मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १४ शुक्रबार
  • Friday, 22 November, 2024
२o७७ कार्तिक १४ शुक्रबार o३:o५:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोभिडका लागि छुट्याइएका आधा बेडमा मात्रै बिरामी : बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्– हामीले अनुगमन गर्न पाएका छैनौँ, कारबाही गर्न सकेका छैनौँ

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक १४ शुक्रबार o३:o५:oo

स्वास्थ्य मन्त्रालयकै तथ्यांक भन्छ– कोभिड उपचार हुनेमध्ये राजधानीका १२ अस्पतालमा १९ सय ५५ आइसोलेसन बेड छन् । आधाभन्दा धेरै अर्थात् एक हजार ६९ बेड अहिले पनि खाली छन्, तर सर्वसाधारण बिरामीले भर्ना पाएका छैनन् । 

......

देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली छन्् । तैपनि अस्पतालहरूले संक्रमितलाई ‘बेड खाली छैन’ भन्दै फिर्ता पठाइरहेका छन् । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहँदा स्वास्थ्य मन्त्रालय भने मूकदर्शक छ । 

अस्पतालहरूले कोभिड संक्रमितका लागि छुट्याएका बेडको दैनिक अपडेट स्वास्थ्य मन्त्रालयलाई बुझाउँछन् । जसमा प्रायः आधाजति बेड खाली देखिन्छन् । फेरि पनि बिरामीलाई किन फिर्ता पठाइन्छ त ? व्यवस्थापन, अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको स्वास्थ्य मन्त्रालय उल्टै लाचारी प्रकट गर्छ । ‘अस्पतालहरूले मन्त्रालयलाई बुझाएको दैनिक रिपोर्ट हेर्दा बिरामीभन्दा केही संख्यामा बेड खाली देखिन्छन् । प्रभावकारी सफ्टवेयरको व्यवस्था नहँुदा अस्पतालहरूले बेडसंख्या लुकाउने गरेका पनि हुन सक्छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘मन्त्रालयले अस्पतालहरूको अनुगमन गर्न नसक्दा यस्तो समस्या आएको हो ।’

स्वास्थ्य मन्त्रालयबाट प्राप्त बिहीबारसम्मको तथ्यांकअनुसार काठमाडौंमा कोभिड उपचार हुनेमध्ये दुईवटामा मात्रै क्षमताअनुसार चाप छ । टेकु अस्पतालका ५८ बेडमध्ये ५१ मा बिरामी छन् । त्यस्तै, स्टार अस्पतालका २१ बेडमध्ये सबै बेडमा बिरामी छन् । बाँकी सबै अस्पतालमा प्रशस्त मात्रामा बेड खाली छन् । शिक्षण अस्पतालमा १३२ बेडमध्ये १०२ मा, वीर अस्पतालमा ४६० मध्ये जम्मा १०१ मा र सशस्त्र प्रहरी अस्पतालमा २०० मध्ये १११ मा संक्रमितको उपचार भइरहेको छ । 

आर्मी अस्पतालमा कोभिड उपचारका लागि १०० बेड छन्, तर जम्मा ४६ बिरामी भर्ना भएका छन् । नेपाल प्रहरी अस्पतालमा कोभिड उपचारका लागि ४१४ बेड रहेकोमा जम्मा १५५ संक्रमितको उपचार भइरहेको छ । धुलिखेल अस्पतालमा १०० मध्ये ४९ बेड खाली छन् । ग्रान्डी अस्पतालमा ५० मध्ये २४, ह्याम्स अस्पतालका ७० मध्ये ५५ र मेघा अस्पतालमा १०० मध्ये २० बेडमा मात्रै संक्रमितको उपचार भइरहेको छ । यसरी कोभिड उपचार हुनेमध्ये राजधानीका १२ अस्पतालमा १९ सय ५५ आइसोलेसन बेड छन् । आधाभन्दा धेरै अर्थात् एक हजार ६९ बेड अहिले पनि खाली छन्, तर बिरामीले भर्ना पाएका छैनन् ।  

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका स्वास्थ्य संस्थामा २० हजार १७८ वटा आइसोलेसन बेड छन् । बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ पुग्दा ३१ हजार आठ सय ९८ संक्रमित अस्पतालबाहिरै रहेको सरकारी तथ्यांकले देखाउँछ । जम्मा सात हजार ५४ मात्रै स्वास्थ्य संस्थाको बेडमा छन् । यसरी देशभर १३ हजार १२४ आइसोलेसन बेड खाली छन् । तर, आपत पर्दा बिरामीले उपचार पाएका छैनन् ।

तथ्यांकमा बेड खाली देखिने, तर संक्रमितले भर्ना नपाउने विषयमा स्वास्थ्य मन्त्रालयले पटक–पटक छलफल गरेको प्रवक्ता गौतमले बताए । ‘पछिल्लोपटक सबै अस्पतालका निर्देशकहरूलाई बोलाएरसमेत निर्देशन दिइएको हो । उनीहरूले अस्पतालमा कर्मचारी अभाव, व्यवस्थापनमा समस्याजस्ता बहाना देखाएर पन्छिने गरेका छन् । जसले गर्दा समस्या अझै उस्तै छ,’ उनले भने । क्षमताअनुसार बिरामी भर्ना नगर्ने अस्पतालमाथि मन्त्रालयले कारबाहीसमेत गर्न नसकेको प्रवक्ता गौतमको भनाइ छ । 

चिकित्सकहरूका अनुसार दैनिक संक्रमितको संख्या बढ्न थालेपछि आइसियू र भेन्टिलेटरको माग पनि बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर नौ सय ५९ आइसियू र चार सय १५ भेन्टिलेटर छन् । बिहीबार तीन सय चारजना आइसियू र ७६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

विशेषगरी उपत्यकामा आइसियू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका अस्पतालमा दुई सय ४१ आइसियू र एक सय सातवटा भेन्टिलेटरको क्षमता छ । सरकारी अस्पतालमा एक सय २४ र निजीमा एक सय १७ आइसियू छन् । अस्पतालहरूले आइसियू र भेन्टिलेटरमा चाप धेरै रहेकाले बिरामीले चाहनेबित्तिकै भर्ना सम्भव नहुने बताइरहेका छन् । 

काठमाडौंको सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाले सबै बेड भरिएको दाबी गरे । तर, स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा भने सातवटा आइसोलेसन बेड र एक भेन्टिलेटर खाली रहेको उल्लेख छ । त्यस्तै, शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले अहिले सबै बेड भरिएको बताए । तर, अस्पतालले स्वास्थ्य मन्त्रालयलाई बिहीबार अपडेट गराएको तथ्यांकमा भने ३० आइसोलेसन बेड र एक भेन्टिलेटर खाली रहेको उल्लेख छ । ‘हामीले मन्त्रालयलाई तथ्यांक पठाउँदा शंकास्पदको संख्या समावेश नगरेका कारण बेड खाली देखिएका हुन् । कोभिड आशंका गरिएका र पुष्टि भएका केसहरूसमेत रिपोर्ट नआउँदासम्म राखेका कारण बेड भरिएका छन्,’ उनले भने । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्यका अनुसार बिहीबार आइसियूका १५ बेडमा बिरामी छन् । तीनवटा बेड संक्रमितको नियमित डायलाइसिसका लागि राखिएको छ । आइसोलेसनका बेड भने खाली रहेकाले सामान्य अवस्थाका संक्रमितलाई सजिलै भर्ना गर्न सकिने डा. शाक्यले बताए । 

वीर अस्पतालमा भने बिहीबार साँझसम्म दुईवटा आइसियू बेड खाली छन् । अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले आइसियू पाउन निकै कठिन भएको बताए । ‘अचेल आइसियू–भेन्टिलेटर एक मिनेट पनि खाली हुँदैनन् । आइसियूबाहेकका बिरामी भने सजिलै भर्ना गर्न सकिन्छ,’ उनले भने । स्वास्थ्य मन्त्रालयले वीरलाई हालै मात्र कोभिड अस्पतालका रूपमा सूचीकृत गरेकाले धेरै संक्रमित भर्ना भएका छैनन् । 

ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले अस्पताल कोभिड मात्रै नभएर अन्य सबै बेडसमेत बिरामीले भरिएको बताए । ‘बिरामी आएपछि मानवताको नाताले पनि उपचार गर्नुपर्छ, जसले गर्दा अस्पतालमा बेड खाली छैनन् । हामी आफैँले पनि बेड नपाउने अवस्था आएको छ,’ उनले भने । 

पछिल्लो २४ घन्टामा नौ हजार सात सय ६९ नमुना परीक्षण गर्दा दुई हजार तीन सय ६४ जनामा संक्रमण देखिएको छ । यो अवधिमा १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ३८ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म संक्रमण देखिएका एक लाख ६४ हजार सात १८ जनामध्ये एक लाख २४ हजार आठ सय ६२ जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

......

‘होम आइसोलेसन’मा ३५ संक्रमितको मृत्यु

- बर्दियाको गुलरियामा ५० वर्षीय पुरुषको होम आइसोलेसनमा बसेकै वेला १० असोजमा मृत्यु भयो । अस्पतालमा आइसियू र भेन्टिलेटरको अभावले बेहोस नहुँदासम्म बिरामीलाई अस्पताल नजान सरकारले अनुरोध गर्दै आएको थियो । सरकारको सोही निर्णयको पालना गरी अन्तिम अवस्थामा भेरी अस्पताल नेपालगन्ज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।

- सुनसरीको धरानमा होम आइसोलेसनमा बसेका ७० वर्षीय एक पुरुषको २६ असोजमा मृत्यु भयो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । तर, बिपी कोभिड अस्पतालमा बेड अभाव भएका कारण उनलाई घरमै राखिएको थियो । 

- गत जेठ २० मा डोल्पाका एक ५८ वर्षीय पुरुषको निधन भयो । अस्पतालमा बेड नपाएपछि उनी होम आइसोलेसनमा बसेका थिए । चिकित्सकको निगरानी नपाउँदा उनको मृत्यु हुन पुग्यो । 

- गुल्मीका ६९ वर्षीय पुरुषको ४ असारमा मृत्यु भयो । भारतबाट फर्किएका उनलाई कोरोना संक्रमण भएको थियो । स्वास्थ्य अवस्था गम्भीर भए पनि उनलाई कोरोनाको त्रासका कारण अस्पताल भर्ना नगरी घरमै राखिएको थियो, घरबाटै स्वाब संकलन गरिएको थियो । अस्पतालमा बेड नपाउँदा होम क्वारेन्टिनमै उनको मृत्यु भयो । 

कोरोना संक्रमितले अस्पतालमा बेड नपाएर घरमै ज्यान गुमाएका यी प्रतिनिधि घटना मात्रै हुन् । बुधबारसम्म होम आइसोलेसनमा रहेका ३५ संक्रमितको मृत्यु भएको छ । घरमै मृत्यु हुनेहरू चारदेखि एक सय आठ वर्षसम्मका छन् । समयमा उपचार पाउन सकेको भए उनीहरूमध्ये धेरैको ज्यान बच्न सक्थ्यो । 

कोरोना भाइरसले फोक्सोलाई तीव्र गतिमा क्षति पु¥याउने भएकाले संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा समस्या हुन्छ । चिकित्सकका अनुसार यस्तो अवस्थामा तत्काल आइसियू–भेन्टिलेटर वा अक्सिजन दिन सकिएन भने बिरामीको मृत्यु हुन्छ । तर, अहिले अस्पतालमा यस्तो सेवा पाउन निकै कठिन छ । 

संक्रमित बढ्दै गएपछि सरकारले बेहोस भएको खण्डमा वा पिसाब रोकिएको अवस्थामा मात्रै अस्पताल आउन निर्देशन जारी गरेको छ । जसले गर्दा होम आइसोलेसनमा बस्नेको संख्या पनि बढिरहेको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म नौ सय चारजनाको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये करिब ६५ प्रतिशत वृद्धवृद्धा छन् । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले आइसियूभन्दा पनि कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको बताए । उनका अनुसार अक्सिजनको मात्रै सपोर्ट दिन सकेको खण्डमा धेरै व्यक्तिलाई बचाउन सकिन्छ । 

देशभर एक सय २५ सरकारी र निजी क्षेत्रका तीन सय ३६ गरी जम्मा चार सय ६१ अस्पताल सञ्चालनमा छन् । यी अस्पतालमा २७ हजार मात्रै बेड रहेको छ । जसमध्ये सात हजार मात्रै सरकारी अस्पतालमा उपलब्ध छ ।