१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ९ शुक्रबार
  • Sunday, 06 July, 2025
तिवारी यादव वीरगन्ज
२o७७ असोज ९ शुक्रबार १५:o७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

खुले होटेल, आएनन् ग्राहक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ९ शुक्रबार १५:o७:oo

६ महिनादेखि बन्द रहेका होटेल तथा रेस्टुरेन्ट कोरोना सतर्कताका केही मापदण्डसहित असोज १ देखि खुला भए । व्यापार, व्यवसाय खुलेपछि उत्साही बनेका व्यवसायी भने सेवाग्राही नआउँदा चिन्तित बनेका छन् ।

सरकारको निर्देशनबमोजिम स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पालना गरी होटेल खोलिए पनि पाहुना नआएको होटेल तथा पर्यटन व्यवसायीले बताए । 

वीरगन्जमा मात्र साना र ठूला गरी करिब ६० वटा होटेल सञ्चालनमा छन् । जसमा सरकारले निर्णय गरेअनुसार असोज १ देखि आधा मात्र सञ्चालनमा आएका छन् ।

होटेल व्यवसाय सञ्चालनमा आएको एक हप्ताभन्दा बढी हुँदासम्म प्रायः साना तथा ठूला होटेलमा व्यापारमा कुनै उत्साह देखिएको छैन । सञ्चालनमा आएका साना होटेलको न्यूनतम बिजुली बिल,  स्टाफ खर्च गरेर मासिक एक लाखभन्दा बढी खर्च भइरहेको होटेेल कुमु प्लालेसका सञ्चालक कुवेर कार्कीले बताए । 

कार्कीले भने, ‘गएको हप्तादेखि होटेल सञ्चालनमा त आयो, तर ग्राहक एकजना पनि आएनन् । बन्द भएको होटेलको बिजुली र स्टाफको मात्र ६ महिनामा लाखौँ तिर्नुपर्नेछ । होटेल खुलेपनि सभा, गोष्ठी र समारोह बन्द भएकाले आम्दानीका स्रोत नै बन्द छन् ।’ 

लकडाउनअघि मासिक एकदेखि दुई लाख आम्दानी गरिरहेको होटेलको खर्च पनि उठाउन मुस्किल भएको होटेल इन्द्रणीका सञ्चालक विकास क्षेत्रीले बताए । उनले होटेल सञ्चालनमा आएको भए पनि ग्राहक नआउँदा आम्दानी शून्य रहेको बताए । लकडाउन खुकुलो भएसँगै बन्द होटेल खुले पनि कोठा लकडाउनजस्तै बन्द रहेकाले आम्दानी नै नभएको उनको भनाइ छ । 

बाँकी होटेल दसैँसम्म खुल्छन्

कोरोना महामारीको ‘हटस्पट’को रूपमा देखिएको पर्सामा होटेललाई आइसोलेसन बनाएर कोभिड– १९ का संक्रमित राख्न थालिएको थियो । वीरगन्ज र ग्रामीण भेगका गाउँपालिकामा कोरोना महामारी समुदायस्तरमा फैलिँदा कोभिड अस्पताल भरिभराउ भएपछि घरमै अलपत्र परेका संक्रमितलाई सामुदायिक आइसोलेसनको अवधारणामा होटेलमा राखिएको हो । 

होटेलमा क्षमताअनुसार बेडको सेमिआइसोलेसन बनाएर लक्षण भएका वा नभएका जोकोही पनि होटेलमा बसेका थिए । तर, त्यस्ता होटेलमा केही बिरामी अझै रहेकाले सबै  होटेल सञ्चालनमा आउन केही समय लाग्ने होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए । 

‘असाेज १ देखि पर्सामा होटेल व्यवसायी व्यवसाय सञ्चालनका लागि तयारी थिएनन्,’ उनी भन्छन्, ‘तर, सरकारको निर्णय अलि अगाडि नै भएकाले केही समयपछि दसैँको सेरोफेरोमा बाँकी होटेल सञ्चालनमा आउँछन् ।’ उनका अनुसार नियमित होटेल खुला रहे व्यवसायले गति लिन अझै चार–पाँच महिना लाग्छ ।