Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक २ आइतबार १२:१०:००
Read Time : > 2 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

१२ दिनसम्म पनि आएन कोरोना परीक्षणको रिपाेर्ट

Read Time : > 2 मिनेट
२०७७ कार्तिक २ आइतबार १२:१०:००

गौरादह– ३ का व्यवसायी दिलीपकुमार भण्डारीले कोरोना परीक्षणका लागि स्वाब दिएको १२ दिन भयो । उनको रिपाेर्ट अझै आएको छैन । ज्वरो, खोकी, शरीर थकान, हातखुट्टा करकर खानेजस्ता लक्षण छन् । अहिले पनि उनी पूर्ण रूपमा स्वस्थ भइसकेका छैनन् । घरमै ‘आइसोलेट’ भएर बसेका छन्, भण्डारी ।

तर, आफूलाई कोरोना संक्रमण छ कि छैन भन्ने पनि उनलाई थाहा छैन । उनले १२ दिनअघि दमक नगरपालिकामा परीक्षणका लागि स्वाब दिएका थिए । ‘अहिले पनि संक्रमण छ कि भन्ने त्रासमै दिन बित्छ । संक्रमण नै भएको भए पनि निको हुने वेला भइसक्यो । तर, अहिलेसम्म रिपाेर्ट आएको छैन,’ उनी भन्छन्, ‘हाम्रो सरकारको नीति र प्राविधिक पक्ष यस्तो होला भन्ने त मलाई लागेको थिएन ।’ 

गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवालले २० असोजमा दमकमा कोरोना परीक्षणका लागि स्वाब दिइन् । तर, अझै रिपाेर्ट नआएपछि उनले विराटनगर पुगेर शनिबार पुनः स्वाब दिएकी छिन् । सामान्य लक्षण देखिएपछि मनमा शंका लागेर स्वाब दिए पनि रिपाेर्ट आउन ढिलाइ भएको थियो । स्वाब दिएको १२ दिनसम्म पनि शरीर निरन्तर थाक्ने र रुघा निको नभएपछि उनी शनिबार विराटनगर पुगिन् । 

‘शंका लागेर परीक्षणका लागि स्वाब दिएको, तर १२ दिनसम्म रिपाेर्ट आएन,’ उनले भनिन्, ‘म जनप्रतिनिधिको त यत्रो दिनमा रिपोर्ट आएन, अरूको के होला ? २४ घन्टामै रिपाेर्ट आउँछ भनेर मैले विराटनगर गएर फेरि स्वाब दिएकी छु ।’ स्वाब परीक्षणको नतिजा आउन धेरै समय लाग्नु दुःखद भएको उनी बताउँछिन् ।  

दमक– २ का प्रकाश बस्नेतले स्वाब दिएको लामो समयसम्म रिपोर्ट नआएपछि विराटनगर गएर कोसी कोभिड अस्पतालका चिनेका डाक्टरलाई भने । उनको त्यहाँ पुनः स्वाब लिइयो । जुन क्रममा कोरोना पजिटिभ आयो । ‘यति धेरै बिरामी भएँ कि खप्नै सकिनँ । दमकबाट स्वाब दिएकोचाहिँ १३ दिनमा पनि अझै रिपाेर्ट आएको छैन,’ उनले भने, ‘रिपाेर्ट नआउँदा सबैभन्दा धेरै पीडा भयो । डाक्टरले रिपाेर्टविना हेर्दिनँ भन्छन् । तर, स्वास्थ्यमा समस्या आएर खप्नै सकिएन ।’ 

स्थानीय तहले हालसम्म रिपाेर्ट नआउनुको कारण पनि नभनेको उनले गुनासो गरे । ‘स्थानीय तह कति गैरजिम्मेवार भएको ? कम्तीमा रिपाेर्ट नआएपछि यो कारणले आएन त भन्नुपर्छ नि !’ उनी भन्छन्, ‘मेरो त पहुँच थियो । अर्को ठाउँमा परीक्षण गराएँ । अरू सर्वसाधरणको हालत के होला ?’

प्रदेश– १ मा सञ्चालन भएका ल्याबहरूले विनासूचना ढिलाइ गरिदिँदा समस्या अएको दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले बताए । ‘हामी आफ्नो ठाउँमा लागिरहेका छौँ । यसमा कसको कमजाेरी भन्ने ? प्रदेश सरकारले ढिला हुन्छ भनेर कुनै सूचना निकालेको छैन । प्रदेश ल्याबले भए पनि जानकारी गराउनुपर्छ नि !,’ उनले भने, ‘स्वाब दिएकालाई हामीले के भन्ने ? अहिलेसम्म त प्राविधिक कारण भन्दै टारेका छौँ ।’ 

स्वाब दिए पनि समयमा रिपाेर्ट नआउँदा लक्षण भएका बिरामीलाई सकस भएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन् । ‘लक्षण भएका बिरामीलाई एकदम गाह्रो छ । रिपाेर्ट आए त कम्तीमा अस्पताल लैजान सक्थ्यौँ,’ उनले भनिन्, ‘सोध्दा आउँछ भन्न छाड्दैनन्, तर अहिलेसम्म आएकोचाहिँ छैन ।’ 

स्वाब दिएको लामो समयसम्म नतिजा नआउँदा संक्रमण थप फैलने जोखिम रहेको उनी बताउँछिन् । ‘रिपोर्ट नआएपछि सबै निरन्तर सेल्फ क्वारेन्टिनमा बस्न सक्दैनन्, यसले गर्दा संक्रमण फैलने खतरा पनि बढाएको छ,’ उनले भनिन् ।

उनले २४ घन्टाभित्र रिपाेर्ट दिन प्रदेश सरकारलाई आग्रह गरिन् । ‘हामी स्थानीय तहका जनप्रतिनिधिले जिल्ला समन्वय समितिमार्फत प्रदेश सरकारलाई २४ घन्टाभित्र रिपाेर्ट दिन आग्रह गरोका छौँ,’ उनले भनिन्, ‘यसका लागि हामीले रिएजेन्ट किन्न परे पनि किन्छौँ । तर, समयमा रिपाेर्ट दिनुपर्‍यो ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भन्छ : क्षमता छैन 
प्रदेश– १ मा पाँचवटा ल्याब छ । तर, दैनिक परीक्षणको क्षमता भने पाँच सय मात्र । यी ल्याबमा पनि रिएजेन्ट अभावमा परीक्षण गर्न मुस्किल भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले बताए ।

मेची अस्पताल र प्रदेश प्रयोगशालाको ल्याब पनि रिएजेन्ट व्यवस्थापन गरेर सञ्चालनमा ल्याइसकिएको उनले बताए । ‘पहिला पुल सिस्टमबाट गर्दा दैनिक दुई हजारसम्म परीक्षण गर्न सकिन्थ्यो । अहिले धेरैमा पजिटिभ देखिएपछि पुल सिस्टबाट गर्न मिल्दैन,’ उनले भने, ‘अहिले पाँच सयसम्म मात्र परीक्षण गर्न सक्छौँ । दैनिक दुई हजार स्वाब संकलन हुन्छ । हामीकहाँ क्षमता कम भयो ।’ 

प्रदेश– १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले १२ दिनदेखि रिपाेर्ट नआएको कुरा आफूलाई जानकारी नभएको बताए । उनले मेची र प्रदेश जनस्वास्थ्यमा रहेको पिसिआर मेसिनको रिएजेन्ट नेपालमा नपाउने भएकाले केही क्षमता घटेको बताए । विदेशबाट रिएजेन्ट मगाइएकाले यो समस्या पनि समाधान हुने उनको भनाइ छ । उनले भने, ‘अहिले लक्षण भएकाको मात्र गर्ने भन्ने छ । १२ दिनदेखि नआएको त नहुनुपर्ने हो ।’