विश्वमा कोरोना संक्रमितको संख्या चार करोड २० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो अपडेटअनुसार विश्वभरि चार करोड २० लाख ९४ हजार पाँच सय ३५ जना व्यक्ति संक्रमित भएका छन्।
यस संक्रमणको कारण विश्वभरि ११ लाख ४४ हजार ३ सय ६ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।
यसैबीच विश्वभरि रहेका कुल संक्रमितमध्ये तीन करोड १२ लाख ३५ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सबभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८६ लाख ६४ हजारभन्दा बढी व्यक्ति संक्रमित रहेका छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा दुई लाख २८ हजार चार सय २३ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरूमा पनि ठूलो संख्यामा संक्रमित थपिने गरेका छन् ।
कोरोना भाइरस संक्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७७ लाख ६३ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित रहेका छन् भने ब्राजिलमा करिब ५३ लाख ३२ हजार व्यक्ति कोरोना संक्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ८० हजार ६ सय ४६ जना संक्रमित रहेका छन् ।
विश्वको तुलनामा संक्रमणमुक्त भएकाहरूको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६९ लाख ४८ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो ।