मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडौं
२०७७ मङ्सिर ६ शनिबार ०६:०७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजी क्षेत्रको निर्वाचनमा डिजिटल प्रचार

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७७ मङ्सिर ६ शनिबार ०६:०७:००

सामाजिक सञ्जालको व्यापकताका कारण मात्रै नभई कोभिड–१९ को जोखिमका कारण पनि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन प्रचार डिजिटल बन्दै छ, तर देश दौडाहा गरेरै भोट माग्ने पुरानो शैलीलाई पनि उम्मेदवारले छोड्न सकेका छैनन्

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकै आइपुग्दा सामाजिक सञ्जालमा उम्मेदवारहरूको व्यस्तता बढ्न थालेको छ । यसपटकको निर्वाचनमा वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्यसम्मका उम्मेदवारहरूले भोट माग्न सामाजिक सञ्जालको भरपूर उपयोग गरिरहेका छन् । महासंघका सदस्यहरू फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल वा ह्वाट्सएप, भाइबरजस्ता मेसेजिङ एपमा सक्रिय भएका छन् । कोरोनाका कारण भौतिक रूपमा चुनाव प्रचार जोखिमपूर्ण रहेकाले मतदातासम्म पुग्न उम्मेदवारलाई सामाजिक सञ्जाल गतिलो माध्यम बनेको छ । 

प्रविधिको विकाससँगै महासंघको चुनाव प्रचारशैली पनि फेरिँदै छ । सम्भवतः महासंघकै इतिहासमा चुनाव प्रचार–प्रसारका लागि यति धेरै डिजिटल प्रविधिको प्रयोग भइरहेको छ । 

महासंघको यही ११ मंसिरदेखि १३ सम्म ५४औँ वार्षिक साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदै छ । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेसँगै अध्यक्षबाहेकका पदमा चुनाव हुँदै छ । वरिष्ठ उपाध्यक्षका प्रत्याशीद्वय चन्द्र ढकाल र किशोर प्रधान आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।  

सामाजिक सञ्जालमा त्यति सक्रिय नदेखिने वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल महासंघको चुनाव लागेसँगै फेसबुकमा सक्रिय भएका छन् । उनले चुनाव प्रचार–प्रसारका लागि फेसबुक प्लेटफर्मलाई राम्रै उपयोग गरिरहेको देखिन्छ । ‘अहिलेको चुनावमा दुई कारणले सामाजिक सञ्जालको बढी प्रयोग भइरहेको छ, एउटा डिजिटल प्रविधिको युगमा सामाजिक सञ्जाल बढी प्रभावकारी बनेको छ । 

अर्को, कोभिड–१९ का कारण सामाजिक सञ्जाल बढी उपयोग भइरहेको छ,’ ढकाल भन्छन् । उनले फेसबुकमा चुनाव प्रचार–प्रसारका गतिविधिहरू, अन्तर्वार्ता तथा समाचारका लिंकहरू सेयर गरिरहेका छन् । ‘अहिले निजी क्षेत्रका साथीहरूसँग प्रत्यक्ष खबर आदान–प्रदान गर्न सामाजिक सञ्जाल सबैभन्दा सजिलो माध्यम बनेको छ,’ उनी भन्छन् । तर, जिल्लाका उद्योगी–व्यवसायीहरूका समस्या समाधानको पहल गर्न ग्राउन्ड रियालिटी थाहा पाउनुपर्ने हुनाले जिल्ला–नगरमा पुगेर छलफल गर्नुपरिरहेको उनको भनाइ छ । 

वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानले पनि चुनाव प्रचार गर्न जिल्ला दौडाहासँगै सामाजिक सञ्जाललाई पनि उत्तिकै उपयोग गरिरहेका छन् । उनी भन्छन्, ‘हाम्रा मतदाता साथीहरू सामाजिक सञ्जालमै भेटिनुहुन्छ, त्यसैले हामी फेसबुकमार्फत पनि चुनाव प्रचारलाई जोड दिइरहेका छौँ ।’ उनले चुनाव प्रचारका क्रममा उद्योगी–व्यवसायीसँग भेटघाट र छलफल गरेका तस्बिरहरू फेसबुकमा सार्वजनिक गरिरहेका छन् ।

आफ्नो पक्षमा लेखिएका निर्वाचनसम्बन्धी समाचार र अन्तर्वार्ताहरू पनि फेसबुकमा सेयर गरिरहन्छन् । चुनाव प्रचारका लागि सामाजिक सञ्जाल उपयोगी भए पनि जिल्ला–नगरका उद्यमी–व्यवसायीहरूसँग ‘वान टू वान’ भेट्न भौतिक रूपमै उपस्थित हुनुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘सामाजिक सञ्जालले मतदातासम्म इन्फर्मेसन पुर्‍याउँछ, तर जति भेटेर मिटिङ गर्दा प्रभावकारी हुन्छ, त्यति फेसबुक र ट्विटरबाट हुँदैन ।’  

सामाजिक सञ्जालबाट चुनाव प्रचार गर्नेमा ढकाल र प्रधान मात्र होइनन्, उपाध्यक्ष तथा कार्यकारिणी सदस्यका उम्मेदवार पनि सक्रिय छन् । प्रधान प्यानलबाट वस्तुगत समूहका उपाध्यक्ष उम्मेदवार अञ्जन श्रेष्ठले सामाजिक सञ्जाललाई चुनाव प्रचारको माध्यम बनाइरहेका छन् । उनी फेसबुक र ट्विटर दुवै प्लेटफर्ममा उत्तिकै सक्रिय देखिन्छन् । यसैगरी, ढकाल प्यानलबाट वस्तुगत समूहतर्फका उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठले पनि फेसबुकमा चुनावी अभियान चलाइरहेका छन् । उनले आफू र आफ्नो प्यानलका उम्मेदवारका अन्तर्वार्ता र समाचारहरू फेसबुकमा सेयर गरेको देखिन्छ । आफ्नो प्यानलका वस्तुगत समूहतर्फका कार्यकारिणी सदस्य उम्मेदवारका पोस्टहरू पनि उनले आफ्नो फेसबुकमा सेयर गरिरहेका छन् । उनको फेसबुकमा चुनावी अभियानसँग जोडिएका भिडियोहरू पनि सेयर गरेको देखिन्छ । 

एसोसिएट समूहका उपाध्यक्ष उम्मेदवार सौरभ ज्योति पनि फेसबुकमार्फत चुनावी प्रचारमा जोडिएका छन् । फेसबुकमा प्रायः बाइक र परिवारिक तस्बिरहरू सेयर गरिरहने उनले यतिवेला चुनावी पोस्टहरू सेयर गरिरहेका छन् । उनले आफ्ना अन्तर्वार्ता र चुनावी एजेन्डाहरू फेसबुकमा पोस्ट गरेको देखिन्छ । एसोसिएट समूहबाट उपाध्यक्षका अर्का उम्मेदवार रामचन्द्र संघाई भने सामाजिक सञ्जालमा त्यति सक्रिय देखिँदैनन् । 

जिल्ला–नगर समूहतर्फका उम्मेदवारद्वय दिनेश श्रेष्ठ र गुणनिधि तिवारीको फेसबुक पनि चुनावले रंगिएको छ । दुवैजनाले फेसबुकमा आ–आफ्नो प्यानलका उम्मेदवारको अन्तर्वार्ता र समाचारहरू सेयर गरेको देखिन्छ । यस्तै, चुनावी अभियानमा जिल्ला–नगरमा भ्रमण गर्दाका तस्बिरहरू दुवैको फेसबुकमा देखिन्छन् । दुवै उम्मेदवारहरू देश दौडाहासँगै सामाजिक सञ्जालमार्फत जिल्ला–नगर उवासंघका मतदाता सदस्यहरूको विश्वास जित्ने प्रयत्नमा लागिरहेका छन् । 

६३ पदका लागि १२५ को उम्मेदवारी
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनबाट निर्वाचित हुने पद संख्याभन्दा दोब्बर उम्मेदवारी परेको छ । १३ मंसिरमा हुने निर्वाचनमा ६३ पदका लागि १ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उद्योगी–व्यवसायीले महासंघको पदाधिकारी तथा कार्यकारिणी सदस्य पदका लागि प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

महासंघको विधानअनुसार निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष एकजना, जिल्ला–नगर उपाध्यक्ष एकजना, वस्तुगत  उपाध्यक्ष एकजना, एसोसिएट उपाध्यक्ष एकजना, जिल्ला–नगर सदस्य १८ जना, प्रदेश सदस्य ७ जना, वस्तुगत सदस्य १४ जना, एसोसिएट सदस्य १९ जना र द्विराष्ट्रिय सदस्य एकजना गरी ६३ जना निर्वाचित हुनेछन् । निर्वाचन समितिले बिहीबार बेलुकी उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो ।