१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १७:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

सिराहा कारागारमा संक्रमितको संख्या पाँच सय पुग्यो, कैदीबन्दी भन्छन्- काेराेना जित्न पोषिलो खाना चाहियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:o२:oo

जिल्ला सदरमुकाम सिराहास्थित सिराहा कारागारमा रहेका पाँच सय ९७ कैदीबन्दी र दुई आश्रित बालबालिकामध्ये पाँच सयमा कोरोना संक्रमण देखिएको छ । 

कारागार प्रमुख बबिता महतोका अनुसार शनिबारसम्म कारागारमा विभिन्न मुद्दाका कैदीबन्दी र थुनुवामध्ये १७ महिला र चार सय ८१ पुरुषमा संक्रमण देखिएको छ । यस्तै डेढ र दुई वर्षका दुई बालबालिकामा कोरोना संक्रमण देखिएको कारागार प्रमुख महतोले बताइन् । 

संक्रमितमध्ये पुरुषलाई कारागारभित्र छुट्टै ठाउँमा र महिलालाई महिला वार्डमै छुट्टै राखिएको छ । ‘बहुसंख्यक लागूऔषध, कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दाका कैदी र थुनुवा भएकाले सुरक्षाको दृष्टिकोणले कारागारमै राखेका छौँ,’ उनले भनिन्, ‘कारागारको क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएकाले भौतिक दूरी कायम गराउन ठाउँ अभाव छ।’
उनका अनुसार कारागारभित्र दुईवटा भवनमा १५ जनासम्म अट्ने क्वारेन्टिन र ३० शय्याको आइसोलेसन बनाइएको छ । 

थुनुवाबाट फैलियो संक्रमण

कारागार प्रमुख महतोका अनुसार पछिल्लो साउनमा चोरी, ज्यान मार्ने उद्योगअन्तर्गत अदालतको आदेशमा पुर्पक्षका लागि कारागार पठाइएका लहान, धनगढी र भगवानपुरका चारजनाबाट कोरोना संक्रमण फैलिएको हो । उनले भनिन्, ‘अदालतमा उपस्थित गराउँदा पिसिआर जाँच गरिएको भए पनि रिपोर्ट नआइसकेको अवस्थामा चारजना थुनुवालाई कारागार ल्याइयो । २६ साउनमा ल्याइएका थुनुवाबाट ४० दिनको अवधिमा ८४ प्रतिशत कैदीबन्दी संक्रमित भए ।’    

संक्रमितहरूलाई कारागारमै राख्दा समस्या हुने र बाहिरको आइसोलेसनमा पनि असुरक्षा हुने भएकाले जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार कारागारसँगै टाँसिएको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आइसोलेसन बनाउने गरी ग्रिल, झ्याल ढोका मर्मतका काम भइरहेको उनले बताइन् । 

संक्रमित भन्छन्– पोषिलो खाना चाहियो

दैनिक सात सय ग्राम मन्सुली चामल र ६० रुपैयाँ खर्च पाउँदै आएका कैदीबन्दीले कोरोना संक्रमित भएपछि पोषिलो खानेकुाराका लागि थप बजेट दिनुपर्ने माग गरेका छन् । कारागारमा नाइकेको काम गरिरहेका कैदीले आफैँ संक्रमित भएपछि कारागारभित्रै आइसोलेसनमा बसिरहेको, तर सामान्य अवस्थामा जस्तो खानेकुरा दिइरहेको गुनासो गरे । ‘घाँटी दुख्नुका साथै कमजोरी भएको छ,’ नयाँ पत्रिकासँग उनले भने, ‘पोषिलो खानेकुराका लागि सरकारले हेरिदिएन ।’

कारागार प्रमुख महतो पनि संक्रमित कैदीबन्दीले पोषिलो खानेकुराका लागि थप बजेट माग गर्नु स्वाभाविक रहेको बताउँछिन् । ‘संक्रमितहरूका लागि कारगार व्यवस्थापन विभागसँग प्रतिव्यक्ति एक सय रुपैयाँ दैनिक थप रकम माग गरेर पठाएका छौँ,’ उनले भनिन्, ‘त्यति नगरे संक्रमित कैदीबन्दीहरूको स्वास्थ्य अवस्था झन् बिग्रिन सक्छ ।’

आठ संक्रमितसहित नौजना छुट्दै 

संविधान दिवसको अवसरमा आठ संक्रमितसहित नौजना कैदीबन्दी बाँकी कैद छुट भएपछि शनिबार कारागारमुक्त हुँदै छन् । सवारी ज्यान, चोरी, ज्यान मार्ने उद्योग, अंगभंग मुद्दाका असल चालचलन प्रदर्शन गरेका ५० प्रतिशत बाँकी कैद भुक्तान गरिसकेका कैदीहरूलाई कारागार प्रशासन, प्रमुख जिल्ला अधिकारीको सिफारिसमा कारागार व्यवस्थापन विभाग, गृह मन्त्रालय, मन्त्रिपरिषद् महामहिम राष्ट्रपतिले बाँकी कैद मिनाहा गरेपछि नौजना कैदी शनिबारसम्म छुट्ने गरी तयारी भइरहेको प्रमुख महताले बताइन् । 

कारागार प्रमुख महतोका अनुसार कैद मिनाहा पाएर छुट्ने संक्रमितहरूलाई जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको सिफारिसमा आइसोलेसन राख्ने र घरमै आइसोलेसनमा बस्न सक्नेहरूलाई घर जान दिइनेछ । 

ad
ad