१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २ आइतबार
  • Wednesday, 02 July, 2025
२o७७ कार्तिक २ आइतबार o७:२१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयोजना बन्यो, तर प्रसारण लाइन बनेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक २ आइतबार o७:२१:oo

उत्पादित विद्युत् खेर जाने चिन्तामा बिद्युत् उत्पादक कम्पनी

प्रसारण लाइन नबन्दा दोर्दी करिडोरमा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनाहरू समस्यामा परेका छन् । आयोजनाको काम सम्पन्न भए पनि विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ भएकाले जलविद्युत् आयोजनाहरू अन्योलमा परेका हुन् । ढोडेनीको कीर्तिपुरदेखि उदीपुर सबस्टेसनसम्मको १० किलोमिटर ट्रान्समिसन लाइन समयमै सम्पन्न नहुँदा निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई उत्पादित विद्युत् खेर जाने चिन्ताले सताउन थालेको छ । 

दोर्दी करिडोरमा निर्माण भइरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण ९९ प्रतिशत सकिएको छ । तर, आयोजना ट्रान्समिसन लाइनको पर्खाइमा छ । गत चैतभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले अबको एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने आयोजनाले जनाएको छ । तर, यसअघिको विद्युत् उत्पादनका लागि सरकारसँग सम्झौता गरिएको मिति लकडाउनकै कारण प्रभावित भएपछि अर्को मिति तय नभएको आयोजनाका सञ्चालक रामबहादुर पाण्डेले बताए । ‘निर्धारित समयमा काम नसके त्यसको थप भार पर्छ,’ सञ्चालक पाण्डे भन्छन्, ‘समयमै विद्युत् उत्पादन गरे पनि राष्ट्रिय प्रसारणमा जोड्ने ठाउँ छैन ।’ 

ट्रान्समिसन लाइन समयमै नबन्दा जलविद्युत् आयोजनाहरू काम सकाएपछि उत्पादित विद्युत् खेर जाने चिन्ता बढेको उनी बताउँछन् । सरकारबाट उत्पादन मिति तय नभएको र प्राधिकरणले गरेको राष्ट्रिय प्रसारण लाइनको काम पनि लकडाउनका कारण प्रभावित हुँदा थप अन्योल भएको पाण्डे बताउँछन् । २०७१ असोजबाट निर्माण थालिएको आयोजना २०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर, विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण पनि निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ । रन अफ रिभर प्रविधिमा बनेको सो आयोजनाको लागत ४ अर्ब ६३ करोडभन्दा बढी छ । 

दोर्दी गाउँपालिका–६, साबिक ढोडेनीको कीर्तिपुरदेखि बेँसीसहर–१ उदीपुरसम्म १० किलोमिटर १ सय ३२ केभी ट्रान्समिसन लाइन निर्माणको काम अन्तिम चरणमा पुगे पनि कोरोनाका कारण निर्माणमा ढिलाइ भएको राष्ट्रिय प्रसारण लाइन आयोजना प्रमुख रमेश पौडेलले बताए । उनले भने, ‘ट्रान्समिसन लाइन निर्माणका लागि १८ महिनामा सक्ने गरी ०७५ फागुनमा सम्झौता भएको थियो । ६० करोड रुपैयाँ लागत अनुमान गरिएको प्रसारण लाइन गत आर्थिक वर्षभित्र पूरा गर्ने प्राधिकरणको लक्ष्य रहेको थियो ।’ प्रसारण लाइन निर्माण तथा सबस्टेसनका लागि जग्गा अधिग्रहणको काम सकेर टावर फाउन्डेसन निर्माण सुरु भइसकेको पौडेलले बताए । १० किलोमिटर ट्रान्समिसन लाइनमा ३३ वटा टावरमध्ये ८ वटाकोे फाउन्डेसन तयार पार्न बाँकी छ । 

पौडेलका अनुसार आयोजनाको कुल ७५ प्रतिशत काम सम्पन्न भएको छ । ट्रान्समिसन लाइन तयार भएपछि दोर्दी करिडोरमा निर्माणाधीन २ सय मेगावाटका आयोजनाको विद्युत् प्रसारण लाइन २ सय २० केभी मस्र्याङ्दी करिडोरमा जोडिनेछ । दोर्दी करिडोरमा अहिले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ५४ मेगावाटको सुपर दोर्दी ख, २७ मेगावाटको दोर्दी खोला, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माणाधीन छन् । यीमध्ये माथिल्लो दोर्दी ‘ए’ र दोर्दी खोला आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।