसी टप्पुमा खिचे । यो पक्षी चखेवाको सानो झुन्डमा थियो । हिमालयन नेचरको पक्षीविद्समेत रहेका आचार्यले मंसिर १० र ११ गते यो पक्षी कोसी टप्पुमा त्यही झुन्डमा देखे । १२ गते भने त्यो पक्षी चखेवा र बार–हेडेड गुज मिश्रित करिब ८० वटाको एक झुन्डमा थियो । बिनगुज यसअघि कोसी टप्पुलगायत पूर्वी नेपालमा देखिएको थिएन । त्यो ठाउँका लागि यसको आगमन पहिलो रेकर्ड हो । यसको तस्बिर वन्यजन्तुप्रति अभिरुचि राख्नेका सामाजिक सञ्जाल एकाउन्टमा निकै हाइलाइट भयो । थपिएको योसहित कोसी टप्पु क्षेत्रमा पक्षी प्रजाति संख्या ५ सय ३१ पुगेको छ । यति संख्या भनेको देशभरको पक्षी प्रजातिमध्ये लगभग ६० प्रतिशत हो । सुनसरी, सप्तरी र उदयपुरको एक सय ७५ वर्गकिलोमिटर फैलिएको क्षेत्रमा यतिका पक्षी प्रजाति हुनु आश्चर्यजनकै हो । यसैले त्यहाँ पक्षी पर्यटन राम्रै चलेको छ । त्यो क्षेत्र विशेषतः हिउँदमा साइबेरियाबाट जाडो छल्न आउने जलचर पक्षीका निम्ति एक महत्वपूर्ण गन्तव्य मानिन्छ ।

नेपालका लागि बिनगुजको रेकर्ड यो नै पहिलो भने होइन । डेनिस फोटोग्राफर काज हल्बर्गले नेपालमा पहिलोपटक बिनगुज देखेको जानकारी पाइन्छ । गुगल इन्जिन सर्च गर्दा हलबर्ग लिखित ‘नोट्स फ्रम काज हल्बर्ग इन नेपाल, नोभेम्बर १९८५’ शीर्षकमा एक टिपोट भेटिन्छ । उक्त टिपोटअनुसार २८ नोभेम्बर १९८५ मा चितवन सौराहास्थित राप्ती नदीमा बिनगुज देखिएको थियो । टिपोटमा बिनगुज चखेवाको एक झुन्डमा थियो । ठुँडो सानो, खुट्टो पिन्किस (गुलाबी), पखेटाको माथिल्लो भाग शरीरको अन्य भागभन्दा फिका देखिएको त्यो पक्षी चखेवाभन्दा अलिकति ठूलो मात्र थियो । उनले ‘मैले सुरुमा यसलाई पिन्क फुटेट गुज भन्ठानेँ’ भनी लेखेका छन् । चितवनस्थित नारायणी नदी, जगदीशपुर कपिलवस्तु र पोखरा फेवातालमा यो पक्षी अहिलेसम्म करिब एक दर्जनपटक देखिएको जानकारी प्रकाशित छ । 

गुज : गुज भनेको पानीहाँसजस्तै तर अलि ठूलो जलपक्षी हो । गुजको बहुुवचन गिज (अंग्रेजीमा) हुन्छ । यसका अगाडिका तीन औँलाबीचको भाग हाँसको जस्तै पौडिन सजिलो हुने आकारमा हुन्छ । यसकारण गुजलाई हाँसलाई जस्तै वाटरफाउल पनि भनिन्छ । यसको खुट्टाको नलीहाड हाँसको भन्दा अलि लामो हुन्छ । गुजको घाँटी पनि हाँसको भन्दा लामै हुन्छ । हाँसको घाँटीमा १६ वटा वा त्यसभन्दा कम हाड हुन्छ । जबकि, गुजको १७ देखि २४ वटा हाड एक–आपसमा जोडिएको हुन्छ । हाँसका एक दर्जनभन्दा बढी जाति (जिनस) अन्तर्गत संसारभर एक सय हाराहारी प्रजाति छन् । तर, गिज समूहभित्र मात्र दुई जाति ब्ल्याक गिज (ब्रान्टा जाति) र ग्रे गिज (एन्सर जाति) छन् । यी दुई जातिअन्तर्गत दुई दर्जनभन्दा बढी प्रजाति छन् । अघिल्लोको खुट्टा कालो वा गाडा खैरो हुन्छ भने पछिल्लोको सुन्तले वा बैजनी (पिंक) हुन्छ । ह्वाइट गुजलाई स्नो गुज पनि भनिन्छ । यो ग्रे गुजकै एक प्रजाति हो ।

ब्ल्याक गिज मूलतः उत्तर अमेरिका र न्युजिल्यान्डका जलपक्षी हुन् । ब्ल्याक गुज संयुक्त राज्य अमेरिका र क्यानडामा यति धेरै हुन्छन् कि त्यहाँका विभिन्न राज्यले गुज हन्टिङलाई मनोरञ्जनका लागि खेलकै रूपमा लिने कानुनी प्रावधान बनाएका छन् । गुज हन्टिङमा ब्ल्याक र ग्रे गुज दुवै जातिका मारिन्छन् । गुज हन्टिङका भिडियो युट्युबमा प्रशस्त छन् । गुज विचरण गर्ने ठाउँमा गुजको डमी फैलाउने अनि गुजको आवाज निकालेर झुक्याई साथी खोज्दै आएका गुजलाई उड्दाउड्दै गोली हानी मार्ने गरिन्छ । एसियामा यस्तो कानुनी प्रावधान पाइन्न । ब्ल्याक गुजको एक प्रजाति रेड–ब्रेस्टेड गुज युरोप र उत्तर–पश्चिम एसियामा पाइन्छ । यो कहिलेकाहीँ बाटो बिराएर वा आपत्मा दक्षिण एसियासम्म आइपुग्छ । 

थपिएको योसहित कोसी टप्पु क्षेत्रमा पक्षी प्रजाति संख्या ५ सय ३१ पुगेको छ । यति संख्या भनेको देशभरको पक्षी प्रजातिमध्ये लगभग ६० प्रतिशत हो । सुनसरी, सप्तरी र उदयपुरको एक सय ७५ वर्गकिलोमिटरमा फैलिएको क्षेत्रमा यतिका पक्षी प्रजाति हुनु आश्चर्यजनकै हो । 
 

एसिया र युरोपको ग्रे गुजको मुख्य वासस्थान साइबेरिया हो । गुज मूलतः घाँटी, टाउको, छाती र ठुँडोको रङका आधारमा प्रजातिविशेषमा छुट्टिन्छ । शरीरको रङ उस्तै हुनेबीच ठुँडै मात्रको रङबाट पनि प्रजाति छुट्टिन्छ । कुनैको ठुँडो पूरै पहेँलो वा कालो वा पहेँलो–कालोको हिस्सा रहेको हुन्छ । नेपालमा ग्रे गुज अर्थात् एन्सर जातिअन्तर्गत बिनगुज, ग्रेटर ह्वाइट–फ्रन्टेड गुज, ग्रेल्याग गुज र बार–हेडेड गुज (खोया हाँस) आउँछन् । सबैभन्दा बढी बार–हेडेड गुज हरेक वर्ष करिब पाँच सयको संख्यामा आउँछन् । यसको मुख्य गन्तव्य कोसी टप्पु र चितवन राष्ट्रिय निकुञ्ज विशेषतः नारायणी नदी हो । 

गुज विशेषतः चखेवा भनिने पानीहाँससँग बथानमा विचरण गर्छ । कोलिन्स फिल्ड गाइड : बर्डस् अफ इन्डिया (सन् २०१४) शीर्षक पुस्तकअनुसार दक्षिण एसियामा ग्रे गुजको ६ र ब्ल्याक गुज एकसहित जम्मा सात प्रजातिका गुज साइबेरियाबाट आउँछन् । ‘बर्डस् अफ द इन्डियन सबकन्टिनेन्ट : अ फिल्ड गाइड’ (सन् २०११) शीर्षक पुस्तक र ‘साइटिङ अफ रेड–ब्रेस्टेड गुज ब्रान्टा रुफिकोलिज एट गंगा ब्यारेज, बिज्नो, उत्तर प्रदेश’ (सन् २०१४) शीर्षक लेखअनुसार भारतमा रेड–ब्रेस्टेड गुज केहीपटक देखिएको छ ।

तर, बिनगुज र ग्रेटर ह्वाइट–फ्रन्टेड गुज हरेक वर्ष नेपाल आउँदैन । तिनीहरू दक्षिण एसियाकै निम्ति भ्यागे्रन्ट अर्थात् कहिलेकाहीँ मात्र आउने पक्षी हुन् । यी दुवै प्रजाति उस्ताउस्तै देखिन्छन् । भिन्नता मुख्य गरी ठुँडोको रङमा हुन्छ । बिनगुजको ठुँडो बच्चामा कालो र वयस्कमा टुप्पोनिर थोरै भाग पहेँलो र बाँकी भाग कालो हुन्छ । ग्रेल्याग गुजको ठुँडो पूरै पहेँलो मात्र हुन्छ । घाँटीको रङ बिनगुजको गाडा खैरो र ग्रेल्याग गुजको हल्का खैरो हुन्छ । बिनगुज ७०–९० सेमी अग्लो र तौल १.७–३.७ केजी तौल र पखेटा फिजाउँदा १४०–१७५ सेमीसम्म हुन्छ । 

घरपालुवा संस्करण : गुज सुन्दर पक्षी पनि हो । यसलाई सोखका लागि पाल्ने गरिन्छ । यसबाहेक मासुका निम्ति पनि पालिन्छ । गुजलाई सबैभन्दा पहिले करिब ३५ सय वर्षअघि जर्मनीमा पालेको भनी लेखिएको भेटिन्छ । इजिप्टमा पनि तीन हजार वर्ष पहिले गुज पालिएको थियो । चीनमा एक–दुई हजार वर्ष पहिले प्रशस्तै पालिन्थ्यो । फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन अफ द युनाइटेड नेसन्स, रोमले सन् २००२ मा प्रकाशित गरेको एक लेख ‘एफ.ए.ओ. एनिमल प्रडक्सन एन्ड हेल्थ पेपर–१५४’ मा गुजका बारेमा प्रशस्त जानकारी छ । उक्त लेखअनुसार विशेषतः युरोप उद्भव मानिएको ग्रेल्याग गुज (एन्सर एन्सर) र एसिया उद्भव मानिने स्वान गुज (एन्सर साइग्नोइड्स) मासु र भुत्लाका लागि पालिन्छ । भुत्ला सजावटका लागि पनि हुन्छ । हामीकहाँ हुने सस्तो डाउन ज्याकेटको भित्री भागमा गुजका भुत्ला भरिएको हुन्छ । 

जंगली र घरपालुवा गुज करिब–करिब उस्तै देखिन्छन् । साइज र रङ भने थोरै अन्तर हुन्छ । सजिलै अनुमान गर्न सकिने तथ्य के हो भने जंगली गुज घन्टौँ उड्न सक्छन् । यसैले यसको पखेटाका मांसपेशी मजबुत, प्वाँख कडा, पखेटाको आकार ठूलो हुन्छ । यसका खुट्टा र विशेष गरी फिलामा मासुको मात्रा कम हुन्छ । घरपालुवा गुज उसै उड्न नपरेकाले यसका पखेटाका मांसपेशी जंगलीको जस्तो मजबुत हुन्न । यस्तै, प्वाँखको आकार र मजबुतीपनामा पनि फरक हुने नै भयो । जंगली गुज दुई–तीन हजार वर्षसम्म घरमा पाल्दा तिनमा देखिने गरी केही संरचना फेरबदल भएका हुन् । घरमा पालेका गुजमा शारीरिक बनावट केही फेरबदलबाहेक गर्मी सहन सक्ने क्षमता विकास भएको छ । युरोप तथा अमेरिकामा गुजपालनबाट मासु प्रशस्तै उत्पादन हुन्छ । भारतीय उपमहाद्वीपमा पनि उल्लेख्य गुजपालन भइरहेको छ । भनिन्छ, गुजको चल्ला हुर्काउन कुखुरा र हाँसको जस्तो जोखिम हुन्न । यसलाई हत्तपत्त रोगले समात्दैन । ज्यादै गर्मीमा भने यसलाई छहारीको आवश्यकता पर्छ । जंगली गुज घरपालुवाभन्दा लामो हुन्छ । 

अब कुरा गरौँ, बिनगुजको । यसको वैज्ञानिक नाम एन्सर फाबालिज हो । यो साइबेरियामा रूख भएको भूभागमा बस्छ । त्यसैले यसलाई टाइगा बिनगुज पनि भनिन्छ । गुज रूख नभएको घाँसे मैदानमा पनि रहन्छ । तिनलाई टुन्ड्रा गुज भनिन्छ । टाइगा बिनगुजको आनुवंशिक तहमा प्रशस्तै अध्ययन अनुसन्धान भइसकेको छ । आनुवंशिक अध्ययन नतिजाअनुसार टाइगा बिनगुजअन्तर्गत जम्मा पाँच उप–प्रजाति पत्तो लागेको छ । यसबाट ती गुजबीचमा रासायनिक पदार्थको संरचना केही फरक छ भन्ने हो । तिनीहरू फरक–फरक भूगोलमा बस्ने र अलग–अलग भूभागमा बसाइँ सर्ने भिन्न भौगोलिक उप–प्रजाति हुन् । एक अनुसन्धानात्मक लेखमा ‘एन्सर फाबालिज सेरिरोस्ट्रिस र एन्सर फाबालिज सेरिरोस्ट्रिस मिडेन्डोर्र्फी उप–प्रजाति बर्खामा पूर्वी साइबेरिया र हिउँदमा चीन, जापान र कोरियासम्म पुग्छ’ भन्ने लेखिएको छ । यसअन्तर्गतका अन्य तीन उप–प्रजाति पश्चिम साइबेरिया बस्छन् र हिउँदमा बसाइँसराइ पनि युरोपतिर हुन्छ । 

माथि उल्लेख गरियो कि पूर्वी साइबेरियाका टाइगा बिनगुज हिउँदमा चीन, जापान र कोरियामा जाडो छल्न जान्छ । यसरी उडान भर्ने क्रममा उतै छुटेका एकाध टाइगा बिनगुज कहिलेकाहीँ चखेवा वा खोया हाँससँगको झुन्डमा मिसिएर दक्षिण एसिया आउँछन् । यसरी नेपालमा अहिलेसम्म टाइगा बिनगुज केहीपटक देखिएको छ । तिनीहरू एन्सर फाबालिज सेरिरोस्ट्रिस वा एन्सर फाबालिज सेरिरोस्ट्रिस मिडेन्डोर्फीमध्ये कुन थिए वा यी दुई उप–प्रजातिबाहेक अन्य पो थिए कि भन्ने अहिलेसम्म अध्ययन हुन पाएको छैन । हामीकहाँ आइपुग्ने बिनगुज कुन उप–प्रजातिका हुन् भन्ने जानकारी कहिले होला ? यसतर्फ चराविज्ञले अध्ययन गर्नुपर्छ । अन्यथा, हामीसँग गहन अध्ययन अनुसन्धान गर्ने ल्याकत छैन, यसैले त्यो बिनगुज मात्र हो भनेर बुझौँ भनेर भन्नुपर्‍यो !

ad
ad