Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १७ बुधबार
  • Wednesday, 02 December, 2020
ad
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक ६ बिहीबार ०५:५६:००
सम्पादकीय प्रिन्ट संस्करण

रानीपोखरीको सफलता

नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक ६ बिहीबार ०५:५६:००

भूकम्पपछि उराठलाग्दो गरी भत्केको रानीपोखरी र त्यसको बीचमा रहेको बालगोपालेश्वरको शिखर शैलीको मन्दिर पुनर्निर्माणपछि हिजो एउटा कार्यक्रमका बीच राष्ट्रपतिबाट उद्घाटन गरियो । झन्डै साढे चार सय वर्ष पहिले कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले पुत्रवियोगले निराश भएकी आफ्नी पत्नीका नाममा बनाएको पोखरी र त्यहाँ रहेको मन्दिर नेपालको गहना बन्न गएको छ । काठमाडौंको मध्यसहरका बीचमा रहेको यसको अवस्थितिले समेत यसलाई सार्वजनिक चासोमा ल्याइदिएको छ । पछिल्लो समय बढ्दो सहरीकरणमा हराउँदै गएको सहरको सुन्दरताले रानीपोखरीजस्ता सार्वजनिक स्थलको महत्व थप बढाउँदै लगेका छन् । 

सयौँ वर्षदेखि काठमाडौंका जनताले जोगाएर राखेका वा निर्माण गरेका यस्ता सांस्कृतिक सार्वजनिक धरोहरको संरक्षण गर्दा मात्रै काठमाडौं एउटा प्राचीन सभ्यताको केन्द्रका रूपमा आफ्नो परिचय जोगाउन सफल हुने हो । भूकम्पपछि पुनर्निर्माणका क्रममा रानीपोखरीलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको थियो । काठमाडौं उपत्यकाका तीनवटा दरबार, चोक र त्यसवरपरका अनेक मठ–मन्दिर, धरहरा, सिंहदरबार र रानीपोखरीजस्ता धरोहरमा ठूलो क्षति पुगेकाले त्यसको पुनर्निर्माणमा कसरी यसका ऐतिहासिकता जोगाइराख्ने भन्नेबारे निकै बहस भएका थिए । सहरको एउटा वर्गले रानीपोखरीलाई बजारको वस्तुजस्तो बनाएर बिक्री गर्ने उद्देश्यले पौडीपोखरीमा बदल्ने योजना बनाएर काम थालेको थियो । 

जसरी रानीपोखरीको निर्माण सम्पन्न भयो, त्यसरी नै सुदूर ग्रामीण बस्तीका विद्यालय, स्वास्थ्यचौकी भवन तथा साधारण मानिसका आवास पनि समयमै निर्माण सक्नेतिर प्राधिकरणको ध्यान जाओस् 

तर, सचेत नागरिकको दबाबमा पहिलो योजना रद्द गर्न लगाइयो र पोखरीले आफ्नो ऐतिहासिक स्वरूपमा पुनर्जीवन प्राप्त ग¥यो । रानीपोखरीको निर्माणले नेपालमा सरकार र नागरिकको सचेत प्रयत्न रह्यो भने हाम्रा सांस्कृतिक धरोहरलाई जोगाउन सम्भव छ भन्ने सन्देश प्रसारित भएको छ । यसैगरी, नेपालमा भूकम्पपछिको पुनर्निर्माणले अपेक्षाकृत रूपमा छिटै गति समातेको र लक्ष्यअनुसार काम भइरहेकोतिर पनि संकेत गर्छ । यो अवश्य पनि नेपालीले गर्व गर्ने विषय हो । रानीपोखरी र धरहराको पुनर्निर्माणले देशभर भूकम्पको विनाश बिर्साउन एउटा सञ्चारको काम गर्ने आशा गर्न सकिन्छ । नेपालजस्तो स्रोत साधनको कमी भएको मुलुकले यो स्तरको सफलता हासिल गर्नुलाई सकारात्मक नै मान्नुपर्छ । 

दरबार हाइस्कुल र रानीपोखरीको निर्माणले काठमाडौंलाई पुरानै लयमा फर्काउन मद्दत गरेको भन्न सकिन्छ । अवश्य पनि पुनर्निर्माणका क्षेत्रमा पहिले सम्पन्न गर्नुपर्ने काम व्यक्तिगत आवास, स्वास्थ्यचौकी, विद्यालय, पुल–पुलेसा र सरकारी कार्यालय हुन् । यस मामिलामा अझै पनि सरकार पूरा सफल देखिएको छैन । दुई महिना पहिले सिन्धुपाल्चोकका बस्तीमा गएको पहिरो र भएको धनजनको क्षतिले पुनर्निर्माण प्राधिकरणको लापरवाही र जनताको जिउधनको सुरक्षाप्रतिको बेवास्तातर्फ संकेत गरेका छन् । जोखिमपूर्ण बस्तीहरूको स्थानान्तरण, जीविका खोसिएका परिवारलाई जीविका धान्न पुग्ने गरी गरिनुपर्ने सहयोग तथा भत्केका बस्तीको जगमा आधुनिक सुविधासहितका बस्ती सरकारको पहिलो प्राथमिकता हुनुपर्ने हो । यसपछि रानीपोखरी र धरहराजस्ता धरोहरको पनि पुनर्निर्माण सँगै लानुपर्ने हुन्थ्यो । 

पुनर्निर्माणका क्षेत्रमा जे–जति स्रोत साधन उपलब्ध थियो, त्यसको जगमा भएका काम सराहनीय छन्, तर तिनको प्राथमिकतामा रहेको अन्तरविरोध भने बेलाबखत विभिन्न दुर्घटनाका कारण उजागर भइरहन्छ । जसरी रानीपोखरीको निर्माण सम्पन्न भयो या धरहरा र सिंहदरबारको सम्पन्न हुने क्रममा छ, त्यसरी नै सुदूर इलाकाका ग्रामीण बस्तीका विद्यालय, स्वास्थ्यचौकी भवन तथा साधारण मानिसका आवास पनि समयमै निर्माण सक्नेतिर प्राधिकरणको ध्यान जाओस् ।


 

छुटाउनुभयो की ?