Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
२०७७ असोज ३ शनिबार १४:०८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोदाममा भएको प्याज नबेच्नेलाई तीन लाख जरिवाना 

Read Time : > 1 मिनेट
२०७७ असोज ३ शनिबार १४:०८:००

कृत्रिम अभाव देखाएर तरकारी व्यापारमा ठगी गर्ने व्यापारीलाई तीन लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ ।

प्याज आएको छैन भनेर पुरानै प्याजको भाउ बढाएर बेच्ने, गोदाममा भएको प्याज पनि नबेच्ने, बिल नकाटी प्याज बिक्री गर्नेजस्ता काम गरेर बजार व्यवस्थापनमा बाधा सिर्जना गरेपछि व्यापारीलाई नगद जरिवाना तिराउन थालिएको हो। 

यसका लागि काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमन गरेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई कारबाहीका लागि लेखेर पठाउने गरेको छ । यसका आधारमा विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गरेर जरिवाना तिराउने गरेको छ । 

विभागले शुक्रबार तिनकुनेको हरित सामुदायिक कृषि बजारमा होलसेल गर्ने तीनजना व्यापारीलाई तरकारी विषयगत क्षेत्रअन्तर्गत जनही ५५–५५ हजार रुपैयाँ जरिवाना तिराएको छ । यसरी जरिवाना तिर्नेमा उलक सब्जी भण्डार, दुलाल आलु भण्डार र विजेश गौतम छन् । हिजै बिहान भएको अनुगमनका क्रममा व्यापारीले बिल लिने–दिने नगरेको, सामान प्याज लुकाएको, व्यवसाय दर्ता नगरेको, स्टोर प्रमाणित नगराएको, नापतौल अद्यावधिक नगरेकोजस्ता त्रुटि गरेका कारण कारोबार रोक्का राखेर कारबाहीको प्रक्रिया अघि बढाएको थियो । 

यस्तै, कालिमाटीको आर के ट्रेडर्सलाई तीन लाख रुपैयाँ र रञ्जन आलु प्याज भण्डारलाई दुई लाख ५० हजार रुपैयाँ, वडा १४ बल्खुको पशुपति आलु प्याज स्टोरलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।  भदौ २९ गतेको अनुगमनका क्रममा भेटिएको बिल बिजकविना खाद्यान्नको होलसेल गर्ने न्यु सापकोटा स्टोरलाई दुई लाख ५५ हजार रुपैयाँ जरिवाना गरिएको छ । 

वनस्थली चोकबाट सुरु हुने सिद्धिचरण सडकमा सञ्चालक यदुप्रसाद शर्मा बन्द सटरमा भित्रबाट सामान बिक्री गरिरहेको अवस्थामा भेटिएपछि कारबाहीका लागि सिफारिस गरिएको थियो । प्यासेजको ढोकाबाट मानिसहरू चामलका बोराहरू ओसारिरहेका थिए । व्यापारको परिचय खुल्ने कुनै बोर्ड वा परिचयपाटी थिएन । 

पसलमा दर्ता प्रमाणपत्र थिएन । खरिद–बिक्री बिल थिएन । उनको यो विवरणले टिपेर अनुगमन समितिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कारबाहीका लागि पठाएको थियो । यसैका आधारमा विभागले असोज १ गते सञ्चालक शर्मालाई खाद्यान्न–तरकारी विषयगत क्षेत्रअन्तर्गत प्रचलित कानुनको पालना गरेर व्यापार गर्ने गरी जरिवाना तिराएको हो । 

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका– ७ मा सञ्चालन गरेर सहरमा पानी वितरण गर्दै आएको माता सरस्वती खानेपानीको जारमा लेउ भेटिएपछि प्रा. लि. लाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा रहेको अनुगमन समितिमा कृषि विभाग, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता अनुसन्धान मञ्चका प्रतिनिधि सदस्य हुनुहुन्छ । अनुगमन टोलीले नगर प्रहरी र स्थानीय प्रहरीको समन्वयमा खाद्य वस्तु तथा पेय पदार्थ, तरकारी फलफूल, माछामासुसहित दैनिक उपभोग्य वस्तुको नियमित अनुगमन गरिरहेको छ ।