मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १६:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

४३ दिनपछि खुल्यो प्रतिष्ठानको ताला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१८:oo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले तेस्रो डिनका रूपमा मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि प्रतिष्ठानकाे कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि  तालाबन्दी गरेकाे थियाे ।

प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकविना प्रतिष्ठानको सम्पर्क कार्यालयबाटै तेस्रो डिन नियुक्ति गरी संस्थालाई आर्थिक भार पारेको भन्दै समाजले डिन नियुक्ति खारेजी गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको थियो । 

उपकुलपति प्रा.डा. वाग्लेले सम्पर्क कार्यालय काठमाडौंबाट प्रतिनिधिमण्डल खटाएर पटक-पटक वार्ता गर्न निर्देशन दिए पनि तालाबन्दी खुल्न सकेको थिएन । पछि आफैँ केन्द्रीय कार्यालयमा आएका उपकुलपतिले आन्दोलनरत पक्षसँग वार्ता बस्न नमान्दा प्रतिष्ठानमा विवाद निम्तिएको थियो ।

अन्त्यमा आएर प्रतिष्ठानको कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोली माग गरिएको तीनवटा मुख्य बुँदामा सहमति भएपछि ताला खुलेको समाजका अध्यक्ष रामाकान्त उपाध्यायले जानकारी दिए । 

सहमतिमा नियुक्त भएका डिन र अन्य डिनहरूको सम्बन्धमा तीन सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेस गरेको प्रतिवेदन कार्यकारी परिषदमा पेस गर्ने सहमति भएको छ । 

त्यस्तै प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई एकजना डिन प्रमुख रहने र अन्य संकायका डिन सहायक डिन रहने सहमति भएपछि ताला खोलिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

त्यस्तै, ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरूलाई एक हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सार्ने सहमति भएको र प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरू विशेष कामबाहेक पूरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बसेर काम गर्ने सहमति भएको छ ।

गत २६ असोजमा प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकुलपति राजेन्द्रराज वाग्लेले स्वास्थ्य संकायको डिनमा प्रा.डा. मुनिराज क्षेत्रीलाई नियुक्त गरेका थिए ।
प्रतिष्ठानमा कार्यरत कुनै पनि कर्मचारी बाहिर काम गर्न नपाउने र दोहोरो सुविधा भोग गर्न नपाउने ऐनमा उल्लेख भएअनुसार गर्नुपर्ने भन्दै कर्मचारीहरू आन्दोलन गरेका थिए ।

यसैगरी ताला खुलेपछि प्रतिष्ठानका उपकुलपति वाग्लेको कार्यकक्षमा पत्रकारले सूचना र प्रतिक्रिया लिन खोज्दा कार्यकक्षमै नपसेर  बाहिरिएको थिए ।