१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १५:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

साख्वाको योगदानलाई कदर गर्दै रत्नपार्कको नाम परिवर्तन गरेको र सालिक बनाएको हो : प्रमुख शाक्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:oo:oo

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् नेवार समुदायको मात्रै नभई सबै नेपालीको संवत् भएको बताएका छन् । 

मध्यपुरथिमि नगरपालिकाको शंखधर चोकमा शंखधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

अहिलेभन्दा ११४१ वर्षअघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका राष्ट्रिय विभूति साख्वाःको सम्मानमा शंखधर दिवसको अवसर पारेर उद्घाटन गरेको भवनले साख्वाःको योगदानलाई चिरस्मरणीय बनाउने मेयर शाक्यले बताए । 

‘कतिपयलाई नेपाल संवत् नेवार समुदायको मात्रै हो भन्ने भ्रम हुने गरेको छ,’ शाक्यले भने, ‘नेपाल संवत् राष्ट्रिय संवत् हो । यो सबै नेपालीको संवत् भएकाले यसमा कसैले पनि भ्रम पाल्नुहुँदैन ।’ 

‘केही दिनअघि मात्रै काठमाडौं महानगरपालिकाले उल्लेखनीय योगदान दिएका वैभव व्यक्तित्व साख्वाःको अमर योगदानको सम्मान गर्दै ‘शंखधर उद्यान’ मा सालिक स्थापना गरिसकेको छ,’ शाक्यले भने, ‘राज्यलाई योगदान गरेका व्यक्ति, सहिद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन् र सम्झिरहुन् भन्ने हेतुले महानगरपालिकाले उहाँहरूको सम्मानमा सालिक निर्माण गर्दै आएको छ ।’ 

मेयर शाक्यले साख्वाःको सम्मानमा उनलाई चिरकालसम्म सम्झनका लागि सालिक निर्माण होस् भन्ने जनस्तरको चाहनालाई महानगरपालिकाले पूरा गर्ने अवसर प्राप्त गरेको पनि स्मरण गराए । 

‘जनस्तरको चाहनाअनुसार हामीले शंखधरको सालिक निर्माण गरेका हौँ,’ उलने भने, ‘शंखधरजस्तो राष्ट्रिय व्यक्तित्वलाई सानो ठाउँमा सालिक बनाएर राखियो भनेर कता–कताबाट गुसानो आएको पनि सुनेको छु । म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु– राष्ट्रिय विभूति शंखधरको सम्मानका महानगरपालिकाले कुनै कन्जुस्याइँ गर्ने छैन । शंखधरको भव्य सालिक निर्माणका लागि उपयुक्त स्थान उपलब्ध कसैले गराउँछ भने हातेमालो गर्न र आर्थिक सहयोग गर्न महानगरपालिका तयार छ ।’ 

कार्यक्रममा बोल्दै मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई साख्वाःले आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेको बताए । 

उनले नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमी अर्थात् वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको स्मरण गराउँदै उनको सम्मानमा सामुदायिक र प्रतिष्ठानको भवन निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । 

श्रेष्ठले नगरपालिकाको ९० लाख, सांसद महेश बस्नेतको सांसद कोषबाट ५० लाख र शंखधर प्रतिष्ठानको तर्फबाट जनश्रमदानसहित १० लाख गरी एक करोड ५० लाखमा सो भवन उपभोक्ता समितिमार्फत निर्माण भएको जानकारी दिए । उनले भवनमा सूचना केन्द्र, संग्रहालय र हल रहने पनि बताए । 

साख्वाःको इतिहास भक्तपुर र काठमाडौंसँग जोडिएको स्मरण गराउँदै उनले काठमाडौं महानगरपालिकाको नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गतको आर्थिक सहयोगमा शंखधर पार्क निर्माण भइरहेको पनि जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले साख्वाःको सम्मानमा नगरपालिकाले गरेको सम्मानको तारिफ गरे ।

ad
ad