१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

इस्मा गाउँपालिकामा बढे शृंखलाबद्ध हत्याका घटना, छोराले गरे बाबुको हत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:५१:oo

गुल्मीकाे इस्मा गाउँपालिका– १ हस्तिचौरका २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या भएको महिना दिन पुगेको छैन । 

आइतबार राति इस्मा गाउँपालिका– ४ दोहली बाँझमा अर्को त्यस्तै दर्दनाक घटना भएको छ । त्यो पनि छोराद्वारा बाबुको हत्या । 

स्थानीय २५ वर्षीय अनिल बस्नेतले ६० वर्षका बुबा दिलबहादुर बस्नेतको हत्या गरेका छन् । 

अनिलले आइतबार राति बुबालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । अचेत अवस्थाका दिलबहादुरलाई राति नै एम्बुलेन्समा बुटवल पठाए पनि बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी केदारराज पन्तले जानकारी दिए । 

हत्या आरोपित छोरा बिहानदेखि फरार छन् । उनको खोजी भइरहेको उनले बताए । घटनास्थल पुगेका वडाध्यक्ष गनुप्रसाद अधिकारीका अनुसार घटनास्थल र घरभित्रको रगताम्य अवस्थाले हत्याकै आशंका गरिएको छ । 

फरार व्यक्तिको स्थानीय प्रतीक्षालयमा नागरिकतासहितको झोला फेला परेको अधिकारीले बताए । 

घटना २
इस्मा गाउँपालिका– १ का मोतीबहादुर कुँवरको हत्या भएको २१ असोजमा एक महिना पुग्छ । 

उनको गत भदौ २१ मा हत्या भएको थियो । प्रहरीले अहिलेसम्म अपराधमा संलग्न पत्ता लगाउन सकेको छैन । 

हत्या किन र कसले गरेको भन्ने विषय अन्याेल भएका कारण स्थानीयमा त्रास बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी पन्त भने अनुसन्धानको काम अझै बाँकी रहेको दाबी गर्छन् । 

उनले अहिले शंकास्पद व्यक्तिहरूको हातको औँठाछाप परीक्षणको रिपाेर्ट आएपछि अवस्था हेरेर पोलिग्राफ गरिने बताए । 

घटना ३
गत २७ चैत्तमा इस्मा गाउँपालिका– २ पालुखाका ४६ वर्षीय टेकबहादुर कुमाललाई छोरा २९ वर्षीय अर्जुन कुमालले हत्या गरे । घरायसी विवादका कारण बुबाको उनले हत्या गरेका थिए । 

कुमाललाई जिल्ला अदालत गुल्मीबाट १० वर्षको जेल सजाय तोकिएको छ । अहिले उनी जिल्ला कारागार गुल्मीमा छन् । 

घटना ४
इस्मा गाउँपालिका– ३ दर्लामचौर तल्लो सिम्पानीकी ७६ वर्षीया कौशिला विकलाई गहनाको लोभमा दुई बुहारी मिलेर हत्या गरे । 

घटना लुकाउन गोरुले हानेको भनेर गाउँ गुहारे । रहस्य खुल्दै गएपछि २८ वर्षीया लक्ष्मी विक र २३ वर्षीया देवी विक पक्राउ परे । 

अहिले दुवैजना जेल चलान भएका छन् । 

यस्ता घटना न्यून गर्न कसले सोच्ने ?
जिल्लामा १२ स्थानीय तहमध्ये इस्मा गाउँपालिकामा अपराधका घटना बढी देखिएका छन् । 

एक वर्षको अवधिमा मात्रै चारवटा हत्याका घटना इस्मामै भएका छन् । त्योबाहेक घरेलु हिंसाका घटना पनि इस्मामा धेरै हुने गरेका छन् । 

गत वर्षसम्म बलात्कारका मुद्दा पनि अत्यधिक थिए । आत्महत्या पनि जिल्लाका अन्य स्थानको तुलनामा इस्मामा धेरै छन् । 

सबै घटनाको प्रमुख कारण घरेलु मदिरा भएकाले आफूहरूले पूर्ण नियन्त्रणको कोसिस गरिरहेको भए पनि सबैबाट साथ नपाएको इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले जानकारी दिइन् । 

उनले अपराधको घटनाक्रमले प्रहरी प्रशासन र स्थानीय तहबीच न्यूनीकरणको योजना बनाउनु आवश्यक रहेको बताइन् ।

ad
ad