बाग्लुङमा ट्याक्सी र जिप दुर्घटना, एकको मृत्यु

बुधबार, १० मंसिर, २०७७
डिजिटल संस्करण

जिल्लाको ढोरपाटन नगरपालिका– २ मा मंगलबार राति ट्याक्सी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका– ७ भिमगिठेदेखि बुर्तिबाङतर्फ जाँदै गरेको ध.१ज ५४२ नम्बरको ट्याक्सी दुर्घटना हुँदा  चालक बडिगाड गाउँपालिका– ६ का २२ वर्षीय  नहकुल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । 

ट्याक्सी मंगलबार राति पौने १० बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्सी सडकदेखि करिब दुई सय मिटर तल बडिगाड खोलामा खसेको बताइएको छ । ट्याक्सी  खोलामा खसेपछि चालकलाई बडिगाड खोलाले  बगाएर दुर्घटना स्थलदेखि दुई किलोमिटर तल पुर्याएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका सइ मंगल गुरुङले जानकारी दिए ।

त्यसैगरी, मंगलबार राति नै सोही स्थानमा लु.२च ९१९९ नम्बरको जिप पनि दुर्घटनामा परेको छ ।  बडिगाडदेखि बुर्तिबाङ बजारतर्फ जाँदै गरेको उक्त जिप सडकदेखि एक सय ५० मिटर तल खसेको प्रहरीको बताएको छ । जिपका चालक बडिगाड गाउँपालिका– ९ का २२ वर्षीय किरण केसी सकुशल रहेका छन् । के कारणले घटना भयाे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । 

सुझावित समाचार