१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज ८ बिहीबार ०६:१४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकाले लडिरहेको ‘सदाबहार युद्ध’ अन्त्य गर्न

Read Time : > 2 मिनेट
२०७७ असोज ८ बिहीबार ०६:१४:००

देश/विदेश

अन्त्यहीन युद्ध अन्त्यका लागि अमेरिकाले इराक र अफगानिस्तानमा सेनाको उपस्थिति घटाउनेमा भन्दा पनि आफ्नो हित रक्षामा ध्यान दिनुपर्छ

राष्ट्रपति डोनाल्ड ट्रम्प नोभेम्बरको निर्वाचनअघि नै अफगानिस्तान र इराकबाट हजारौँ अमेरिकी सेना स्वदेश फर्काउन खोज्दै छन् । उनी केही इस्लामिक मुलुकमा जारी अमेरिकाको ‘अन्त्यहीन युद्ध’को अन्त्य गर्ने आफ्नो वाचा पूरा गरेको देखाउन खोज्दै छन् । वास्तवमा अब यस्ता द्वन्द्वमा फस्ने सम्भावना न्यून बनाउने सर्वाेत्तम उपाय भनेको केही सेना ती मुलुकमा राखिछाड्ने नै हो । तर, त्यसको उद्देश्य भने प्रस्ट हुनुपर्छ । सत्य के हो भने ट्रम्पले बारम्बार भन्ने गरेको ‘अन्त्यहीन युद्ध’को व्यवहारतः अघिबाटै अन्त्य भइसकेको हो । अफगानिस्तान र इराक दुवै मुलुकमा अमेरिकी सेनाको उपस्थिति अहिले उल्लेख्य छैन । इराक युद्धको उत्कर्षमा अमेरिकी सेनाको संख्या एक लाख ७० हजार पुगेको थियो, जुन अहिले पाँच हजार दुई सयमा सीमित छ । युद्धको समयमा अफगानिस्तानमा अमेरिकी सेनाको संख्या एक लाख थियो, अहिले आठ हजार ६ सय मात्रै बाँकी छन् ।

नाटो र अन्य साझेदार मुलुकका सेनासँग मिलेर ती मुलुकमा बाँकी रहेका सैन्य बलले न्यूनतम लागतमा महत्वपूर्ण मिसन पूरा गरिरहेका छन् । अफगानिस्तानमा उनीहरूले अफगानी सेनालाई सहयोग गर्ने र प्रशिक्षित गर्ने गर्छन् । साथै, प्रतिआतंकवाद मिसन र जासुसी सूचना संकलन गरिदिएर पनि सहयोग पु¥याइरहेका छन् । 

अमेरिकी सेनाको उपस्थितिले काबुललाई तालिवानसँगको पछिल्लो शान्तिवार्तामा महत्वपूर्ण फाइदा पुगेको छ । त्यसैगरी इराकमा अमेरिकी सेनाले स्थानीय सुरक्षाबलसँग मिलेर प्रभावकारी रूपले आइएसको खतरालाई रोकिरहेका छन् । अमेरिकी सेनासँगको साझेदारीले इराकी कमान्डोलाई इराकको राजनीतिमा व्याप्त साम्प्रदायिकताबाट समेत बचाएको छ । इराकी सैन्यबलभित्र इरानको प्रभावको विस्तार सीमित राख्न पनि सहयोग पुगेको छ । अमेरिकी सेनाको उपस्थितिको निरन्तरताले सुधारवादी इराकी प्रधानमन्त्री मुस्तफा अल–कदामीको मनोबल कायम राख्न पनि सहयोग हुनेछ । उनको राजनीतिक आधार उतिसारो मजबुत छैन ।

सानो संख्यामा रहने अमेरिकी सेनाको उपस्थितिले आफ्ना अन्तर्राष्ट्रिय साझेदार र स्थानीय सुरक्षाबलसँग मिलेर अमेरिकी हवाई शक्ति र ड्रोनको उपयोग गर्दै आतंकवादको जोखिमलाई नाटकीय रूपले घटाउन मद्दत गर्नेछ 

अमेरिकी सेनाको आंशिक फिर्तीले यी मिसनलाई पूरै जोखिममा पार्नु हुन्न । पेन्टागनले इराकमा अमेरिकी सेनाको उपस्थिति तीन हजार र अफगानिस्तानमा ४५ सयमा झार्न खोजेको छ । तर, अफगानिस्तानबाट अमेरिकी सेनाको सम्पूर्ण रूपले फिर्ती तालिवानको अन्य आतंकवादी समूहसँगको सम्बन्धविच्छेदमा निर्भर हुने अमेरिकी रक्षामन्त्री माइक पोम्पेओको अभिव्यक्ति भने स्वागतयोग्य छ । रुसी सेनासँगको मुठभेडपछि अमेरिकाले सिरियामा विद्रोही समूहलाई सहयोग गर्न थप एक सय सेना पठाएको छ ।

तर, ट्रम्प यी इस्लामिक मुलुकमा अमेरिकी सेनाको उपस्थिति शून्यमा झार्न चाहन्छन् । जुन गलत लक्ष्य हो । अमेरिकाको ती क्षेत्रमा अझै पनि महत्वपूर्ण हित छ । आतंकवादी आक्रमणलाई निरुत्साहित गर्नु, तेल आपूर्ति सहज बनाइराख्नु एवं इरानलाई उसको आफ्नो सीमा नाघ्न नदिनुजस्ता विषय अमेरिकाकै हितमा पर्छन् । यी चासोको सुरक्षाको योजनाविना अमेरिकी सेना फिर्ता बोलाउने कदमले गलत सन्देश दिनेछ । ती मुलुकमा सानो संख्यामा रहने अमेरिकी सेनाको उपस्थितिले आफ्ना अन्तर्राष्ट्रिय साझेदार र स्थानीय सुरक्षाबलसँग मिलेर अमेरिकी हवाई शक्ति र ड्रोनको उपयोग गर्दै आतंकवादको जोखिमलाई नाटकीय रूपले घटाउन मद्दत गर्नेछ । अमेरिकी सेनाको उपस्थितिलाई निरन्तरता दिइरहँदा अमेरिकी नीति–निर्माता र सैन्य कमान्डर अमेरिकी नागरिकसमक्ष त्यहाँ कति सैन्यबल तैनाथ भइरहेका छन्, उनीहरूले के गर्दै छन् र किन गर्दै छन् भन्नेबारे थप पारदर्शी हुन भने आवश्यक छ । कंग्रेसले इराक, अफगानिस्तान र अन्य स्थानमा व्यापक युद्धको अनुमति खारेज गर्नुपर्छ र त्यसलाई सीमित भूगोल र स्थानमा मात्रै सीमित गरिदिनुपर्छ । भावी राष्ट्रपतिलाई ती सीमित सेना परिचालनको प्रभावकारिताका लागि समेत जिम्मेवार बनाइनुपर्छ । 

अमेरिकाले सेनाको संख्याले समाधान दिन नसक्ने समस्याको हल निकाल्न पेन्टागनलाई अह्राउनेभन्दा पनि कूटनीतिक एवं वित्तीय उपकरण बढी प्रभावकारी रूपले उपयोग गर्न आवश्यक छ । उदाहरणका लागि अफगानिस्तानमा अमेरिकी सेनाको संख्या जति धेरै घटाइन्छ, अफगान सरकार र उसको सेनालाई अमेरिकी सहयोग उति बढी आवश्यक हुनेछ । सबै मोर्चामा इरानको छद्म युद्धको सामना गर्नुभन्दा विस्तृत आणविक सम्झौता (सन् २०१५) जस्ता पहलकदमी र इरानको त्यस क्षेत्रमा अस्थिरता बढाउने गतिविधि रोक्ने सहमतिले युद्धको लागतलाई घटाउन मद्दत गर्छ । यसका लागि पनि अमेरिकाको उपस्थिति आवश्यक छ । यो क्षेत्रको बृहत्तर स्थायित्वले नै भविष्यमा सधैँका लागि युद्ध रोक्न सक्छ । र, यो लक्ष्य भूगोलबाट अमेरिकी सेना फिर्ती भएर भन्दा पनि उपस्थिति भएरै हासिल गर्न सकिन्छ । 

(ब्लुमबर्गको सम्पादकीयबाट)