मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १४ बुधबार ०८:१५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा. पौडेल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १४ बुधबार ०८:१५:००

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् ।  मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । 

दरखास्ता आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा सुरेशराज शर्मा नेतृत्वको तीनसदस्यीय छनोट समितिले आवेदकहरूको आवश्यक मापदण्डका आधारमा डा. पौडेललाई छनोट गरेको थियो ।

१९ जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सह प्रा.डा. पौडेललाई रजिष्ट्रार नियुक्तिका लागि मप विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गरेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए । ‘यसरी खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयहरूको इतिहासमा पहिलो घटना हो,’ उनले भने, ‘जुन काम यतिवेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्पन्न गरेको छ ।’

उपकुलपति प्रडा. सिंहले यसअघि राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति गरिने प्रणाली पूर्ण रूपले तोडिएको जिकिर गरे ।  यसैगरी विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकाय गरी रिक्त चारवटा डिन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ । आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई डिनमा नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ । रासस