कोरोना महामारी नआएको भए सञ्जीव राई सायद होटेलको भान्सामै परिकार पकाइरहेका हुन्थे । सेतो ह्याट र एप्रोनमा सजिएर ग्राहकको इच्छाअनुसारका मेनु तयार गरिरहेका हुन्थे । तर, कोरोना महामारीले उनको जीवनमा नहुनुपर्ने भइदियो ।
सञ्जीव अहिले खुलामञ्चमा छन् । कोभिड-१९ महामारीअघि सयौँ मानिसलाई खाना पकाएर खुवाउने उनी अहिले आफैँ मागेर पेट भर्दै छन् ।
बसपार्कसमेत बनाइएको खुलामञ्चमा अपराह्न ३ बजे गाडी चढ्ने र ओर्लिनेहरूको भिडसँगै खाना खान आउनेहरूको पनि ठूलै भिड छ । त्यो भिडबाट कसैले अचानक सम्बोधन गर्यो, ‘सर मलाई चिन्नुभयो ?’ स्टकोट र ढाकाटोपी पहिरिएको, मुखमा मास्क, नाडीमा घडी र पिठ्युँमा झोला भिरेको मान्छेले दुई हात जोडेर नमस्कार गरे । नमस्कार गर्दै आफूलाई चिनाउन आउने व्यक्ति उनै सञ्जीव थिए ।
काभ्रे पाँचखालका सञ्जीवलाई हामीले १८ भदौमा पहिलोपटक खुलामञ्चमै खानाको लाइनमा बसेको समयमा भेटेका थियौँ । ‘अब एक-दुई दिनमा लकडाउन खुलेपछि सबै ठीक हुन्छ,’ उनले त्यो दिन आशा व्यक्त गरेका थिए । तर, एक-दुई दिनमा सडकमा होइन, आफ्नै कोठामा खाना खान पाउने आस गरेका सञ्जीव आजका दिनमा पनि खुलामञ्चमै भेटिए । दोस्रोपटक हामीलाई भेट्नेबित्तिकै उनले दुई हात जोड्दै आग्रह गर्न थाले, ‘सर काम खोज्दिनुपर्यो ।’
चैतमा लकडाउन सुरु हुनुअघि उनी बौद्धको थकाली रेस्टुराँमा कुक थिए । लकडाउनसँगै उनको काम खोसियो । बेरोजगार बनेका सञ्जीवले चैतमा पाएको अलिकति तलबले कोठाभाडा तिरे । आम्दानी रोकिएपछि कोठाभाडा तिर्न सकेनन् । लकडाउनकै बेला उनी घर गए । १ असारमा लकडाउन खुलेपछि काम पाइने आसले फेरि काठमाडौं फर्किए । तर, काम नपाएपछि सञ्जीव पेट पाल्न उल्टै सडकमा आउनुपर्यो ।
१८ भदौमा नयाँ पत्रिकासँग उनले भनेका थिए, ‘कोठामा ग्यास सकिएको छ । यतै खुलामञ्चमा खाना खान्छु अनि कोठामा गएर सुत्छु । तीन महिनाको कोठाभाडा तिरेको छैन, घरभेटीले भाडा तिर, नभए कोठा खाली गर भनेका छन् ।’
तर, शुक्रबार हामीले भेट्दा वसन्तपुरस्थित उनको त्यो कोठा खोसिइसकेछ । चार महिनादेखि भाडा तिर्न नसकेका सञ्जीवको सबै सामान जफत गरेर घरबेटीले उनलाई कोठाबाहिर निकालिदिएका छन् । मनमा यो पीडा छचल्किएपछि उनी भक्कानिन थाले ।
खुलामञ्चको कोलाहलमा उनको क्रन्दन कतै बिलायो । आँसु पुछ्दै उनले भने, ‘मैले घरबेटीलाई भनेको छु, दुई महिनाजति पर्खिनु, यो सामान कसैलाई नदिनु, म जसरी पनि तिर्छु ।’ सञ्जीव अहिले नयाँ सडकको पीपलबोटमा रात बिताउँछन्, दिनभर खुलामञ्च, रत्नपार्कवरिपरि टोलाउँछन् ।
३० वर्षभन्दा बढी समय कुकको काम गरेका सञ्जीवले जीवनमा मागेरै खानुपर्ला भन्ने कहिल्यै सोचेका थिएनन् । आँसुका बलिन्द्र धारा बगाइरहेका सञ्जीव आफ्नै हालत देखेर आफैँलाई सम्हाल्न सकिरहेका छैनन् । खुलामञ्चमा मनकारीहरूले बाँडेको खाना पनि रुँदै खाइरहेका सञ्जीव आफैँसँग प्रश्न गर्छन्, ‘के भयो जीवनमा ? यही हातले कतिलाई खाना पकाएर खुवाएको हुँ । आज मेरो हालत यस्तो भयो । गरिखाऊँ कि मरिजाऊँ भयो ।’
जागिर खोसिएपछि उनले नयाँ जागिर पनि खोजी गरे । ‘होटेल, रेस्टुराँ सबै ठाउँ पुगेको हुँ । जागिर छैन भन्छन्,’ सञ्जीवले भने ।
काठमाडौंमा उनको सहारा थिइन् दिदी । तर, २७ साउनमा हृदयघातका कारण उनको निधन भयो । उनी सडकमा एक्लै पर्दा दिदीलाई सम्झिन्छन्, र सम्झिन्छन् दिदीले दिएको कालो कोट र पाइन्ट, जुन घरबेटीले जफत गरेका छन् । कोठाबाट त्यो कालो कोट र पाइन्ट मात्रै निकाल्न पाए पनि हुन्थ्यो जस्तो लागेको छ, उनलाई ।
‘मलाई केही पनि चाहिएन, मेरो दिदीले बर्थ डे गिफ्ट दिनुभएको कालो कोट, पाइन्ट निकाल्न पाएँ भने मलाई कोठा पनि चाहिँदैन ।’ दिदीले दिएको कोट, पाइन्ट लगाएर मोबाइलमा खिचेको तस्बिर देखाए, सञ्जीवले ।
आँखाका डिलबाट पोखिन लागेको आँसु रोक्न उनले टाउको उठाएर आकाशतर्फ हेरे । यति गर्दा पनि केही थोपा आँसु मास्क छिचोल्दै गालातिर झरे ।
पाँचखालमा उनका तीन छोरा छन् । गाउँमा पनि आर्थिक अवस्था निको छैन । उनी भन्छन्, ‘घर गएर पनि के गर्नु, उता उस्तै हालत छ । झन् साह्रो छ ।’ काठमाडौंमा खाना नपाएर गाउँ आएको भन्ने थाहा पाएपछि समाजले खिल्ली उडाउने डरले पनि उनी गाउँ जान चाहँदैनन् । ‘गाउँमा, घरमा कसैलाई भन्यो भने आफ्नै खिल्ली उड्छ,’ सञ्जीवले बाध्यता सुनाए ।
खाना खान नपाएर सडकको वास भएको समयमा पुलिस या कसैले ‘ए जँड्याहा’ भनेको सुन्दा सञ्जीवको मुटुमै बिझाउँछ । ‘लामो समय सडकको वास हुँदा आँखा सुन्निँदो रहेछ । जिउ गल्दो रहेछ । अनुहार पनि सुन्निँदो रहेछ । अनि मान्छेले जँड्याहा भन्छन्,’ उनले भने, ‘एक छाक भात खान नपाएर सडकमा आएको मान्छेलाई यसो भन्दा त अहिल्यै मरौँ कि जस्तो हुन्छ ।
सञ्जीवलाई हेरेर भन्न सकिन्छ, जीवन बाध्यताहरूको फेहरिस्त हो । पीडाको गहिरो सागर हो । ‘यो दिन आउला भन्ने थाहा थिएन सर, यसरी मागेर खानु पर्लाजस्तो लागेको थिएन । कुनै समय यहाँ माग्न बसेका मान्छेलाई पनि एक-दुई रुपैयाँ दिएको ज्यान यही हो, आज आफैँ भिखारी भएँ सर,’ बोल्दाबोल्दै उनका दुई हात मुख छोप्न पुग्छन् । आँसु पुछ्दा-पुछ्दा स्टकोटको धारमा आँसुका टाटा देखिन थालिसके । तर, आँसु कम हुँदैन । जीवनमा सबै सकिन्छ, आँसु र पीडा भने कहिल्यै सकिँदैन ।
जागिर खाँदा कमाएको पैसाले जोडेको एउटा मोबाइल छ, सञ्जीवसँग । केही सीप नचलेपछि अब त्यही मोबाइल पनि बेच्ने सुरमा छन्, उनी । काम पाइयो भने जसरी पनि कोठा र कोठाको सामान उकास्ने सोच बनाएका सञ्जीव हामीलाई आग्रह गर्छन्, ‘सर, केही काम खोज्दिनुहोस् । काम पाइयो भने त म जसरी पनि कोठा उकास्छु ।’ हामीलाई विश्वास दिलाउन उनले विगतमा होटेलमा खाना पकाएका पुराना तस्बिरसमेत देखाए ।
खुलामञ्चमा खानाको गाडी आइपुग्यो । मान्छेहरू लस्करै खानाको लाइनमा बसे । त्यही लाइनमा गएर मिसिए, ४८ वर्षीय सञ्जीव । खानाको थाली अगाडि पुगेसँगै सञ्जीवका आँखा रसाउन थाले । खाना खान छाडेर उनी रुन थाले । बल्ल-बल्ल भात मुछ्न थाले पनि आँखाबाट आँसु झर्न रोकिएन, भातमा मिसियो । उनी आँसुमै मुछेर भात खान थाल्छन् । शिरको ढाका टोपी फुकालेर उनी आँसु पुस्छन् ।
सञ्जीवको वर्तमान देख्दा मनमा प्रश्न आउँछ- गोपाल योञ्जनले यो दृश्य देखेको भए, ‘मेरो टोपी कैलाशको शिरजस्तो, हिमाली भिरजस्तो, कहिले पनि झुक्न नजान्ने, मेरो टोपी नेपाली वीरजस्तो’ गीत गाउँथे कि गाउँदैनथे होला ?
खुलामञ्चमा उनले खाना खाए । राति भोक लाग्यो भने खान हुन्छ भनेर थोरै प्याकिङ खाना पनि बोके, अनि आफ्नो यात्रामा अगाडि बढे । तर, यात्रा, कोठाको लागि थिएन, कोठा त खोसिइसक्यो । उनलाई रात बिताउन केवल सडक छ । ‘राति १०-११ बजेसम्म घुम्दै गर्दा जहाँ अलिकति सुनसान हुन्छ, त्यहीँ बस्ने हो, प्रायः नयाँसडकआसपास,’ भोकसँग भयानक युद्ध लडिरहेका सञ्जीव यसो भन्दै खुलामञ्चबाट बाहिरिए ।
भिडियो : विनोद विष्ट, दीपेन्द्र ढुंगाना