यो राजधानी काठमाडौंको रिङरोडअन्तर्गत पर्ने मित्रपार्कदेखि चाबहिल चोकसम्मको सडकखण्ड हो । याे ठाउँ वर्षायाममा हिलाेले र हिउँदमा धुलोले दिउँसै अन्धकार बन्ने गरेको धेरै भयो ।
‘जनताको घरदैलोमा सिंहदरबार’ भन्ने नारा लिएर सुरु भएको संघीयतालाई सिंहदरबारको करिब तीन किलाेमिटर टाढा पर्ने यो सडकखण्डले गिज्याइरहेको छ ।
‘डिजिटल वडा’ बनाउने घोषणा गरेका वडाध्यक्ष शुद्धकुमार डंगोलले यो सडकखण्ड (गौशाला-चुच्चेपाटी सडक) सबैभन्दा ठूलो समस्या बनेको बताउँछन् ।
उनले नयाँ पत्रिकासँगको अन्तर्वार्तामा साेही सडकका कारण अन्य राम्रा काम गरे पनि आफूहरूले वडावासीको गाली खान बाध्य भएको बताएका थिए । उनका अनुसार सबैभन्दा बढी गुनासो पनि यही सडकसँग जोडिएर आउने गर्छ ।
उनेले भनेका छन्, ‘सडकलाई राम्रो बनाउन चाहे पनि हामीले केही गर्न सकेका छैनौँ । पशुपति क्षेत्र र बौद्ध स्तुपाका कारण पनि यो सडक पटक-पटक मर्मत र कालोपत्रे हुने गरेको छ । तर, सडकलाई व्यवस्थित गर्न सरोकारवाला निकायको समन्वय अभावले समस्या आइरहेको छ ।’
उनले सडक राम्रो नबन्नुमा सडक विभाग मात्रै जिम्मेवार नभएर मेलम्ची खानेपानी, टेलिकम र विद्युत् प्राधिकरण पनि जिम्मेवार रहेको बताए ।