Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १९ शुक्रबार
  • Friday, 04 December, 2020
ad
२०७७ कार्तिक ३ सोमबार १८:००:००
मुख्य समाचार डिजिटल संस्करण

दलित–गैरदलित विवाहमा अझै अवरोध, प्रोत्साहन गर्ने सरकारी योजना नै तुहाइयो

२०७७ कार्तिक ३ सोमबार १८:००:००

समाजमा दलितमाथि हुने विभेदका अनेक रूप छन् । कागजमा वर्षौँअघि अन्त्य भएको छुवाछुत प्रथा समाजमा यसरी जरो गाडेर बसेको छ कि दलितलाई मात्रै होइन, दलितसँग अन्तरजातीय विवाह गर्नेहरू पनि विभेद खेप्न बाध्य छन् ।

अन्तरजातीय विवाहकै कारण सयौं जोडी गाउँनिकालामा परेका छन्, कतिले आफ्नै बाबुआमाको अन्तिम संस्कारमा सहभागी हुन पनि पाएका छैनन् । कथित उपल्लो जातकी युवतीसँग प्रेम विवाह गरेकै कारण सयौं दलित युवा जबरजस्ती करणी, अपहरण र बन्धकका मुद्दामा जेल जीवन कटाउन बाध्य छन् ।

अन्तरजातीय विवाह संरक्षण समाज नेपालका अध्यक्ष विजयकुमार परियार २१ औं शताब्दीमा पनि समाजले अन्तरजातीय विवाहलाई अपराधकै रूपमा लिने गरेको बताउँछन् । भन्छन्, ‘कानुनले आफूले चाहेको व्यक्तिसँग विवाह गर्ने अधिकार दिएको छ, तर समाजले कानुन मान्दैन, विजातीय विवाहकै कारण धेरैको जीवन दलदलमा फसेको छ ।’ सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न नसकेको उनको भनाइ छ ।

बाबुको उपचार गरुन्जेल छुत, मृत्यु संस्कारमा अछुत
विश्वकर्माकी छोरीसँग बिहे गरेकै कारण ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षत्री १७ वर्षयता समाजबाट तिरष्कृत छन् । जीवित हुन्जेल आउजाउ, भेटघाट र रेखदेख गरेका आफ्नै बुबाको मृत शरीरलाई उनले दागबत्ती दिन पाएनन् । गाउँका पुरोहित र ब्राह्मणहरू नै राजिन्द्रलाई टाढा राख्न चाहँदैनथे । तर, गाउँ छाडेर इटहरी बस्ने दाजु प्रेम बुढाक्षत्री नै उनीमाथि ‘अछुत’ आरोप लगाउँदै तगारो बने  । उनलाई आफ्नै काकाले बाबुको मृत्यु संस्कार गर्नबाट रोके ।

सानैदेखि क्रान्तिकारी सोचका राजिन्द्रले गाउँकै फूलमाया विकसँग ०६० सालमा प्रेम विवाह गरेका हुन् । सुरुमा पुरै अस्वीकार गरे पनि समयसँगै आमाबुबाको माया उनका लागि पनि भाग लाग्यो । बिरामी बुबालाई राजिन्द्रले नै १० साउनमा उपचारका लागि झापास्थित बिर्तासिटी अस्पताल पु¥याए । अस्पतालले घरै लानु भनेपछि १७ साउनमा उनले बाबुलाई घर फर्काए । भोलिपल्ट बुबाको बैतरणी गर्ने तयारी भयो । बिरामी बुबाको उपचारमा खटुन्जेल नउठेको प्रश्न तब उठ्न थाल्यो ।

उनी भन्छन्, ‘सहोदर दाजुले नै तिमीहरू आफ्नै घर जानु, यहाँ बस्दा बिटुलो हुन्छ, अशुद्ध हुन्छ भने । अस्ताउन लागेका बुबाको अनुहार देखेर प्रतिकार गर्ने हिम्मत पनि भएन ।’ त्यही दिउँसो उनका बुबाको मृत्यु भयो । पुरै परिवार शोकमा डुब्यो । तर, राजिन्द्र र उनको परिवारले मृत शरीर छुनसमेत पाएन ।

‘तिमीहरू तल्लो जातका हौ, यहाँ नआऊ, काजकिरिया गर्ने भए छुट्टै गर, हामीसँग हुँदैन,’ बाबुको शव घाट लैजाने वेला आफ्नै काकाले भनेको राजिन्द्र सम्झन्छन् । बुबाको शोकमा परेका राजिन्द्रले शव यात्रामै अनेकथरी सुने । कसैले मुखामुख गरे, हेय दृष्टि लगाए । ‘अरू शव लिएर घाटतिर लागे, म परिवार लिएर छुट्टिएँ, दलित नै बोलाएर काजकिरिया गरेँ,’ उनी भन्छन् ।

बाबुको किरिया सकेपछि आफू र आफ्नो परिवारमाथि जातीय विभेद गरेको भन्दै राजिन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । सहोदर दाजु प्रेम, सिदिङ्वा–४ का रामबहादुर बुढाथोकी, बुद्धिप्रसाद बुढाथोकी र खड्क बुढाथोकीविरुद्ध संयुक्त दलित अधिकार मञ्चको सहयोगमा किटानी जाहेरी दर्ता भयो । मञ्चका उपाध्यक्ष गंगा शंकर भन्छन्, ‘विभेद कायमै छ, गाउँमा भएका कतिपय घटना बाहिर आउँदैनन्, धेरै त दलितले सहेका छन् ।’

काकी उपमेयर, भतिजा–बुहारीले भोगे विभेद
इलाम माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्यले पनि विश्वकर्मासँग विवाह गरेकै कारण बुबाको अन्तिम संस्कारमा परिवारसँग सहभागी हुन पाइनन् । १२ वर्षअघि छिमेकी रत्नबहादुर विश्वकर्मासँग प्रेमविवाह गरेकी उनलाई अहिलेसम्म माइतीले बोलाएनन् । १९ साउनमा उनका बाबुको मृत्यु भयो । तर, माइती र समाजले काजकिरियामा नजिक आउनसम्म दिएन ।

आफ्नै घरमा बाबुको काजकिरिया सकिन् । जब कि, उनकी आफ्नै काकी विष्णुमाया रिमाल माई नगरपालिकाकी उपप्रमुख र न्यायिक समिति संयोजक हुन् ।  यामकला भन्छिन्, ‘काकी त कम्युनिस्ट पार्टीको नेता, उहाँ परिवर्तनको पक्षमा बोल्दै हिँडेको सुनेको थिएँ । तर, उहाँ र काकाबाट पनि विभेद सहनुप¥यो ।’ यामकलाका श्रीमान् रत्न विभेद भयो भनेर सुनाउन जाने ठाउँ पनि नभएको बताउँछन् ।

‘काकी उपप्रमुख, उहाँकै नेतृत्वमा रहेको न्यायिक समितिमा गुनासो गर्ने होला । उहाँ नै घरको मान्छे भएपछि हामीले कसरी न्याय पाउँला ?’ उनी भन्छन् । बाबुको मृत्युसंस्कार सकेपछि यामकलाले प्रहरीमा उजुरी दिइन् । प्रहरीले उनका भाइ टीकाराम आचार्य, पार्वती आचार्य र छिमेकी लक्ष्मी दंगाललाई पक्राउ गरी मुद्दा चलायो ।

पण्डित बने अवरोध
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेम भुजेलको पनि उस्तै भोगाइ छ । दलितसँग बिहे गरेको बताउँदै भुजेललाई परिवार र समाजले बहिस्कार ग¥यो । २१ फागुनमा बुबा बिते, काठमाडौंबाट दौडेर घाट पुगेका उनलाई आफ्नै दाजु बेलबहादुरले शव छुन दिएनन् । मलामीले मुख खोलेनन् ।

गाउँका पण्डित रमेश शर्मा कुईंकेलले उनले दलितसँग बिहे गरेकै कारण शव यात्रामा बजाउन शंख दिएनन् र काजकिरिया नगर्न धम्की दिए । उनको परिवार र गाउँलेले त्यही आडमा उनीमाथि अन्याय गरे । काठमाडौं फर्किएर बुबाको काजकिरिया सकेपछि भुजेलले ७ चैतमा प्रहरीमा जातीय विभेद तथा छुवाछूत मुद्दा दर्ता गरे । इलाका प्रहरी कार्यालय, मेलम्चीले पण्डित कुईंकेललाई पक्राउ गरी मुद्दा चलायो ।

बारीमा छाप्रो बनाएर काजकिरिया
पाल्पा बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराका पूर्णमान श्रेष्ठले १५ वर्षअघि छिमेकीकी छोरी सरिता विश्वकर्मासँग विवाह गरे । त्यसयता उनको आफ्नै परिवार पराई बनेको छ । अन्तरजातीय विवाह परिवारले अस्वीकार गरेपछि उनले आफ्नो घरसमेत जान पाएका छैनन् । २६ वैशाखमा पूर्णमानकी ७५ वर्षीय आमा मनकुमारी श्रेष्ठको मृत्यु भयो । तर, आमाको मृत शरीरलाई दागबत्ती दिनबाट परिवार र समाजले बञ्चित ग¥यो ।

‘अन्तरजातीय विवाहकै कारण घरबाट लखेटिएँ, हुँदा–हुँदा मलाई १० महिना कोखमा बोकेर जन्माइ–हुर्काइ गर्ने आमालाई दागबत्ती पनि दिन पाइनँ, यो कस्तो न्याय भएको देश हो ?’ उनी प्रश्न गर्छन् । पूर्णमान र उनकी श्रीमती सरिताले घरनजिकै बारीमा छाप्रो बनाएर काजकिरिया गरे ।

उनको आफ्नै घर पनि छैन, ससुरालीमा बस्दै आएका छन् । मलामी गएका गुठियारका दाजुभाइ लाखापाखा लागेपछि गाउँको दलित समुदायले राति १० बजे छाप्रो बनाइदिएका थिए । उनका एक छोरा र एक छोरी छन् । उनी गाडीमा सहचालक छन् ।

श्रीमान् बेपत्ता, आमा–छोरीको बिचल्ली
अन्तरजातीय विवाहकै कारण गुल्मी मुसिकोट नगरपालिका–५ की २२ वर्षीया विपना सावत र ६ महिनाकी छोरी बिपिसाको बिचल्ली भएको छ । उनले २३ मंसिर ०७६ मा छोरीलाई जन्म दिइन् । उनले न गर्भावस्थामा मिठो मसिनो र स्याहार सुसार पाइन्, न त सुत्केरी भएपछि नै । वर्षदिनदेखि श्रीमान् बेपत्ता छन् । सुत्केरी भएपछि स्थानीय शिव सुनारले आश्रय दिइन् । स्थानीय महिलाले चन्दा संकलन गरेर बल्लतल्ल सुत्केरी अवस्थाबाट पार लगाए ।

उनले फागुन ०७५ मा गुल्मीकै मदाने गाउँपालिका–६ का राज बस्नेतसँग प्रेम विवाह गरेकी थिइन् । जेठ ०७६ सम्म श्रीमान् साथमै थिए । श्रीमान्ले केही समय थापा थर बताउन लगाएर आफ्नै घर तथा मावलीमा पनि लगे । तर, विश्वकर्माकी छोरी भन्ने थाहा पाएपछि गाउँमा बस्ने अवस्था भएन । गर्भ रहेपछि श्रीमान्ले नै हेला गर्न थाले । पतिले आफूलाई जातीय आक्षेप लगाउँदै कुटपिट गर्न थालेपछि ज्यान जोगाउन माइतमा आएर मजदुरी गर्न थालिन् ।

जेठ ०७६ देखि उनी अलपत्र छिन् । ‘छोरीको भविष्य समेत अन्योलमा प¥यो,’ उनी भन्छिन् । मुसिकोट–५ आँपचौर अमलबोट स्थित जंगलमा खरको झुपडी र रुखो जमिन सावत परिवारको सम्पत्ती हो । १८ वर्षअघि विपनाका बाबु लालबहादुर सावतले घर छोडे । त्यतिवेला विपना तीन वर्ष र भाइ अर्जुन नौ दिनका थिए । आमा दुर्पदाले पनि सुत्केरी अवस्थामै कैयन कष्ट झेलिन् ।

विपनाका बाबुले पनि आमालाई सुत्केरी अवस्थामै छाडेका थिए । ‘एक छाक मिठो नखाएर हुर्काएकी छोरीको पनि बिचल्ली प¥यो,’ आमा दुर्पदा भन्छिन्, ‘बुढेसकालमा कहाँ न्याय खोज्ने, कसरी गर्जो टार्ने ?’

श्रीमानकै संलग्नतामा हत्या
१४ कात्तिक ०७४ मा उदयपुर कटारी नगरपालिका–४ सिम्लेमा सडेगलेको अवस्थामा १७ वर्षीया संगीता नेपालीको शव भेटियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा उदयपुरगढी–५ बाहुनीटारकी संगीताले सिम्लेका युवराज कार्कीसँग बिहे गरेको र पछि दलित भएको थाहा पाएपछि परिवारै मिलेर हत्या गरेको खुल्यो । घटनाको दुई वर्षपछि प्रहरीले संगीताका श्रीमान् युवराज, ससुरा नैनबहादुर र देवर सुजन कार्कीलाई काठमाडौंबाट पक्राउ ग¥यो । जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरेको डिएसपी प्रेमसागर केसी बताउँछन् ।

अनुसन्धानका क्रममा उनीहरूले फोनबाट चिनजान र प्रेम सम्बन्धपछि विवाह गरेको र पछि दलित भएको थाहा भएपछि हत्या गरेको स्वीकार गरेको डिएसपी केसीले बताए ।

अन्तरजातीय विवाह गर्दा अपहरण र जबरजस्ती करणी मुद्दा
पाँचथरको फिदिम नगरपालिका–५ का १६ वर्षीय गोपाल शंकर  (विक) र छिमेकी १६ वर्षीया सापकोटा थरकी किशोरीले चैत ०७५ मा विवाह गरे । एउटै विद्यालयमा पढ्ने उनीहरूको कक्षा–८ देखि नै प्रेम बसेको थियो । पूर्वतयारीअनुसार उनीहरू एसईई सकेर घरबाट भागे । तल्लो र माथिल्लो घरका छिमेकी भएका उनीहरू परिवारसँग बच्न इलाम आइपुगे । तर, कथित माथिल्लो जातबाट कहाँ लुक्ने सक्थे र !

उनीहरू बसेकै ठाउँमा केटी पक्षका मान्छे आइपुगे । इलाम प्रहरीमा केटालाई बुझाएर केटीलाई फिर्ता लगे । सच्चा प्रेमलाई कस्ले छेक्न सक्छ र ! ती युवती र गोपालबीच यस्तै भयो । घर गएको एक साता नबित्दै किशोरी फेरि इलाम आइन् । उनीहरू ठाउँ परिवर्तन गरेर सँगै बसे । तर, उनीहरूको प्रेमको बाधक बनिदियो जात । पुनः केटी पक्षले दुई जनालाई छुट्याए ।

यसपटक उनीहरूलाई छुटाएनन् मात्र, जिल्ला प्रहरी कार्यालय पाँचथरमा गोपालविरुद्ध अपहरण, जबरजस्ती करणी र मानव बेचबिखनविरुद्ध जाहेरी दिइयो । गोपाललाई प्रहरीले पक्राउ ग¥यो । जिल्ला अदालतमा मुद्दा पनि चलाइयो । मानव बेचबिखन र अपहरण प्रमाणित हुन सकेन । तर, जबरजस्ती करणीमा सात वर्ष जेल तोकियो । उनी अहिले बाल सुधार गृह विराटनगरमा छन् ।

अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने कार्यक्रम नै कटौती
सरकारले दलित र गैरदलितबीचको अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न ल्याएको कार्यक्रम चार वर्षअघि नै कटौती गरिसकेको छ । तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष ०६५÷६६ को बजेटमा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न एक लाख रुपैयाँ अनुदान दिने घोषणा गरेका थिए । तर, त्यससम्बन्धी कानुन नभएका कारण कार्यान्वयन भएको ६ वर्षमै रोकियो । कार्यक्रमबाट दुई सय पाँच अन्तरजातीय विवाह गर्ने जोडीले एक–एक लाख रुपैयाँ अनुदान भने पाए ।

मन्त्रिपरिषद्ले १५ माघ ०६६ मा दलित र गैरदैलितबीच अन्तरजातीय विवाह प्रोत्साहन अनुदान वितरण कार्यविधि पारित गरेको थियो । सरकारले १ साउन ०६६ पछि विवाह गर्नेले अनुदान पाउने भने पनि कार्यविधि र बजेटको अलमलका कारण ०६७ पछि मात्रै अनुदान वितरण सुरु भयो । विवाह गर्ने जोडीले जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेपछि एक महिनाभित्र अनुदान पाउने व्यवस्था थियो । त्यसको विवरण गृह मन्त्रालयले तीन–तीन महिनामा वेबसाइटमा राख्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

तर, फितलो कार्यान्वयन र कर्मचारी संयन्त्रको बेवास्ताका कारण अन्तरजातीय विवाह गर्ने जोडीले वर्षौँसम्म पनि अनुदान पर्खिनुपर्ने अवस्था सिर्जना भयो । त्यसपछि बिनासूचना कार्यक्रम नै कटौती भयो । दलित अधिकारकर्मी र सांसदले माग गरे पनि कार्यक्रम पुनः सञ्चालन भएन ।

दलित अधिकारकर्मी हीरा विश्वकर्मा भन्छन्, ‘त्यसले दलित र गैरदलितबीचको खाडल पुर्न ठूलो भूमिका वहन गरेको थियो, भर्खरै बिहे गर्ने दम्पत्तीलाई पनि नयाँ जीवन सुरु गर्न सहयोग पुग्थ्यो, तर जालझेलपूर्ण तरिकाले कटौती गरियो ।’

०५८ सालमै स्थानीय विकास मन्त्रालयमार्फत दलित वर्ग उत्थान समितिले दलित र गैरदलितबीच विवाहलाई प्रोत्साहन गर्ने नीति बनाएको थियो । तर, कार्यविधि र बजेट नपाउँदा त्यो कार्यान्वयन हुन सकेको थिएन । त्यसवेला दलित र गैरदलितबीच अन्तरजातीय विवाह गर्ने दम्पतीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने कार्यविधि प्रस्तावित थियो ।