मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार ०६:३६:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक उडान खुलेसँगै देशैभर पर्यटकको चहलपहल

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार ०६:३६:००

आन्तरिक उडान खुलेसँगै देशैभरि आन्तरिक पर्यटकहरू घुमफिरमा निस्कँदा अर्थतन्त्रसमेत चलायमान हुन थालेको छ । ११ चैतदेखि गरिएको बन्दका कारण एयरलाइन्स क्षेत्र पनि झन्डै सात महिनापछि ५ असोजदेखि आन्तरिक उडान खुलाइएको थियो । आन्तरिक उडान खुलेसँगै पर्यटकहरूको गतिविधि खासगरी पोखरा र सौराहालगायतका क्षेत्रका होटेलहरू भरिभराउ भएका छन् ।

अन्य गन्तव्यमा जाने यात्रुहरू पनि हवाई उडानलाई नै प्राथमिकता दिन थालेका छन् । विगतमा सार्वजनिक यातायातमार्फत यात्रा गर्ने यात्रुहरू पनि हवाई उडानमार्फत गरिरहेका छन् । यसमा एयरलाइन्स कम्पनीहरूले मध्यम वर्गीय यात्रुलाई केन्द्रित गरेर टिकटदर सस्तो बनाएका कारण पनि हवाई यात्रुहरू बढेका छन् । 

‘अहिले एयरलाइन्सहरूले खासगरी मध्यम वर्गीय यात्रुलाई केन्द्रित गरेका कारण हवाई यात्रुहरू बढिरहेका छन्, अर्को कुरा सुरक्षाको दृष्टिले पनि हवाई यात्रा सबैको रोजाइमा परेको छ,’ बुद्ध एयर प्रालिका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने । झन्डै सात महिना बन्द भएर गत ५ असोजदेखि खुला भएको आन्तरिक उडानमा पनि हवाई यात्रुको चाप बढ्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार आन्तरिक यात्रुको वृद्धि उत्साहप्रद रहेको छ । ‘भाडा सस्तो भएका कारण पनि धेरै नेपालीहरू हवाईमार्फत यात्रा गरिरहेका छन्, अर्को सुरक्षा पनि हवाई यात्रामै बढी विश्वास हुनु हो,’ क्षत्रीले भने । 

कोभिड–१९ को संक्रमणका बीच पछिल्लो महिनामा दैनिक ६२ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन क्रम बढ्दै गएको समेत छ । सरकारले गत १ कात्तिकदेखि विदेशी पर्यटकका लागि नेपाल भ्रमणमा आउन खुला गरेको थियो । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० को अक्टोबर महिनामा मात्रै १ हजार ८ सय ७४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आन्तरिक पर्यटकहरूले देशैभरि गतिविधि बढेका कारण पर्यटन क्षेत्रमा उत्साह छाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले बताए । 

चलायमान गराउन घाटामै टिकट बिक्री गरिरहेका छाैँ
५ असोजदेखि आन्तरिक उडान खुलेको छ । ७ महिना बन्द भएर त्रासका बीच एयरलाइन्स सञ्चालनमा आएका छन् । यात्रु र उडानको हिसाबले कस्तो अवस्था छ ? 
कोभिड–१९ का कारण चैतदेखि बन्द भएको उडान खुलेको दुई महिना भएको छ । पछिल्लो समय मुभमेन्टको हिसाबले एकदमै राम्रो छ । धेरै मानिसले उडानमार्फत नै यात्रा गर्न खोजेको देखिन्छ । बुद्ध एयरको हकमा कुुरा गर्ने हो भने सरकारले बन्द गरेको एक महिनापछि नै हामीले संक्रमितरहित यात्राको कुरा उठाएर तयारी पनि थालेका थियौँ । उडानका निर्देशिकाहरू बनायौँ । जसका कारण अहिले संक्रमितरहित उडान गर्न सफल भएका छौँ ।

यात्रुहरूमा धेरै कन्फिडेन्स पनि बढ्दै गएको छ । सामान्य समयमा बुद्ध एयरले दैनिक ४ हजार ५ सय यात्रुलाई सेवा दिइरहेको हुन्थ्यो । बन्दपछि खुलेको एयरलाइन्समा बिस्तारै यात्रुहरू बढ्ने क्रममा छ । अहिले ३ हजार ७ सय यात्रुलाई बुद्ध एयरले मात्रै सेवा दिइरहेको छ । तर, उड्ने यात्रुहरू भने मध्यम वर्गीय छन् । हिजो उडेका यात्रु त्यति उडेको अवस्था छैन । पर्यटकहरू आउन सकेको अवस्था छैन । सरकारी निकाय तथा एनजिओ–आइएनजिओ तथा कूटनीतिक नियोगका यात्रुहरू भने उडेका छैनन् । जो मध्यम वर्गीय यात्रुहरू, जो सार्वजनिक यातायातमा यात्रा गर्नेहरू अहिले उडानमार्फत यात्रा गरिरहेका छन् । जुन एयरलाइन्स कम्पनीहरूका लागि सकारात्मक विषय हो । 

 हवाई उडानमा एयरलाइन्सको टिकट त एकदमै सस्तोदरमा बिक्री भइरहेको छ, कसरी धानिन्छ खर्च ? 
अहिलेको टिकटदरको कुरा गर्ने हो भने बसको भन्दा सस्तो एयरलाइन्सको टिकट छ । हामीले मध्यम वर्गीय यात्रुलाई आकर्षित गर्न टिकट सस्तोमा दिइरहेका छाैँ । अर्को कुरा, अहिले एयरलाइन्सको खर्चमा केही कटौती भने भएको छ । पहिलो कुरा तेलको मूल्य घटेको छ । पहिले झन्डै १ सय प्रतिलिटर तेलको अहिले मूल्य ६५ रुपैयाँ रहेको छ । यसले एयरलाइन्सको खर्चलाई धेरै घटाएको छ । तलब–भत्ता १० देखि ३० प्रतिशतसम्म घटाएका छाैँ ।

यसले पनि केही खर्च घटेको छ । नयाँ मर्मत र स्पेयर्स पार्टस्मा पनि केही खर्च कटौती भएको छ । तैपनि, घाटा भने अवश्य छ । हामीले घाटामै पनि चलायमान बनाउन उडाइरहेका छौँ । ६ महिना बन्द भएको अवस्थालाई चलायमान गरेर उडान त गर्न सकेका छाैँ। यति लामो समय बन्द हँुदा ११ सय कर्मचारीमध्ये एकजना पनि कटौती गरेनौँ । कम्तीमा अहिले नगद प्रवाह भएको छ । अब यो मंसिरको महिना एयरलाइन्सहरूले राम्रै बिजनेस गर्छन् । पुस महिना केही समस्या हुने देखिएको छ । माघपछि भने राम्रै्र बिजनेस गरेर करिब–करिब पुरानै अवस्थामा आन्तरिक उडान पुग्ने देखिन्छ । 

अहिले पनि भारतसँग उडान हुन सकेको छैन । यसबाट कति असर परेको छ ? 
अहिले भारतसँग उडान नहुँदा अन्तर्राष्ट्रिय यात्रुहरूमा कमी आएको छ । नेपालमा आएर हप्ताैँसम्म क्वारेन्टाइनमा बस्ने गरी घुम्न आउने अवस्था छैन । अहिले पर्यटन मन्त्रालयले क्वारेन्टाइन हटाउने कुरा गर्दै आएको छ । जुन सकारात्मक छ । पछिल्लो समय पर्यटकहरू आउने गरेका छन् । दैनिक ७० जना हाराहारी आइरहेका छन् । अब ३० मिनेटमै पिसिआर परीक्षण हुने अवस्था छ । नेपालको पनि विमानस्थलमै परीक्षण गर्ने व्यवस्था हुनुपर्छ । अर्को कुरा, भारततर्फको उडान खुल्नैपर्छ । भारत भनेको शिक्षा, स्वास्थ्यदेखिका पर्यटक आउने मुख्यद्वार पनि हो । 

 अबको पर्यटन क्षेत्रलाई गतिशील बनाउन के गर्न आवश्यक छ ? 
मेरो विचारमा अहिले गतिशील भइसकेको अवस्था छ । कोभिड–१९ भन्दा अगाडि पोखरामा ८ वटा उडान गर्ने गरेका थियौँ । अहिले ७ वटा उडान गर्न थालिसक्यौँ । उडान खुलेपछि पोखरा र सौराहाका होटेलहरूको अकुपेन्सी शतप्रतिशत छ । यसले सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । अन्य क्षेत्रमा पनि नेपालीहरू समूह–समूहमा घुम्न जाने क्रम बढ्दो छ ।

पहिलो चरणको चलायमान भइसकेको अवस्था हो । दोस्रो चरण भनेको मानिसहरू बिस्तारै डराउन छाडेका छन् । अर्को कुरा, अब भ्याक्सिन आउने अन्तिम चरणमा परीक्षणहरू भइरहेका छन् । भ्याक्सिन आइसकेपछि आन्तरिक र विदेशी पर्यटक दुवैको बाढी आउँछ । सन् २०२१ को सेप्टेम्बरसम्ममा नेपालमा अप्रत्याशित पर्यटकको आगमन हुन्छ । 

 बुद्ध एयरका विभिन्न प्रोजेक्टहरू रोकिएका छन् । अब आगामी दिन कसरी अगाडि बढ्छ ?
बुद्धका दुईवटा कार्यक्रमहरू रहेका छन् । पहिलो दुर्गम क्षेत्रमा उडान गर्ने । जुन अब ठोस कार्यक्रमसहित आउँदै छौँ । सक्यौँ भने सन् २०२१ को सेप्टेम्बरबाट सुरु गर्नेछौँ । अमेरिकन एक जहाज सेस्ना कम्पनीले अहिले डबल इन्जिनको जहाज बनाउँदै छ । नेपालमा उक्त जहाजले लुक्ला उडान गर्न सक्यो भने सोही जहाजमार्फत दुर्गम क्षेत्रमा उडान गर्नेछाैँ । हामीले ३ वटा जहाजमार्फत उडान गर्नेछौँ ।

प्राविधिक रूपमा उक्त जहाज उडान गर्न नसक्ने अवस्थामा ट्विनअटर जहाजमार्फत दुर्गम क्षेत्रमा उडान गर्नेछौँ । अर्को अन्तर्राष्ट्रिय उडानको कुरा पनि छ । पोखरा विमानस्थललाई आधार मानेर उडान गर्न खोजेका हौँ । अब विमानस्थल निर्माण सम्पन्न भइसकेपछि कहाँ–कसरी रुट खुल्छ, त्यसपछि सुरु गर्नेछौँ । अहिले पोखरालाई केन्द्रित गरेर बसेका छाैँ । विमानस्थलमा ठूला जहाज उड्न सक्दैनन् । भुटानको पारो विमानस्थलको जस्तो अवस्था छ । अब निर्माण भएपछि ठोस योजनासहित आउनेछाैँ । अन्तर्राष्ट्रिय उडानमा बनारस–भारतसँग खुल्नेबित्तिकै फेरि उडान गर्नेछौँ । यता कोलकाताको विषयचाहिँ सानो जहाजमार्फत उडान गर्न नसक्ने भयाैँ । त्यसैले ब्याक भएका हौँ ।