Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ असोज २८ बुधबार १४:५४:००
Read Time : > 2 मिनेट
फिचर

अमेरिकी राष्ट्रपति निर्वाचन : कसरी छानिन्छन् विश्वकै शक्तिशाली व्यक्ति

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ असोज २८ बुधबार १४:५४:००

विश्वकै शक्तिशाली देश अमेरिकाको नयाँ राष्ट्रपति चयनका लागि ३ नोभेम्बरमा निर्वाचन हुँदै छ । कोरोना महामारीबीच विश्वभर छरिएर रहेका अमेरिकी नागरिकले राष्ट्रपति चयनका लागि मतदान गर्नेछन् । यसपटक रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट जो बाइडेन प्रतिस्पर्धामा छन् । अमेरिकी सत्ता परिवर्तनको प्रभाव अमेरिका मात्रै होइन, विश्वभर पर्छ । कसको साथ कुन तरिकाले बिजनेस गर्ने, कुन देशसँग रक्षा–सम्बन्ध कस्तो बनाउने, कुन देशको कुन मुद्दामा समर्थन वा बहिष्कार गर्ने भन्ने मामला पनि नेतृत्व परिवर्तनसँगै परिवर्तन हुँदै आएको छ । 

अमेरिकी राजनीतिक व्यवस्थामा दुई दलको हालिमुहाली रहँदै आएको छ । यसकारण यिनै दुई दल रिपब्लिकन र डेमोक्रेटिकबाट नै राष्ट्रपति चयन हुँदै आएका छन् । यसपटक रिपब्लिकनका उम्मेदवार एवं राष्ट्रपति डोनाल्ड ट्रम्प एकपटक पुनः राष्ट्रपति दोहो¥याउने धुनमा छन् भने डेमोक्रेटिकका उम्मेदवार जो बाइडेन ट्रम्पलाई रोक्ने ध्याउन्नमा छन् । बाइडेनलाई अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पनि साथ दिइरहेका छन् । राष्ट्रपतिका दुवै उम्मेदवार ७० वर्षभन्दा माथिका छन् । ट्रम्प ७४ वर्षका भए भने उनका प्रतिद्वन्द्वी बाइडेन ७८ वर्षका हुन् । यदि बाइडेन निर्वाचित भए भने अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन् । 

जित हासिल गर्न कति मत चाहिन्छ ? 
राष्ट्रपति बन्नका लागि इलेक्टोरल भोट जित्न जरुरी हुन्छ । हरेक राज्यमा त्यहाँको जनसंख्याको आधारमा इलेक्टोरल भोट निर्धारण गरिएको हुन्छ । देशभर कुल पाँच सय ३८ इलेक्टोरल भोट हुन्छ त्यसमध्ये जित्ने उम्मेदवारले दुई सय ७० वा यसभन्दा बढी भोट ल्याउनैपर्ने हुन्छ । यसको मतलब यो हो कि राज्यस्तरका मतदाताले नै कुन उम्मेदवारलाई जिताउने भन्ने निर्धारण गर्छन् । राष्ट्रिय स्तरमा कसलाई कति मत आयो यसको खासै फरक पर्दैन । सन् २०१६ को निर्वाचनमा राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनले राष्ट्रिय स्तरमा धेरै नै मत पाएकी थिइन् । तर, राज्य स्तरमा कम मत आएका कारण उनलाई डोनाल्ड ट्रम्पले पराजित गरेका थिए । तर, दुई राज्यमा एक विजेता–सबै नियमको व्यवस्था छ । यी दुई राज्यमा जसले जित्छ सबै इलेक्टोरल मत हासिल गर्छ । यस्ता राज्यलाई ब्याटलग्राउन्ड अर्थात् रणभूमि राज्य भनिन्छ । 

कसले मतदान गर्न पाउँछन् ? 
१८ वर्ष उमेर पुगेका हरेक नागरिकले मतदान गर्न सक्छन् । तर, कतिपय राज्यमा यस्तो कानुन पनि छ कि मतदान गर्न निश्चित कागजात देखाउनुपर्छ । यो कानुन रिपब्लिकन पार्टीले ल्याएको हो । यस वर्ष कोरोना महामारीका कारण मतदाताले मतपेटिकाको सट्टा हुलाक मतपत्रमार्फत मत दिनेछन् । तर, कतिपय राजनेताले अझै पनि कागजी मतपत्र नै प्रयोग गर्नुपर्ने सल्लाह दिइरहेका छन् ।

राष्ट्रपतिको मात्रै हुँदै छैन निर्वाचन 
अमेरिकी राष्ट्रपति निर्वाचन भनेर चर्चा गरिए पनि यही चुनावबाट अमेरिकी कंग्रेसको नयाँ सदस्य पनि चयन हुनेछन् । अहिले अमेरिकी कंग्रेसमा डेमोक्रेटिक पार्टीको बहुमत छ भने सिनेटमा रिपब्लिकनको बाहुल्य छ । तर, यसपटक सिनेटमा पनि कब्जा जमाउने डेमोक्रेटको लक्ष्य छ । यदि दुवै सदनमा डेमोक्रेटिक पार्टीको वर्चश्व भए डोनाल्ड ट्रम्पको हरेक प्रस्ताव रोक्न सक्छन् । कंग्रेसको चार सय ३५ सिटमा चुनाव हुँदै छ भने सिनेटको ३३ सिटका लागि निर्वाचन हुँदै छ । 

नतिजा कहिले ?
भोट गन्नका लागि निकै समय लाग्छ । तर, करिब २४ घन्टामै को राष्ट्रपति हुँदै छ भन्ने एकप्रकारको तस्बिर आउँछ । सन् २०१६ को निर्वाचनमा निर्वाचन सकिएको भोलिपल्टै डोनाल्ड ट्रम्प आफ्ना समर्थकहरूसँग खुसी मनाउन निस्किएका थिए । सो क्रममा उनले निर्वाचन जितेको भाषण पनि दिएका थिए । तर, यसपटक केही थप समय लाग्ने अधिकारीहरूले बताएका छन् । 

यदि डेमोक्रेटिकका उम्मेदवार जो बाइडेनले निर्वाचन जितेमा तुरुन्त राष्ट्रपतिको पद सम्हाल्न पाउने छैनन् । नयाँ राष्ट्रपतिलाई मन्त्रिपरिषद्को सदस्य चयन र योजना निर्माणका लागि केही समय दिइनेछ । विशेषगरी २० जनवरीमा नयाँ राष्ट्रपतिले पद सम्हाल्नेछन् । यो अवसर वासिंटन डिसीस्थित क्यापिटल हिल बिल्डिङको सिडीमा हुनेछ । जसलाई अमेरिकाको संसद् पनि भनिन्छ । यसपछि नयाँ राष्ट्रपति ह्वाइटहाउसतर्फ जानेछन् र आगामी चार वर्षका लागि अमेरिकाले नयाँ राष्ट्रपति पाउनेछ ।