Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १७ बुधबार
  • Wednesday, 02 December, 2020
ad
२०७७ कार्तिक ७ शुक्रबार २१:५५:००
फिचर डिजिटल संस्करण

पारिवारिक विखण्डनको मारमा भुटानी शरणार्थी वृद्धवृद्धा

२०७७ कार्तिक ७ शुक्रबार २१:५५:००

भुटानी शरणार्थी शिविर बेल्डाँगीकी ८१ वर्षीया डम्बरकुमारी काफ्ले पाँच वर्षअघि परिवारसँग बसेर धुमधामले दसैँ मनाउँथिन् । भुटानबाट लखेटिएपनि सबै परिवारसँगै हुँदा शरण लिएकै देशमा भएपनि दसैँले उमंग लिएर आउथ्यो । 

तर, भुटानी शरणार्थीको पुनर्वासले पाँच वर्षअघि उनको परिवारमा विखण्डन ल्यायो । उनले भराेसा गरेर भुटानबाट सँगै नेपाल आएकी जेठी छोरी र उनको परिवार अमेरिकातिर लागे । 

डम्बरकुमारी शरणार्थी क्याम्पमा एक्लै छिन् । ‘मलाई त भुटान सरकारले खेदेको थिएन । छोरीलाई खेदेकाे हाे। छोरी छाड्न मनले मानेन । छोरी छाड्दा दुःख पाउँछु जस्तो लाग्यो उसैको पछि लागेर आएँ’, गहभरि आँसु पार्दै उनी भन्छिन्, ‘आखिर एक्लै हुनु त रहेछ ! जसको साथ लागेर आएँ, उसले नै छाडेर गई ।’ 

उनलाई दसैँ, तिहारजस्ता ठूला पर्व आउनुभन्दा नआएकै जाति लाग्छ । घरमा चार्ड मान्न आउने कोही छैन । डम्बरकुमारी जाने ठाउँ पनि छैन । चाडपर्वले त निको हुँदै आएको घाउ कोट्याउँछ । छोरी, नातीनातिनाको यादले सताउँछ, डम्बरकुमारीलाई ।

‘चाडपर्वमा मेरै छोरी, नातीनातीना आइदे हुन्थ्यो जस्तो लाग्छ । बरू अरूवेला त्यति धेरै याद आउँदैन । तर, चाडपर्वमा औधी याद आउँछ’, उनी भन्छिन्, ‘माइती सबै भुटानमै छन् । भएकी छोरी विदेश छे, अब त भेट हुन्छ जस्तो पनि लाग्न छाड्यो । चाडपर्व आउँदा त रुन मन लाग्छ बिसन्तोक लाग्छ ।’ 

उनलाई छोरीले अमेरिका जान कर गरेकी थिइन् । तर, डम्बरकुमारीले मानिन् । उनलाई मर्ने वेलामा भुटान पुग्ने रहर छ । ‘छोरी पछ्याउँदै आएकी मलाई अमेरिका हिँड् भन्दै थिइ म मानिन । अमेरिकामा त भाषा पनि जानिँदैन । यहाँ त मागेर पनि खान सक्छु । छोरीले दसैँमा पैसा पठाइदिनम् आमा भन्दै थिई । काम गर्न सकिञ्जेल आफैँ गरेर खान्छु पर्दैन भने’, डम्बरकुमारी भन्छिन्, ‘माइतीमा दाइ, भाउजू, दिदीहरू हुनुहुन्छ । तर म यहाँ एक्लै भएँ ।’ 

भुटानी शरणार्थी स्वादेश फिर्ती आन्दोलनका अगुवा शन्तवीर घले (७३) तीन वर्षअघिसम्म आफ्नो परम्पराअनुसार पूजा गरेर दसैँ मनाउँथे । दातृ निकायले बनाइदिएको छाप्रोमा उनका छोरा–छोरी र आफन्त भेला हुन्थे । दसैँ भव्य नै हुन्थ्यो । तर, तीन वर्षअघि छोरा–छोरी तेस्रो देश पुनर्वास् भएपछि उनलाई चाडपर्व आउन छाडेको छ । 

छाप्रोमा एक्ला वृद्ध राम्रोसँग कान पनि सुन्न सक्दैनन् । आफ्नो लागि पकाएर खाँदा घर सरसफाई गर्दा उनको दिन बित्छ ।

‘अरूवेला आफ्नो कामले खासै सम्झना आउँदैन । दसैँ, तिहारमा छोराछोरी र आफन्तको याद धेरै आउँछ । परिवारिक मिलनको पर्व पहिला एक ठाउँ बसेर बनाएको याद आउँछ । अब त चार्ड आउँदा पनि अब त पीर पो लाग्छ’, उनी भन्छन्, ‘दश वर्षअघिको शिविर सम्झन्छु । अर्काकै देशमा भए पनि हर्षउल्लासका साथ दसैँ मनाइन्थ्यो । परिवारमा छुटपुट भयो । यसले हामीलाई बुढेसकालमा मर्नु न बाच्नु बनाएको छ ।’

भुटानी शरणार्थी शिविर बेल्डाँगीको छाप्रो नम्बर ३९६ का दुर्जोधन गुरुङ (८१) को परिवार भुटान, अमेरिका र नेपाल गरी तीन देशमा छ । भुटानमा श्रीमती, दुई छोरा र तीन छोरी छन् । 

दुई छोरा र एक छोरी अमेरिका पुनर्वासमा गए । अधिकारको अन्दोलनमा लागेका दुर्जोधन र उनका छोरालाई भुटान सरकारले ३० वर्षअघि लखेट्यो । त्यसयता उनको परिवार बिखण्डन भएको छ । परिवारको पीडाले रातदिन सताउँछ दुर्जोधनलाई । 

‘भुटान जान पनि दिँदैन । श्रीमती बूढी भई । अब त जीवनको अन्तिम चरण आइपुग्यौँ । श्रीमतीसँगै बस्न पाइन्छ होला भनेर छोराहरूसँग अमेरिका गइनँ । तर, भुटान फर्काउला जस्तो पनि छैन’, उनी भन्छन्, ‘पहिला त चाडपर्व दुइवटा छोरासँग मनाउँथे । अहिले त उनीहरू पनि विदेश गए । अब त दुखीको कोही हुँदैन रहेछन् जस्तो लाग्न थाल्यो । चाडबाडले त झन् रुवाएर जान्छ ।’

उनीहरू मात्र हैन भुटानी शरणार्थी शिविरमा अधिकांश यस्तै पारिवारिक बिखण्डनको पीडामा छन् । अधिकांश वृद्धवृद्धा स्वदेश फर्कन पाउने आशले नेपालमै बसेका छन् । उनको छोराछोरी तेस्रो मुलुक पुनर्वास् भइसकेका छन् ।

जसका कारण शिविरमा रहेका वृद्धवृद्धालाई चाडपर्व निको भएको घाउ कोट्याउने माध्यम बनेर आउँछ । ‘पारिवारिक बिखण्डनले वृद्धवृद्धा मानसिक तनाबमा पर्न थालेका छन्’, शरणार्थी शिविरका पूर्वसचिव सञ्चुहाङ सुब्बा भन्छन्, ‘जसका कारण शरणार्थीका लागि चाडपर्व आउन भन्दा नआउनै जाति छ ।’


 

छुटाउनुभयो की ?