१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
सागर चन्द सोलुखुम्बु
२o८१ बैशाख ३१ सोमबार १o:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

सडक सञ्जालमा जोडियो खुम्बु क्षेत्र

Read Time : > 1 मिनेट
सागर चन्द, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:oo:oo

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएको छ । यसअघि खुम्बु क्षेत्रमा पुग्न महँगो हवाई यात्रा र कष्टकर पैदल यात्राबाहेक अर्को विकल्प थिएन । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र माप्य दूधकोसी गाउँपालिकाको सिमानामा पर्ने दूधकोसीको अर्लाङघाटमा पुल निर्माण भएपछि सोलुखुम्बु जिल्लाको माथिल्लो क्षेत्र खुम्बु सडक सञ्जासँग जोडिएको हो ।

सडक सञ्जालले खुम्बुलाई सोलुसँग जोडेपछि खुसी देखिएका माप्य दूधकोसी गाउँपालिका–२ का रामबहादुर राईले विगत सम्झिँदै भने, ‘उहिले यो खोला (दूधकोसी) बाबियोको डोरीमा झुन्डेर पो तर्नुपथ्र्यो ।’

खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएसँगै विश्वकै चर्चित पर्यटकीय गन्तव्य सगरमाथा प्रवेश सहज भएको खुम्बु पासाङल्हामु गाउँपालिकाकी कार्यबाहक अध्यक्ष टासी ल्हामु शेर्पाको भनाइ छ । उनी भन्छिन्, ‘खुम्बु क्षेत्र आउन लुक्ला, फाप्लुसम्म महँगो भाडा तिरेर जहाज चढ्नुपथ्र्यो । हवाई यात्रा सम्भव नभएमा सल्लेरीसम्म गाडी र त्यसपछि पैदल यात्रा गर्नुपथ्र्यो । तर, अब भने गाढी चढेरै खुम्बु क्षेत्र पुग्न सकिने भएपछि विदेशी मात्र नभई आन्तरिक पर्यटकको संख्या पनि बढ्नेछन् ।’ खुम्बु क्षेत्रमा बर्सेनि ४० देखि ५० हजार पर्यटक भ्रमण गर्छन् ।

थामडाँडासम्म सवारीसाधन
दूधकोसी नदीमा पुल सञ्चालन भएसँगै खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं. १, थामडाँडासम्म सवारीसाधन पुग्न थालेका छन् । यही वर्षभित्र खुम्बुको चौँरीखर्कसम्म गाडीमार्फत आवतजावत गर्न सकिने अध्यक्ष शेर्पा बताउँछिन् ।

खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएपछि खुम्बु क्षेत्रमा दैनिक उपभोग्य सामग्री र पर्यटकलाई लाग्ने भ्रमण खर्च पनि सस्तो हुने बताउँछन् स्थानीय आङफुर्वा शेर्पा । शेर्पा भन्छन्, ‘रोड नहुँदा खाद्यान्न, नुन, तेलजस्ता सबै चिज हेलिकोप्टर र प्लेनबाट ओसार्दा महँगो हुन्थ्यो । गाडीले ढुवानी गरेपछि त अब सस्तो हुन्छ ।’

पर्यटकलाई राहत
हवाई र पैदल यात्राबाट मात्र पुग्न सकिने खुम्बु क्षेत्र सडकसँग जोडिएपछि विदेशी मात्र नभई आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि हुने विश्वाश व्यक्त गर्छन् स्थानीय गोम्बु शेर्पा (कज्र्याङ) । यसअघि सडक सञ्जाल नहुँदा लुक्ला र स्याङ्बोचे विमानस्थलको मौसम खराब हुँदा, हिउँ पर्दा हप्तौँसम्म पर्यटकहरू फर्किन सक्दैन थिए । 

खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएपछि मौसम सफा हुने प्रतीक्षा गरेर पर्यटकले लामो समय कुर्नुपर्ने समयको अन्त भएको छ । ‘मौसम सफा हुने समय कुर्दाकुर्दा कतिको भिसाको म्याद सकिन्थ्यो । कतिको खर्च सकिन्थ्यो । अब त मौसम सफा भएन भने पनि गाडीबाट सरर आउ–जाउ गर्न सकिन्छ,’ स्थानीय गोम्बु शेर्पाले भने ।

सडकमार्ग हुँदै काठमाडौंबाट बिपी राजमार्गबाट ओखलढुंगा, सल्लेरी हुँदै दूधकोसी किनार पुग्न सकिन्छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट ३८ किलोमिटर सडक यात्रा पार गरेपछि ओर्लाङघाट पुगिन्छ । आर्लाङघाटबाट २५ किलोमिटर सडक पार गरेपछि थामडाँडा पुग्न सकिन्छ । थामडाँडाबाट पाँच घन्टाको पैदल यात्रा तय गरेपछि लुक्ला पुग्न सकिन्छ ।

सडक सञ्जालले खुम्बु क्षेत्र मात्र नभई सोलुका सेलिगुढी, खास्ताप, काँकु, राप्छा, ठूलीढुंगा, ओर्लाङघाट, अँधेरी, जुभिङ, खरीखोला, बुप्सालगायतका एक दर्जन बस्तीलाई पनि सडक सञ्जालसँग जोडेको बताउँछन् माप्य दूधकोसी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई ।

सात करोड २९ लाख ९७ हजार दुई सय रुपैयाँ लागतमा निर्माण भएको पुलका लागि सांसद निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड, प्रदेश सरकारबाट दुई करोड र बाँकी बजेट माप्य दूधकोसी र खुम्बु पासाङल्हामु गाउँपालिकाले संयुक्त रूपमा विनियोजन गरेका थिए ।

ad
ad