१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ८ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ८ सोमबार ११:४६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दर्तावाल लेखापरीक्षकलाई चार्टर्ड एकाउन्टेन्ट बनाउँदै आइक्यान, सिएहरूको चर्को विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ८ सोमबार ११:४६:oo

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले अनुभवका आधारमा दर्तावाल लेखापरीक्षक (आरए)लाई चार्टर्ड एकाउन्टेन्ट्समा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाएको छ ।

यसका लागि आइक्यान परिषद्ले केही महिनाअघि एक अध्ययन समिति (टास्क फोर्स) गठन गरेको थियो । आइक्यानका वर्तमान अध्यक्ष स्वयं संयोजक रहेको उक्त समितिले विभिन्न सर्तसहित दर्तावाल लेखापरीक्षकलाई सिएमा स्तरोन्नति गर्न सकिने राय पेस गरेको छ ।

समितिकै रायअनुसार आइक्यान परिषद्ले आरएलाई सिए बन्न दिने सहजीकरण गर्न लागेको हो । 

आइक्यानको आइतबार साँझ बस्ने परिषद् बैठकले समितिको प्रतिवेदन पारित गर्ने र आरएलाई कसरी सिए बनाउन सकिन्छ र कुन–कुन विषयमा परीक्षामा छुट दिन सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने जिम्मा आइक्यानको बोर्ड आफ स्टडिजलाई दिने तयारी छ ।

समितिले भने आरएले सिए अध्ययन गर्न चाहेमा उनीहरूले अन्य विश्वविद्यालयमा पढेको विषय म्याच गरी छुट दिन सकिने, एक वर्ष मात्र आर्टिकलसिप (फिल्डमा गर्नुपर्ने काम) गर्नुपर्ने, त्यो पनि लगातार नभई जति वर्षमा लगाएर भए पनि एक वर्ष आर्टिकलसिप गरेको भए हुने र आर्टिकलसिप अवधिमा लेखापरीक्षणको इजाजत स्थगन गर्नुनपर्नेलगायतका सुझाब दिएको छ ।

राय प्रतिवेदन तयार गर्नुअघि समितिले लेखा व्यवसायसम्बद्ध सम्पूर्ण निकायहरूसँग छलफल गरी सुझाब लिइएको दाबी गरेको छ ।

यता सिएहरू र सिएहरूको संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले भने समितिले कुनै राय–सुझाब नलिएको विज्ञप्ति जारी गरेको छ । उसले सिएजस्तो व्यावसायिक अध्ययनको आफ्नै विश्वव्यापी मान्यता र प्रक्रिया रहेकाले आइक्यानले त्यसलाई क्रमभंग नगरी पूर्ण रूपमा पालना गर्न सुझाबसमेत दिएको छ ।

‘समितिले संघ र संघका कुनै पदाधिकारीसँग छलफल गरेको जानकारीमा आएको छैन,’ संघका महासचिव तेज सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सिए अध्ययनका आफ्नै अन्तर्राष्ट्रिय मापदण्ड रहेकाले समितिको सुझाबअनुसार आइक्यानले निर्णय गरे आफूहरू जस्तोसुकै कडा कदम पनि चाल्न बाध्य हुनेछाैँ ।’ 

अन्य विभिन्न सिए संगठन र सिए विद्यार्थीले पनि समिति र आइक्यानको कदमप्रति चर्को विरोध जनाएका छन् । सिएहरू र सिए अध्ययनरत विद्यार्थीले आइक्यानको यो कदमविरुद्ध आइक्यान घेराउ गर्ने कार्यक्रम राखेका छन् ।