मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनाङबाट दसैँका लागि पोखरामा ल्याउँदै गरिएको च्यांग्रा । तस्बिर : रोहितराज पराजुली
२०७७ कार्तिक २ आइतबार ०९:११:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

खसी-बोका भित्रिन सुरु, एउटै च्यांग्राको मूल्य १० हजार बढ्यो

Read Time : > 3 मिनेट
२०७७ कार्तिक २ आइतबार ०९:११:००

पशु चिकित्सक डा. अवधेश झा भन्छन्–जिउँदो खसी–बोका किन्दै हुनुहुन्छ भने उपभोक्ताले सिङमा हरियो चिह्न भएको रोज्नुहोला । यस्तो खसी स्वास्थ्य भएको प्रमाणित गरिएको हुन्छ ।

                                                                          .......

दसैँको माहोल सुरु भइसक्दा काठमाडौं उपत्यकामा खसी–बोकाको आपूर्ति गर्न सरकारी निकाय र व्यवसायी जुटेका छन् । सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट बिक्री सुरु गर्ने योजनाका साथ दाङ र हेटौँडामा १ हजार खसी–बोका खरिद गरिसकेको छ । त्यस्तै, कलंकी खसीबजारमा  नियमित रूपमा खसी–बोका आयात गरिरहेका व्यवसायीले दसैँका लागि आपूर्ति बढाउन सुरु गरेका छन् ।

कलंकी खसीबजारका व्यवसायी दीपक थापाका अनुसार काठमाडौंमा नियमित मागअनुसार खसी–बोका आयात भइरहेको छ । ‘अब दसैँका लागि माग बढ्न थाल्नेछ । त्यसैले हामीले आपूर्ति परिमाण पनि बढाउने गरी तयारी थालेका छौँ,’ उनले भने । अहिले अहिले दैनिक ५–६ सयको संख्यामा खसी–बोका भित्रिरहेको छ । फूलपातीदेखि दैनिक करिब १० हजारको संख्यामा खसी–बोका भित्रिन सुरु हुनेछ ।

विगतका वर्षहरूमा कलंकी खसीबजारका व्यवसायीसँगै काठमाडौंआसपास जिल्लाका व्यवसायीले समेत काठमाडौंका सडकमा खसी–बोका उतार्ने गरेका थिए । तर, यसपटक कोरोना भाइरसका कारण काठमाडौंमा खसी–बोकाको माग नै कम हुने भएकाले कलंकीमा अन्यले खसी–बोका ल्याउने सम्भावना न्यून रहेको छ । ‘यसपटक माग पनि धेरै कम हुने अनुमान छ,’ थापाले भने, ‘विगतका दसैँमा ५० हजारसम्म खसी–बोकाको माग हुन्थ्यो, तर अहिले यो संख्यामा ३०–४० प्रतिशतसम्म कमी आउने देखिन्छ ।’

अहिले काठमाडौंको बजारमा भारतीय खसी–बोका निर्बाध रूपमा आयात भइरहेको व्यवसायीले बताएका छन् । ‘भारतीय खसी नल्याएको भए अहिले जिउँदो खसीको मूल्य प्रतिकेजी ८ सय रुपैयाँसम्म हुने थियो,’ थापाले भने, ‘भन्सार छलेर प्रशस्त मात्रामा भारतीय खसी–बोका भित्रिएका छन् । त्यसैले मूल्य नियन्त्रणमै छ ।’ कलंकी बजारमा आइतबार जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ८० देखि ६ सय ४० रुपैयाँसम्म पुगेको छ । दसैँको अष्टमी, नवमीसम्म करिब यही मूल्यमा कारोबार हुने व्यवसायीको भनाइ छ ।

खाद्य कम्पनीले १ हजार खसी–बोका बिक्री गर्ने

दसैँमा मासुको मूल्य नियन्त्रण गर्न विगतमा जस्तै यसपटक पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी–बोका बिक्री गर्ने जनाएको छ । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार हेटौँडाबाट ४ सय र दाङबाट ६ सयवटा खसी–बोका खरिद भइसकेका छन् । ‘आइतबार बेलुकासम्म सबै खसी–बोका काठमाडौं आइपुग्छन् । त्यसपछि मूल्य निर्धारण गरेर सोमबारबाट बिक्री सुरु गर्ने योजना छ,’ उनले भनिन् ।

संस्थानले यो वर्ष १६ सय खसी–बोका ल्याउने योजनासहित बजेट विनियोजन गरेको थियो, तर माग कम हुने देखे पनि तत्काललाई १ हजार मात्र ल्याएको सुवेदीले बताइन् । ‘काठमाडौंमा माग बढ्यो भने हामी थप खसी–बोका ल्याउने योजनामा छौँ,’ उनले भनिन् । संस्थानले यो वर्ष च्यांग्रा भने नल्याउने निर्णय गरेको छ ।

यसअघि १ हजारभन्दा बढी च्यांग्रा खरिदका लागि संस्थानले बजेटसमेत विनियोजन गरेको थियो । सूचना अधिकारी सुवेदीका अनुसार प्रति केजी च्यांग्रा ६ सय रुपैयाँ खरिद मूल्य रहने गरी बजेट विनियोजन भएको थियो । तर, किसानको गोठमै मूल्य बढेर ७ सय रुपैयाँसम्ममा पनि खरिद गर्न नसकिने भएपछि च्यांग्रा बिक्री गर्ने निर्णय स्थगित गरेको उनले बताइन् । 

सिङमा हरियो चिह्न लागेका खसी–बोका मात्र खरिद गर्न आग्रह

काठमाडौं महानगरपालिकाले शनिबारबाट उपत्यकाका मुख्य बजारहरू कलंकी, बल्खु, टुकुचा, बालाजु, बिजुलीबजार, खाद्य कम्पनीलगायतलाई लक्षित गरी खसी–बोकाको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । महानगरपालिकामा कार्यरत वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाका अनुसार शनिबार कलंकीस्थित खसीबजारमा भित्रिएका करिब ३ सय ५० खसी–बोकाको स्वास्थ्य परीक्षण भएको छ । त्यसमध्ये २ वटा रोगी रहेको पाएपछि सिङमा रातो रङ लगाएर उपचार गर्न छाडिएको छ ।

‘हामीले अहिले काठमाडौं महानगरपालिकाभित्र आउने जिउँदो खसीको स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘नाकाहरूमा भने संघ र प्रदेशमातहतका निकायले स्वास्थ्य परीक्षणको निगरानी गर्ने भन्ने छ ।’ उनले दसैँका लागि भित्रिने खसी–बोकाको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने भएकाले सिङमा हरियो चिह्न हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेका छन् ।

‘जिउँदो खसी–बोका किन्दै हुनुहुन्छ भने उपभोक्ताले सिङमा हरियो चिह्न भएको रोज्नुहोला । यस्तो खसी स्वास्थ्य भएको प्रमाणित गरिएको हुन्छ,’ उनले भने । व्यवसायीलाई ढुवानी मापदण्ड पालना गरेर खसी–बोका ओसारपसार गर्न, मूल्य अनियन्त्रित नगर्नसमेत निर्देशन दिएको झाले जानकारी दिए ।

हिमाली क्षेत्रका भेडा–च्यांग्रा पोखरामा

मुस्ताङस्थित चिनियाँ नाका बन्द हुँदा यस वर्ष भेडा–च्यांग्राको मूल्य प्रतिगोटा १० हजारसम्म वृद्धि भएको छ । दसैँलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लालगायत स्थानबाट चिनियाँ भेडा–च्यांग्रा पोखरा ल्याइन्छ ।

कोरोनाका कारण चिनियाँ नाका बन्द भएपछि मुस्ताङका भेडा–च्यांग्रापालक कृषकसँगै व्यापारीले मूल्य बढाएका हुन् । ६–७ वर्षदेखि मुस्ताङबाट भेडा–च्यांग्रा ल्याएर बिक्री गर्दै आएका सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले यस वर्ष मुस्ताङमै प्रतिगोटा १० हजार रुपैयाँ बढी तिर्नुपरेको बताए ।

गत वर्ष मुस्ताङमा २० हजारमा खरिद गरेको च्यांग्रालाई यस वर्ष २९ हजार तिर्नुपरेको उनको भनाइ छ । खरिद मूल्यसँगै पोखरासम्म ल्याउन एउटा च्यांग्रालाई करिब दुई हजार खर्च लाग्ने उनको भनाइ छ । दसैँ नजिकिएसँगै मुस्ताङबाट पोखरामा चार हुल गरी करिब १५ सय भेडा–च्यांग्रा आइसकेका छन् ।

व्यापारीले पोखरा महानगरपालिका वडानम्बर १ र २५ मा पर्ने पोखरा–बाग्लुङ राजमार्गको सडक किनारमा भेडा–च्यांग्रा बिक्रीका लागि राखेका छन् । पोखरामा प्रतिगोटा च्यांग्रा करिब ३६ हजारमा बिक्री भइरहेको छ । प्रतिकिलो १६ सयदेखि १८ सयसम्ममा फ्रेस हाउसले च्यांग्राको मासु बिक्री गरिरहेका छन् ।

विगतका वर्षमा पोखरामा करिब ४० हजारको हाराहारीमा भेडा–च्यांग्रा आउने गरे पनि यस वर्ष मुस्किलले १३ देखि १५ हजार आउने अर्का व्यापारी रमेश श्रेष्ठ बताउँछन् । पोखरामा विशेषगरी फूलपातीको दिनमा भेडा–च्यांग्रा बढी बिक्री हुने गर्छ । पोखराको पुरानो टुँडिखेलमा भेडा–च्यांग्राहरू बिक्रीका लागि राखिन्छ । विगतका वर्षमा ठूलो मेला लाग्ने गरे पनि यस वर्ष टुँडिखेलमा औपचारिक कार्यक्रम राखिएको छैन ।

पोखरामा ल्याइएकामध्ये दुईतिहाइ च्यांग्रा स्थानीय स्तरमै बिक्री हुन्छ । बाँकी काठमाडौं, धादिङ, तनहुँ, स्याङ्जा, चितवन, बुटबल, पाल्पालगायत विभिन्न जिल्लामा लाने गरिन्छ । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा–च्यांग्रा खोज्ने गर्छन् । व्यवसायीहरूले बताएअनुसार मुस्ताङबाट पोखरासम्म भेडा–च्यांग्रा ल्याउन करिब दुई साता लाग्ने गर्छ ।