१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ६ शनिबार
  • Wednesday, 02 July, 2025
एजेन्सी
२o७७ मङ्सिर ६ शनिबार १४:५४:oo
Read Time : > 3 मिनेट
फिचर

उत्तर कोरियाको आधा जनसंख्या धुम्रपानको लतमा, धुम्रपान नियन्त्रण गर्न काडा कानुन जारी

Read Time : > 3 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ मङ्सिर ६ शनिबार १४:५४:oo

उत्तर कोरियाका विषयमा बाँकी विश्व अन्जानजस्तै छ । बाँकी संसारबाट अलग रहेको उत्तर कोरियाका हरेक जानकारी तथा सूचना नयाँ र नौलो लाग्छन् । यसै क्रममा उत्तर कोरियाली सरकारले आफ्ना नागरिकको धुम्रपानको लत हटाउन हालै मात्र एक कानुन नै बनाएको सार्वजनिक भएको छ । आफ्ना नागरिकहरूले अत्यधिक धुम्रपान गर्न थालेपछि सरकारले धुम्रपान नियन्त्रणसम्बन्धी कानुन बनाएको सार्वजनिक भएको छ ।

हुन त उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन स्वयं सार्वजनिक स्थलमै धुम्रपान गरिरहेका देखिन्छन् । कतिपय अवस्थामा किम दायाँ हातमा चुरोट समात्दै आफ्ना सहकर्मीसँग गफमा मस्त हिँडडुल गरिरहेका दृश्य सञ्चारमाध्यमहरूमा देखिन्छन् । विश्लेषकहरू नेता किमले नै आफ्ना जनतालाई धुम्रपानतर्फ आकर्षित गरेको आरोप लगाउँछन् । यद्यपि, उत्तर कोरियाले धुम्रपान न्यूनीकरण गर्न अभियान नचलाएको भने होइन । तर, जतिपटक अभियान चलाए पनि त्यसले सफलता प्राप्त गर्न सकेको छैन । 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को तथ्यांकअनुसार उत्तर कोरियामा जनसंख्याको आधा पुरुष धुम्रपान गर्छन् । पछिल्लो समय महिला पनि धुम्रपानको कुलतमा फस्दै गइरहेका छन् । तर, यहाँ सरकारले महिलालाई चुरोट सेवन गर्न प्रतिबन्ध लगाएको छ । उत्तर कोरियामा महिलाले चुरोट खानुलाई नराम्रो मानिन्छ । 

उत्तर कोरियामा धुम्रपान कम गर्न सरकारले यसै नोभेम्बरदेखि लागू हुने गरी एउटा नियम बनाएको छ । सरकारको यो नियम संसद्बाटै पारित भएको छ । नयाँ नियमअनुसार अब सार्वजनिक स्थलमा पूर्ण रूपले धुम्रपान निषेध गरिएको छ । 

नयाँ कानुनमा के छ ?
उत्तर कोरियाली सरकारले चुरोट सेवनमा प्रतिबन्ध र रोकथाम कानुन ल्याएको छ । सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै यो नयाँ कानुन ल्याएको अधिकारीहरूले जनाएका छन् । संस्थान, सरकारी तथा सर्वसाधारणले अनिवार्य रूपमा यो नियम पालना गर्नुपर्नेछ । अब उत्तरकोरियामा चुरोट उत्पादनमा थप कडाइ हुने छ । नयाँ नियमअनुसार सरकारी कार्यालय, स्कुल, विश्वविद्यालय, सिनेमा घर, जनस्वास्थ्य संस्थान तथा सार्वजनिक यातायात क्षेत्रमा धुम्रपानमा प्रतिबन्ध लगाएको छ । 

यदि कसैले यो नियम तोडे कडा कारबाहीको भागीदार हुनुपर्नेछ । सरकारी मिडिया केसिटि (कोरियन सेन्ट्रल टेलिभिजन) ले यसै साता सार्वजनिक गरेको एक रिपोर्टमा चुरोटको लत भएका व्यक्तिमा कोरोना भाइरस संक्रमितको जोखिम उच्च हुने उल्लेख छ । केसिटिले रिपोर्टमा विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग सल्लाह गरेको जनाएको छ । 

अभियान कहिले सुरु भएको ?
उत्तर कोरियाले पनि डब्ल्युएचओसँग धुम्रपान नियन्त्रणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । सन् २००५ मा उत्तर कोरिया र डब्ल्युएचओबीच सो सम्झौता भएको थियो । त्यसैवेलादेखि उत्तर कोरियाले धुम्रपान नियन्त्रण अभियान चलाएको छ । डब्ल्युएचओसँगको सम्झौताअनुरूप चुरोट बनाउने कम्पनीले अनिवार्य रूपमा चुरोटको बट्टामा चेतावनी सन्देश राख्नुपर्ने उल्लेख छ । 

सन् २०१९ मा उत्तर कोरियाली सरकारले चुरोट प्रयोगकर्ता कम गर्न एक अभियान चलाएको थियो । सो अभियानमा सार्वजनिक स्थल, स्कुल, अस्पताल तथा सरकारी कार्यलयमा चुरोट तान्दै गरेको व्यक्तिहरूको तस्बिर विभिन्न टेलिभिजनमा देखाइएको थियो । कोरियन सेन्ट्रल टेलिभिजनले त्यस्ता व्यक्तिलाई ‘लाज नभएको व्यक्ति’ भनी ट्याग भिराएका थिए । ‘बिहानदेखि रातिसम्म चुरोट सल्काउने व्यक्तिलाई हामी लाज नभएका भन्छौँ,’ सेन्ट्रल टेलिभिजनको कार्यक्रममा भनिएको थियो । उत्तर कोरियाको सरकारी मिडियाले यसै वर्ष धुम्रपानविरुद्ध एक वेब पोर्टल पनि सार्वजनिक गरेको छ । 

अभियानको असर
उत्तर कोरियाका स्वास्थ्य अधिकारीहरूले सरकारले चलाएको धुम्रपानविरुद्धको अभियानको प्रभावबारे विश्लेषण गरेका छन् । यसैगरी हावर्ड मेडिकल स्कुल अफ कोरियन हेल्थ पोलिस प्रोजेक्टका निर्देशक बी पार्कका अनुसार पछिल्लो ११ वर्षमा उत्तर कोरियामा धुम्रपान गर्नेको संख्यामा कमी आएको छ । ‘२००९ मा कुल जनसंख्यामध्ये ५२.३ प्रतिशत पुरुष धुम्रपान गर्थे, अहिले यो प्रतिशत घटेर ४६.१ मा आएको छ ।’ यो ११ वर्षमा उत्तर कोरियाले १३ पटक धुम्रपान नियन्त्रणसम्बन्धी अभियान चलाएको छ । राजधानी प्योङयाङमा धुम्रपान गर्ने व्यक्ति कमै मात्रामा देखिएको पार्कले जनाए । ‘प्योङयाङमा धुम्रपान गर्ने त्यति छैनन्,’ उनले भने ।

यसकारण उत्तरी कोरियाली नागरिकमा धुम्रपानको लत
उत्तर कोरियाका धेरैजसो नागरिकमा यसको लत लाग्नुको पछाडि निकै सस्तोमा चुरोट उपलब्ध हुनु पनि हो । सहज रूपमा चुरोट पाउने भएपछि नागरिकहरू त्यसतर्फ आकर्षित भएको पोलिसी प्रोजेक्टका निर्देशक पार्कले बताए । तर, विश्लेषक मिन चाओको भने मत फरक छ । विश्वमा उत्तर कोरिया एक मोडर्न राष्ट्रका रूपमा चिनाउन पनि चुरोटमाथि त्यति कडा नियम नबनाएको धारण उनी राख्छन् । 

उनी भन्छन्, ‘उत्तर कोरियाले आफूलाई विश्वसामु आधुनिक राष्ट्र भनाउन यस्तो छुट दिइएको जस्तो लाग्छ, यसले चुरोट सेवन गर्ने संस्कारले प्राथमिकता पायो ।’ अर्को विश्लेषक वान फिनले सरकारले कडा नियम लागू नगरेसम्म उत्तर कोरियामा धुम्रपान गर्नेको संख्या बढिरहने दाबी गरे । ‘यदि उत्तर कोरियालाई धुम्रपानरहित राष्ट्र बनाउने हो भने सरकारले नै निश्चित नियम लागू गर्नुपर्छ, यसविरुद्ध जानेलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ, अनि मात्र अभियानले सार्थकता पाउँछ,’ वान फिनले भने, ‘यो अभियानको सुरुवात नेता किमले नै गर्नुपर्छ,’ वान फिनले भने । 

उत्तर कोरियाका सर्वोच्च नेता किमले नै चुरोट लत छाड्दा जनतामा सकारात्मक सन्देश जाने वान फिनको भनाइ छ । उनी भन्छन्, ‘कल्पना गर्नुस् त हाम्रा नेता किमले चुरोट त्यागेको घोषणा गर्दा जनताले उनको पथलाई पछ्याउने छन्, तर किमको चुरोट त्याग्ने कुनै योजना छैन ।’

नेता किम नै स्मोकर

 


चाहे त्यो मिसायल परीक्षण वा स्कुल विद्यार्थीको कार्यक्रममै किन नहोस, नेता किम हातमा चुरोट लिएरै उपस्थित हुन्छन् । सन् २०१९ मा अमरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनाममा वार्ता गर्न किमले रेलको यात्रा गरेका थिए । रेलयात्राकै क्रममा किमले ब्रेक लिए । बाहिर निस्कँदै उनले एक सर्काे चुरोट ताने ।

सैगरी वार्ताको लन्च समयमा पनि किम अलग कोठामा चुरोट तानिरहेका थिए । किमकी बहिनी किम योङ जोङ आप्mना दाजुलाई एस्ट्रे दिँदै गरेको देखिएकी थिइन् । केही स्थानीय मिडियाका अनुसार किमकी श्रीमती रि सोल जुनले आफ्ना श्रीमानलाई चुरोट छाड्न बारम्बार आग्रह गरेकी छिन् ।