१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७७ असोज ३ शनिबार ०५:०१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोना संक्रमण बढ्दै,  तर परीक्षण घटाउँदै सरकार

Read Time : > 1 मिनेट
२०७७ असोज ३ शनिबार ०५:०१:००

एकैदिन देशभर दुई हजार २० जनामा संक्रमण

कोरोना भाइरस संक्रमणको दर तीव्र रूपमा बढिरहेका वेला सरकारले परीक्षण भने घटाएको छ । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित पुष्टि भएका छन् । तर, सरकारले स्वाब संकलनमा कडाइ गरेसँगै देशभर परीक्षण घटेको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा देशभर ११ हजार चार सय ५८ नमुना परीक्षण गर्दा दुई हजार २० जनामा कोरोना संक्रमण भएको छ । यो गत माघयताकै दैनिक सर्वाधिक संक्रमण हो । योसँग कोरोना संक्रमितको संख्या ६१ हजार पाँच सय ९३ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार निषेधाज्ञाको समयमा सबैभन्दा बढी १३ हजार चार सयसम्म दैनिक परीक्षण गरेको थियो । तर, निषेधाज्ञा खुकुलो पार्दैै लैजाँदा परीक्षण पनि कम हुँदै गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर दैनिक २० हजारसम्म नमुना परीक्षण गर्नसक्ने क्षमता रहेको छ ।

प्रवक्ता डा. गौतमले दुई दिनअघि लक्षण नभएकाहरूको परीक्षण नगर्ने निर्णय भएको सार्वजनिक गरेका थिए । त्यस्तै, मन्त्रालयले अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीको पनि कोरोना जाँच नगर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले मृत्युपछि कोरोना जाँच नगर्ने निर्णय गरेको छ । स्रोतका अनुसार निर्णय कार्यान्वयन गर्न मन्त्रालयले सीधै अस्पतालहरूमा मात्रै परिपत्र गरेको छ । जसले गर्दा स्वाबको नमुना परीक्षण दैनिक घट्दै गएको छ । 

संक्रमण बढे पनि मृत्युको दर भने एक हप्तायता स्थिर रहेको छ । मन्त्रालयका अनुसार शुक्रबार थप सातजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरूमा मोरङ र काठमाडौंका दुई–दुई, भक्तपुर, ललितपुर र नवलपरासीका एक–एकजना रहेका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय ९० पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमितमध्ये ४३ हजार आठ सय २० जना निको भएका छन् । अहिले सक्रिय संक्रमित १७ हजार तीन सय ८३ छन् । उनीहरूमध्ये आठ हजार ८८ जना घरमै र नौ हजार दुई सय ९५ जना संस्थागत आइसोलेसनमा बसेका छन् । शुक्रबार गम्भीर लक्षण भएका बिरामीमध्ये एक सय ७३ जना आइसियू र ३६ जना भेन्टिलेटरमा छन् । 

उपत्यकामा अहिलेसम्मकै उच्च
काठमाडौं उपत्यकामा शुक्रबार आठ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो अहिलेसम्मकै उच्च संख्या हो । उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।