१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ असोज ७ बुधबार २०:१३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धेरै उडान गर्ने नेपाली, बढी तलब खाने विदेशी पाइलट 

विदेशी पाइलटले पाँच महिनामै बुझे १० करोड ८४ लाख, उडान नै नगरेकालाई पनि लाखौँ तलब  

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ असोज ७ बुधबार २०:१३:००

नेपाल वायुसेवा निगमबाट पछिल्लो पाँच महिनामा १५ विदेशी पाइलटहरूले १० करोड ८४ लाख रुपैयाँ लगेका छन् । सोही अवधिमा २१ नेपाली पाइलटको खर्च भने १ करोड ८४ लाख मात्रै रहेको छ । स्वदेशी र विदेशी पाइलटको खर्चमा अत्यधिक अन्तर हुँदा पनि नेपाली पाइलट उत्पादनमा व्यवस्थापनले जोड दिन सकेको छैन । चैतदेखि साउनसम्म ८ विदेशी पाइलटहरूले एउटा पनि उडान नगरेको तथा २ जनाको क्रमशः ४ र ५ घन्टा मात्रै रहेको निगमले जनाएको छ ।  

निगम व्यवस्थापनले खर्च कटौती गर्न भन्दै गत साउनदेखि १ सय ४५ जना करार कर्मचारी नियुक्ति तथा नवीकरण रोकेको छ । यसबाट वार्षिक २२ लाख ८० हजार जोगिएको छ । तर, उडान नै नगरेका विदेशी पाइलटलाई तलब दिँदा निगमलाई चर्को भार परेको छ । संसारभरका एयरलाइन्सहरूले पाइलट कटौती गरे पनि निगमले भने विदेशी करार पाइलटसमेत राखेको छ । केही महिनाअगाडि करार सकिएका अधिकांश पाइलटको समेत नवीकरण गरिएको छ । निगमको हाल एयरबस ३३० मा १३ जना विदेशी पाइलट रहेका छन् भने एयरबस ३२० मा २ जना विदेशी पाइलट रहेका छन् । 

पाँच महिनामा १५ विदेशी पाइलटले १० करोड ८४ लाख तलब बुझ्दा २१ नेपाली पाइलटले १ करोड ८४ लाख रुपैयाँ बुझेका छन् । समयमै नेपाली पाइलट उत्पादनमा बेवास्ता गर्दा आर्थिक संकट रहेको निगममाथि थप भार  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पटक–पटक निगमको खर्च कटौती गरेर चुस्त बनाउने घोषणा गरे पनि उडान नै नगरेका विदेशी पाइलट हटाउन वा बिदामा राख्न पहल नगर्दा निगमलाई करोडौँको भार परेको छ । पाँच महिनामा सबैभन्दा धेरै एयरबस ३३० का क्याप्टेन जेम्सले १ करोड ७ लाख बुझेका छन् । उनले ६ महिनामा ४५ घन्टा मात्रै उडान गरेका थिए । त्यस्तै, प्रिया पालले पाँच महिनामा ५९ घन्टा उडाएर ९२ लाख बुझेका छन् । उदय कोलाटरले पाँच महिनामा ५ घन्टा उडान गरेर ७६ लाख रुपैयाँ बुझेका छन् । सुधिर टमोर, अतेलिया आल्दिन, रोरी मिरान्डो, इयान डेनिसले उडान नै नगरी ७६ लाखका दरले बुझेका छन् । रोनाल्डो गुचीले पाँच महिनामा ५ घन्टा उडान गरेर ६९ लाख बुझेका छन् । करन्जित चिमाले उडान नै नगरी ६६ लाख बुझेका छन् । जाबेद चौधरीले पनि उडान नै नगरी ६३ लाख बुझेका छन् । सुधीर गौरले उडान नै नगरी ६३ लाख रुपैयाँ बुझेका छन् । त्यस्तै, मोहमद आरिफ र यावल कमालले ६०–६० लाख उडान नै नगरी बुझेका छन् । विदेशी पाइलटहरूलाई ६ महिनामा ७ वटा तालिमका लागि मात्रै एकजनाको १२ लाखभन्दा बढी खर्च निगमले गरेको छ । १५ विदेशी पाइलटका लागि ६ महिनामा निगमले १ करोड ८० लाख खर्च गरेको छ । 

३२० का दुई विदेशी पाइलटहरू नागराज र घानीले १ करोड ३६ लाख बुझेका छन् । जसमा नागराजले ६ महिनामा ९ घन्टा उडान गरेका थिए भने घानीले उडान नै गरेका थिएनन् । तर, ३२० का १९ विदेशी पाइलटले ६ महिनामा १ करोड ५२ लाख रुपैयाँ मात्रै बुझेका छन् । 

पाँच महिनापछि बल्ल ८ पाइलट बिदामा 
निगम व्यवस्थापनले अहिले भने ८ जना विदेशी पाइलटलाई बिदामा राखेको छ । भदौयता एयरबस ३३० मा ६ जना र ३२० मा अझै एकजना राखिएको छ । जबकि ३२० मा नेपाली नै १९ जना क्याप्टेन छन् । ‘बिस्तारै सबै हटाउने नै हो, अहिले ६ जना विदेशी मात्रै बाँकी छन्,’ निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले भने । ३२० का नेपाली क्याप्टेनहरूलाई छिट्टै तालिममा पठाएर ३३० मा अपग्रेड गर्न लागिरहेको घिमिरेले बताए । ‘अहिले तलब पनि घटाएका छौँ, केही समयअगाडि एकजनाको नवीकरणमा ५ हजार डलर तलब रहेकोमा घटाएर ४ हजार बनाएका छौँ, अब कटौती गर्दै जानेछौँ,’ घिमिरेले भने । 

तर, ३२० बाट ६ जना क्याप्टेनले १६ महिनाअगाडि नै तालिमका लागि निवदेन दिएका थिए । अहिले कोरोनाको कारण बताए पनि अप्रेसन विभागले कोरोना आउनुभन्दा ७ महिनाअगाडिदेखि नेपालीले दिएको निवेदनउपर कारबाही गरेको छैन । ३२० का पाइलटलाई एक हप्ताको ८ हजार डलर खर्च गरेर तालिम दिन सकिएमा विदेशी पाइलट नचाहिने निगमका कर्मचारीहरू बताउँछन् ।  

धेरै उडाउने नेपाली, तलब धेरै खाने विदेशी
एयरबस ३३० मा ४ जना मात्रै नेपाली क्याप्टेन छन् । उनीहरूले २०७६ मा ३ हजार ४ सय ९६ घन्टा उडान गरेका थिए । जबकि १४ जना विदेशी क्याप्टेनले ४ हजार ७ सय ५१ घन्टा मात्रै उडान गरेका थिए । नेपाली पाइलटको मासिक उडान अवधि सरदर ७२.८ घन्टा रहँदा २०७६ मा विदेशीको २८.३ घन्टा मात्रै थियो । त्यस्तै, २०७७ को पाँच महिनामा ४ जना नेपाली क्याप्टेनले ६ सय ४४ घन्टा उडान गर्दा विदेशी १३ जनाले २ सय ९० घन्टा उडान गरेका छन् । जसमा नेपालीको मासिक उडान अवधि सरदर ३२.२ घन्टा हँुदा विदेशीको ४.४ घन्टा मात्रै रहेको छ । तर, नेपाली पाइलटले पाँच महिनामा ४० लाख तलब बुझ्दा विदेशीले ९ करोड ४८ लाख बुझेका छन् । यता ३२० मा १९ जना नेपाली पाइलटले पाँच महिनामा १ करोड ३६ लाख रुपैयाँ तलब बुझ्दा २ जना विदेशी पाइलटले १ करोड ३६ लाख रुपैयाँ तलब बुझेका छन् । 

गत वर्ष १ अर्ब ७० करोड घाटामा
आर्थिक वर्ष ०७६÷७७ मा नेपाल वायुसेवा निगम १ अर्ब ७० करोड रुपैयाँ घाटामा गएको छ । निगमले चैतसम्म १२ अर्ब आम्दानी गरेको थियो । लकडाउनयता चार्टर तथा अन्य उडानमा २ अर्ब मात्रै आम्दानी असार मसान्तसम्म गरेको थियो । ‘निगम घाटामा नै छ, कोरोनाका कारण पर्यटक नआउने भएपछि चालू आर्थिक वर्ष पनि राम्रो हुने देखिएको छैन,’ कार्यकारी अध्यक्ष घिमिरेले भने । 

निगमले जहाज खरिद गर्दा लिएको ऋण तथा अन्य व्यवहार थप हुँदै जाँदा ४५ अर्ब रुपैयाँ ऋण निगमको पुगिसकेको छ । सञ्चय कोष तथा नागरिक लगानी कोषको ब्याज र किस्ता तिर्नसमेत निगमले सकेको छैन ।