निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १२ आइतबार
  • Sunday, 26 June, 2022
विजयराज खनाल काठमाडौं
२०७७ कार्तिक १४ शुक्रबार ०७:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गत वर्षको दसैँको तुलनामा  १६ अर्ब घट्यो नगद कारोबार

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ कार्तिक १४ शुक्रबार ०७:०७:००

नेपालीको नगद बोक्ने बानी घट्यो, डिजिटल माध्यमको प्रयोग वृद्धि

विगतका वर्षको तुलनामा यो वर्षको दसैँमा नगदमै कारोबार गर्ने नेपालीको प्रचलनमा कमी आएको देखिएको छ । गत वर्षको दसैँमा मानिसहरूले साथमा राख्ने रकम (मनी इन सर्कुलेसन–प्रचलनमा रहेको नगद) सामान्य समयमा भन्दा ७० अर्ब रुपैयाँले वृद्धि भएको थियो । तर, यसपटक १६ अर्ब कम भएर ५४ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ ।  

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्षको १ असोजमा ५ खर्ब ९२ अर्ब रुपैयाँ प्रचलनमा रहेकोमा १२ कात्तिकमा ६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको १ असोजमा भने ४ खर्ब ९२ अर्ब रुपैयाँ प्रचलनमा रहेकोमा २४ असोजमा ५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको थियो । गत वर्ष २१ असोजमा विजयादशमी परेको थियो । ‘डिजिटल माध्यमबाट भुक्तानी गर्ने प्रवृत्ति बढेकाले पनि मुद्राको गति कम भएका कारण प्रचलनमा रहेको रकममा धेरै वृद्धि देखिएन,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘साथै, उपभोगमा आधारित आर्थिक गतिविधि कम भएकाले पनि यस्तो भएको हो ।’  

तर, डिजिटल माध्यमबाट यो अवधिमा कति रकमको कारोबार भयो भन्ने तथ्यांक भने राष्ट्र बैंकले तयार पारिसकेको छैन । भुक्तानी सेवाप्रदायकले यो अवधिमा व्यापार–व्यवसाय कम भएकाले कारोबार घटेको बताएका छन् । 

‘व्यवसाय कम हुने भएकाले यो अवधिमा भुक्तानी घटेको छ,’ नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले भने, ‘तर, हामीले दसैँं लक्षित स्किम पनि ल्याएका थियौँ, यो स्किमअन्तर्गत दसैँको पाँच दिनमा ८४ करोड रुपैयाँको कारोबार भएको छ ।’ खल्ती डिजिटल वालेटले फूलपातीयता हरेक दिन डेढ करोड रुपैयाँ हाराहारीमा कारोबार गरेको बताएको छ । दैनिक ३ हजार हाराहारीमा कारोबार हुँदै आएकोमा यो संख्या बढेको उल्लेख गरेको छ । 

यस वर्ष २ अर्ब ४० करोड रुपैयाँबराबरका नयाँ तथा सुकिला नोट वितरण भएको राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्षको तुलनामा भने यो ६० प्रतिशतले कमी आएको हो । गत वर्ष करिब ६ अर्ब रुपैयाँबराबरका नयाँ तथा सुकिला नोट वितरण भएको थियो । ‘यस वर्ष सर्वसाधारणका लागि नयाँ नोट वितरण गरेनौँ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीरमण नेपालले भने, ‘बैंकमार्फत नयाँ र सुकिला नोट बाँडिएको हो ।’ 

नयाँ नोट वितरण गर्नुनपर्दा लगभग ४० करोड रुपैयाँ बचत भएको नेपालको आकलन छ । दसैँ लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट छापेर वितरण गर्ने गर्दै आएको छ । चलनचल्तीमा रहेका ५ देखि हजारसम्मका नोटका लागि न्यूनतम १ रुपैयाँ ४० पैसादेखि ४ रुपैयाँ ५० पैसा रुपैयाँसम्म लाग्ने गर्छ । यो लागत टेन्डर आह्वान गर्दाको कायम मूल्यको मात्रै हो । ढुवानी मूल्य यसमा समावेश हुने गर्दैन । 

सरदर ५ सय र हजार दरका नोटको आयु ४ वर्षसम्म रहने मानिँदै आएको भए पनि अन्य दरका नोट बढी चलनचल्तीमा आउने भएकाले यिनको आयु २ वर्ष मात्रै रहने मानिँदै आएको छ ।